+
+
आम निर्वाचन २०७९ :

यस्तो हुनेछ चुनावी जोडघटाउ र समीकरणको सम्भावित दृश्य

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ साउन २६ गते २२:५०

२६ साउन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन सय दिनजति बाँकी छँदा दलहरू गठबन्धन बनाउने प्रयासमा दौडधुप गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलहरूलाई स्थानीय चुनावले खुबै फलिफाप भयो । त्यसैले आगामी संघीय चुनावमा पनि उनीहरु गठबन्धन कायमै राखेर जान चाहन्छन् । पाँच दलका शीर्ष नेताहरूले तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल नै बनाएका छन् । गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि तालमेलका लागि तयार देखिएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अरु दलहरुलाई एक्लाएक्लै मैदानमा आउन चेतावनी दिइरहेको छ । यसको खास कारण चाहिँ उसले अहिलेसम्म गठबन्धन बनाउन सफल भइसकेको छैन । एमाले नेताहरूले अझै पनि पाँचदलीय गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग वाम गठबन्धन बनाउने आश मारेका भने छैनन् । नेताहरू निरन्तर संवादमै छन् । यति गर्दा पनि पाँचदलीय गठबन्धन कायमै रहेछ भने एमालेका लागि अर्को विकल्प रहनेछ । त्यस्तो अवस्थामा स्थानीय चुनावमा झैं राप्रपा, राप्रपा नेपाल, मालेलगायत दलहरूसँग मोर्चाबन्दी प्रयास हुने एमाले नेताहरू बताउँछन् ।

स्थानीय निर्वाचन २०७९ बाट पनि दलहरूले तालमेल गरेर चुनाव गर्दा हुने लाभ–हानि राम्ररी बुझेका छन् ।

किनकि उक्त निर्वाचनको मतका आधारमा अहिले पनि नेपाली कांग्रेस र नेकपा एमाले हाराहारीका शक्ति हुन् । तर तेस्रो दल माओवादी केन्द्रसँग तालमेल गरेकै कारण कांग्रेसले ३२७ पालिका प्रमुख जित्न सक्यो भने एमाले २०५ मा खुम्चियो । अबको चुनावमा पनि पहाडमा माओवादी र मधेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग जसले तालमेल गर्छ, उसले बाजी मार्ने सहजै अनुमान गर्न सकिन्छ ।

यसमा स्थानीय निर्वाचन–२०७९ मा वडाध्यक्षले पाएको मतलाई जोडेर कहाँ को बलियो छ, हेर्न सकिन्छ । तर उक्त विधिमा केही सीमितता छन् । किनभने सबै दलले सबै वडामा उम्मेदवारी दिएका थिएनन् । स्थानीय वडाहरूमा पनि गठबन्धन बनेको थियो ।

त्यसैले हामीले स्थानीय निर्वाचन–२०७४ मा दलहरूले वडाध्यक्षमा पाएको मत प्रतिनिधिसभा निर्वाचन–२०७४ मा कति प्रतिविम्बित भयो भनेर हेर्‍यौं । वडाध्यक्षमा दलले पाएको मत प्रतिशत र प्रतिनिधिसभामा पाएको मत प्रतिशतको अन्तरसम्बन्ध (रिग्रेसन) गरेर एउटा अंक (स्लोप) निकाल्यौं, जसको मद्दतमा २०७९ को वडामा पाएको मतका आधारमा २०७९ को प्रतिनिधिसभामा दलले पाउने अनुमानित मत निकाल्यौं । ‘वडाको मत जोडेको भन्दा यसरी निकालिएको अनुमानित मतले वास्तविकतालाई बढी प्रतिबिम्बित गर्ने देखियो’ अध्ययनमा संलग्न ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजका कार्यकारी निर्देशक उत्तमबाबु श्रेष्ठ भन्छन् ।

तस्वीर १ : विना गठबन्धनको संभावित समीकरण

उक्त आधारमा विश्लेषण गर्दा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले सबभन्दा धेरै ७९ सिट र नेकपा एमालेले ६९ ठाउँमा जित्न सक्ने देखिन्छ । माओवादी केन्द्रले ८, जनता समाजवादीले ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टीले १–१ सिट जित्ने देखिन्छ ।

यो सिटको हिसाब गरिरहँदा बिर्सन नहुने तथ्य के छ भने १६५ मध्ये १४३ सिटमा पहिलो र दोस्रो हुने दलबीचमा चर्को प्रतिस्पर्धा हुनेछ । जस्तो, १४३ मध्ये ९३ सिटमा विजयी हुने दल र दोस्रो हुने दलको मतान्तर ५ प्रतिशत भन्दा पनि कम छ । थप ५० सिटमा पनि मतान्तर ५ प्रतिशतभन्दा बढी तर १० प्रतिशतभन्दा कम छ । यस्ता निर्वाचन क्षेत्रहरूमा उम्मेदवारको व्यक्तित्व, उम्मेदवारले चुनावमा गर्ने मिहिनेत र रणनीति जस्ता विषयले पनि हार–जितलाई प्रभाव पार्ने देखिन्छ । अर्थात् दलहरू चुनावमा विना गठबन्धन गए भने अहिले कांग्रेस र एमालेमा कुन दल ठूलो हुन्छ भन्ने अनुमान गर्न कठिन नै छ किनभने कतिपय स्थानमा उनीहरूबीचको अनुमानित मतान्तर ३ प्रतिशत भन्दा पनि कम छ ।

तर गठबन्धन हुँदा उक्त समीकरणमा फेरबदल आउने सहजै अनुमान गर्न सकिन्छ । सुरुमा अहिले सत्ता गठबन्धनमा रहेका पाँच दल एक ठाउँमा रहे र एमालेले एक्लै प्रतिस्पर्धा गर्ने निर्णय लियो भने सम्भावित परिणाम हेरौं ।

तस्वीर २ : सत्तारुढ गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा

मतान्तरमा हुने सम्भाव्य झिनो अन्तरले हाराहारीका दुई दल (कांग्रेस र एमाले) बीच हुने प्रतिस्पर्धामा अरू दलले कता साथ दिन्छ भन्ने महत्वपूर्ण हुन्छ । अहिले सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र तेस्रो, तर निर्णायक दल हो भने मधेशमा जनता समाजवादी पार्टी (जसपा) को बलियो उपस्थिति देखिन्छ । यदि कांग्रेसले अहिले सत्तारुढ गठबन्धनमा रहेका माओवादी र जसपाका साथै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर चुनाव लड्ने हो भने प्रतिस्पर्धा एकतर्फी हुन सक्नेछ ।

१६५ सिट मध्ये १५५ सिटमा पाँचदलीय गठबन्धनले जित्ने देखिन्छ । एमालेले ९ र नेपाल मजदुर किसान पार्टीले एक सिट जित्नेछ । बाँकी दलहरूलाई प्रत्यक्षमा चुनाव जित्न सहज छैन ।

यद्यपि पाँचदलीय गठबन्धनले जित्ने देखिएका १८ सिटमा मतान्तर ५ प्रतिशत भन्दा कम छ भने थप १६ सिटमा ५ देखि १० प्रतिशत छ । यो स्थानहरूमा प्रतिस्पर्धामा रहेका एमाले आउने सम्भावना रहन्छ । तर एमालेले जित्ने देखिएका ६ सिटमा ५ प्रतिशत र थप ३ सिटमा ५ देखि १० प्रतिशतसम्म मतान्तर भएकाले समग्र परिणाममा ठूलो हेरफेर नहुन सक्छ यदि स्थानीय निर्वाचनमा देखिएको रुझानमा नै भोट खस्यो भने । तथापि नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकोले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् ।

जसरी पाँच दलले सिट बाँडफाँटकै लागि गृहकार्य गरे, त्यसरी एमालेले गठबन्धन त बनाएको छैन तर स्थानीय चुनावमा झैं राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गर्ने सम्भावना कायमै छ । पाँचदलीय गठबन्धन कायम रहने र एमालेले राप्रपा र राप्रपा नेपालको तालमेल गरेको अवस्थामा प्रतिनिधिसभा निर्वाचनको सम्भावित परिणाम कस्तो होला त ?

तस्वीर ३ : कांग्रेस नेतृत्वको सत्तारुढ र एमाले नेतृत्वको राप्रपा गठबन्धन 

दुई मुख्य पार्टीहरूबीच त्यस्तो गठबन्धन भएमा त्यसको केही लाभ एमालेलाई मिल्नेछ । किनकि पाँचदलीय गठबन्धनसँगै एक्लै लड्दा ९ सिटमा खुम्चिन सक्ने देखिएको एमालेले राप्रपा र राप्रपा नेपालसँग गठबन्धन गर्दा उनीहरूको गठबन्धनले जित्ने सिट संख्या बढेर १७ पुग्नेछ ।

त्यस्तो अवस्थामा पाँचदलीय गठबन्धनको पक्षमा १४७ सिट हुने देखिन्छ । तर ५ प्रतिशतभन्दा कम मतान्तर भएका ३१ (पाँचदलीय गठबन्धनको २१ र एमाले गठबन्धनको १०) र ५ देखि १० प्रतिशत मतान्तर भएका १८ (पाँचदलीय गठबन्धनको १६ र एमाले गठबन्धनको २) गरी कुल ४९ सिट छन् । त्यसैले दलहरूले चुनावी अभियानमा खरो उत्रेर काम गर्न सके त्यस्ता कम मतान्तर हुनसक्ने ठाउँको सिट आफ्नो पोल्टामा पार्ने संभावना छ ।

तस्वीर ४ : लोसपाले गठबन्धनमा पार्ने प्रभाव

जसरी राप्रपा र राप्रपा नेपालले एमालेसँग गठबन्धन गर्ने सम्भावना छ, त्यसरी नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले पाँचदलीय गठबन्धनमा सहभागी हुन लबिइङ गरिरहेका छन् । तर सत्तारुढ गठबन्धनसँग लोसपा जोडिंदा हुने नयाँ गठबन्धनले उक्त गठबन्धनको सिटमा खासै तल–माथि नहुने देखिएको छ ।

तर लोसपा आफ्नो गठबन्धनमा आउँदा सिट नाफा नहुने देखेर सत्तारुढ गठबन्धनले लोसपालाई बिच्क्याउने र लोसपा एमालेको गठबन्धनमा सामेल हुने हो भने त्यसले सत्तारुढ गठबन्धनलाई घाटा बनाउने छ ।

लोसपा, एमालेले बनाउने गठबन्धनमा सहभागी हुने हो भने त्यस्तो अवस्थामा ३ सिटको नतिजा उल्टिने देखिन्छ । पाँचदलीय गठबन्धनको सिट घटेर १४४ मा आइपुग्नेछ भने एमाले गठबन्धनको सिट १७ बाट बढेर २० मा पुग्नेछ । मतान्तर कम भएको सिटको संख्या पनि केही बढ्नेछ । जसले कम मतान्तर भएका ठाउँको नतिजामा समेत थप फेरबदल ल्याउन सक्छ ।

तस्वीर ५ : सत्तारुढ गठबन्धन टुक्रने र तीनथरी गठबन्धन हुने

सत्तारुढ गठबन्धनका नेताहरूलाई तालमेल गर्ने सहमति गर्न जति सजिलो छ, सिट बाँडफाँट गर्न त्यतिकै कठिन पर्छ । सिट बाँडफाँटमा सहमति नहुने हो र माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तेस्रो मोर्चा बनाउने हो भने चाहिं चुनावी प्रतिस्पर्धा थप रोचक हुनेछ ।

कांग्रेसले लोसपासँग, एमालेले राप्रपा र राप्रपा नेपालसँग अनि माओवादी केन्द्रले एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग मिलेर बनाउने तीन गठबन्धनको चुनाव भएको खण्डमा प्रतिनिधिसभाको नतिजा त्रि–धु्रवीय बन्ने देखिन्छ ।

सत्तारुढ गठबन्धन टुक्रिएको अवस्थामा त्यसको प्रत्यक्ष लाभ एमालेले उठाउने छ । एमाले नेतृत्वको गठबन्धनले सबभन्दा धेरै ८९ सिट जित्ने देखिन्छ भने कांग्रेस–लोसपा गठबन्धनले ४४ र माओवादी नेतृत्वको गठबन्धनले ३० सिट जित्ने संभावना छ । नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले एक सिट जित्ने देखिन्छ । तर त्यस्तो त्रिपक्षीय भिडन्तमा कुल १६५ सिटमध्ये १२४ सिटमा मतान्तर १० प्रतिशतभन्दा कम हुने भएकाले चुनावी नतिजामा विभिन्न फ्याक्टर (अन्तरपार्टी अन्तर्घात, उम्मेदवारको छनोट इत्यादि) ले नतिजा उलटफेर हुने सम्भावना पनि उत्तिकै छ ।

अहिलेसम्म एमाले बाहेकको वाम गठबन्धनको सम्भावना कम देखिन्छ । तर सत्ता गठबन्धनमा खटपट आएर फेरि एमाले बाहेकको अहिले सत्तामा भएका वाम गठबन्धन नबन्ला भन्न सकिन्न । माओवादी केन्द्रका नेताहरूले अहिले पनि यो सम्भावनालाई नकार्ने गरेका छैनन् । यत्ति हो, उनीहरूको प्राथमिकता पाँचदलीय गठबन्धनमै छ ।

तस्वीर ६ : वाम गठबन्धन, मधेश गठबन्धन र एकल कांग्रेस 

यदि २०७४ मा झैं एमाले, माओवादी र एकीकृत समाजवादीले वाम र जसपा तथा लोसपाले मधेशी गठबन्धन बनाउने हो भने प्रतिनिधिसभा निर्वाचन कांग्रेसलाई महँगो पर्ने देखिएको छ । पहाडमा वाम गठबन्धनले ताकत देखाउँदा विगतमा कांग्रेसको बलियो आधार मानिएको मधेसमा क्षेत्रीय दलहरु हाबी बन्न सक्नेछन् । यस्तो अवस्थामा कांग्रेसलाई आफ्नो आधार खोज्नुपर्ने चिन्ता थपिनेछ ।

यस्तो गठबन्धन बन्न हालकै अवस्थामा केही कठिन छ । तर बनिहाल्यो भने एमालेसहितको वाम गठबन्धनले १५० सिट जित्न सक्ने देखिन्छ भने मधेशी गठबन्धनले ९ सिट जित्दा कांग्रेस मात्र ५ सिटमा खुम्चने देखिन्छ । र त्यस्तो अवस्थामा पनि नेमकिपाले एक सिट भने अवश्य जित्ने देखिन्छ । तर बृहत् वाम गठबन्धनले जित्ने देखिएको १५० मध्ये २६ सिटमा जित्ने र दोस्रो हुनेबीचको मतान्तर ५ प्रतिशतभन्दा कम छ भने २० सिटमा ५ देखि १० प्रतिशतको बीचमा हुनेछ ।

त्यस्ता क्षेत्रहरूमा कांग्रेसले अलि मिहिनेत गर्दा आफ्नो उपस्थिति देखाउन सक्छ । तर कांग्रेसले जित्ने देखिएको ५ वटै सिटमा पनि मतान्तर ५ प्रतिशत भएकाले आफूले जित्न सक्ने देखिएको क्षेत्र जोगाउन पनि कांग्रेसले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

(ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजको टिमको सहयोगमा तयार पारिएको)

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?