+
+

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही दिन भित्रै प्रशिक्षक नेपाल आउने र प्रशिक्षण सुरु गरिने पनि बताए ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन २३ गते १७:५९

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही दिन भित्रै प्रशिक्षक नेपाल आउने र प्रशिक्षण सुरु गरिने पनि बताए ।

स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।

प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् ।  यस्तै रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् ।

प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भने ।

प्रभाकरले एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेले । सन् १९८४ डिसेम्बरमा मा इंग्ल्याण्ड विरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्ड विरुद्ध अन्तिम टेष्ट खेलेका थिए । यस्तै उनले १९८४ कै अप्रलिमा श्रीलंका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

१९९६ मा श्रीलंका विरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले । बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए । टेष्टमा उनको उच्च स्कोर १२० थियो । उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए ।

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए । उनले एकदिवसीयको उच्च स्कोर १०६ थियो ।

१५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजार भन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन् । उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकप समेत खेलेका थिए । लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङ समेत गरेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?