+
+

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकको सन्देश संसदमा टेबुल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:३८

३१ साउन, काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपतिबाट संदेशसहित नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट प्राप्त नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत गरेका हुन् ।

आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको संदेश प्रस्तुत गरेर सदनलाई जानकारी गराइएको हो ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपनि अगाडि बढाउने विषयका सन्दर्भम दलहरु एकमत छैनन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको एउटै धारणा तय हुन सकेको छैन् । सरकारको नेतृत्वकर्ता दल नेपाल कांग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरु राष्ट्रपतिले पठाएको संदेशका सन्दर्भमा के गर्ने हो एकीककृत धारणा तय गर्नुपर्ने पक्षमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताइरहेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विधेयक फिर्ता भएपछि दलहरुलाई साझा धारणा तय गर्ने अवसर मिलेको बताए । उनले सहमतिमा आउन अनय दलहरुलाई आग्रह गरे ।

‘राष्ट्रपतिले केही संदेशहित पठाउनुभएको छ । यो हाम्रा लागि सुर्वण अवसर हो । एमालेको तर्फबाट आश्वान गर्न चाहन्छु– आउनुहोस् सम्पुर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढौं’ भट्टराईले भने ।

एमालेकै सचेतक शान्ता चौधरीले नागरिकता विधेयक फिर्ता भएपछि सत्ता गठबन्धनलाई गल्ति सुधार्ने मौका मिलेको बताइन् । ‘यस अवसर दिलाइएकोमा राष्ट्रपतिलाई धन्यावाद दिनुपर्छ’ उनले भनिन् । ‘यो विधेयक अब दफावार छलफलका लागि संसदीय समितिमा पठाइनुपर्छ’ भन्ने पनि सचेतक चौधरीको माग छ ।

एमालेकै सांसद विना श्रेष्ठले पनि वैवाहिक अंगीकृतमा समयसीमा राखिनुपर्नेमा जोड दिइन् । विगतमा सत्ता गठबन्धनले बहुमतको बहलमा वैवाहिक अंगीकत नागरिकता बिहे गरेर आए लगत्तै पाउने व्यवस्थालाई निरन्तरता दिन खोजिएकोमा राष्ट्रपतिले फिर्ता पठाएपछि सुधार गर्ने अवसर मिलेको उल्लेख गर्दै उनले फेरि पनि समयसीमा राखेरै जानुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?