+
+

बाघले खाएर चितवनमा मासिए अर्ना, बिना अध्ययनको स्थानान्तरणले क्षति

सुवास पण्डित सुवास पण्डित
२०७९ साउन ३१ गते १३:२८
चितवनमा अर्ना । फाइल तस्वीर

३१, साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बंश विस्तारका लागि भनेर ल्याइएका अर्ना सकिएका छन् । अर्ना राखिएको निकुञ्जको पुरानो पदमपुर क्षेत्रको इन्क्लोजर भित्र बाघ पसेर बाँकी रहेका तीनवटा अर्नालाई मारेसँगै अर्ना सकिएका हुन् ।

कालगती र बाघको आक्रमणबाट जोगिएर बचेका तीन वटा पोथी अर्नालाई बाघले खाएको हो । इक्लोजरको एक कमजोर ठाउँबाट बाघ भित्र पसेर तीनवटै अर्नालाई अलग अलग ठाउँमा मारेको थियो । अर्ना मारेर इक्लोजरबाट बाघ भागिसकेको निकुञ्जका एक अधिकारीले बताए ।

उचित स्याहार र संरक्षणको अभावमा यहाँ ल्याइएका १५ अर्ना र तिनले जन्माएका ६ पाडापाडी सबै मरेर सकिए ।

इन्क्लोजरको जालीबाट भित्र पसेर बाघले केहीदिन अगाडि बाँकी रहेका तीन अर्नालाई मारेपछि निकुञ्जमा अर्ना सकिए । अर्ना मरेर सकिएपछि राज्यको लाखौं रुपैयाँ लगानी गरेर बनाइएको ३० हेक्टर क्षेत्रफलको इन्क्लोजर र पुरानो पदमपुर क्षेत्र सुनसान बनेको छ । इन्क्लोजरको कमजोर क्षेत्रबाट बाघ भित्र पसेर तीन अर्ना मारेको अवस्थामा भेटिएको निकुञ्ज स्रोतले बताएको छ ।

झण्डै ६ वर्ष अगाडि तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलको पीएचडीका लागि उनकै पहलमा कोसीटप्पु वन्यजन्तु आरक्षणबाट ल्याएका १२ र सदर चिडियाखाना काठमाडौबाट ल्याइएका ३ गरी १५ वटा अर्ना र चितवन ल्याएपछि वंश विस्तार गरेर जन्मिएका ६ वटा पाडापाडी सबै मरेर सकिए । तीमध्ये केहीलाई बाढीले बगायो भने केहीलाई बाघले खायो । २०७४ को बाढीमा पाँच अर्ना मरेका थिए ।

अर्नाको संरक्षणमा निकुञ्ज प्रशासनले बेवास्ता गर्दै आएको थियो । अर्ना राखिएको खोरमा दैनिक निरीक्षण, उनीहरूको अवस्थाका बारेमा निकुञ्ज बेखबर हुँदै आएको संरक्षणकर्मीहरु नै बताउँछन् । अर्ना राखिएको स्थानमा मरेको हप्तौ हुँदासम्म निकुञ्ज प्रशासनलाई जानकारी हुँदैन । अझै बर्खाको समयमा त निकुञ्जको अनुगमन कयौं हप्तासम्म पनि नहुने निकुञ्जका अधिकारीहरु बताउँछन् ।

कोसी टप्पुमा रहेका अर्ना । फाइल तस्वीर

‘चितवनमा ल्याइएका अर्ना इन्क्लोजर भित्र राखेर पाल्न ल्याइएका थिएनन्, यिनीहरुको स्टार्डड साइज बनाएर छाड्नुपर्ने थियो तर त्यस्तो गरिएन’ निकुञ्जका एक अधिकारीले भने, ‘खासमा भन्दा अर्ना यहाँ मार्नका लागि ल्याएजस्तो भयो, उचित ध्यान दिन सकिएन ।’

चितवन ल्याएको अर्नाले ६ वटा पाडापाडी जन्माएर वंश विस्तार हुन सक्ने कुराको पुष्टि गरेको छ । तर, व्यवस्थापकीय कमजोरी हुँदा अर्ना सकिएको ती संरक्षणकर्मीको भनाइ छ ।

२०७५ को साउन ३१ गते यहाँ ल्याएका अर्नाबाट पहिलोपटक बच्चा जन्मिएको थियो । समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन् । तर त्यो अवस्था नै आएन । ५० वटासम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् । सन् १९६१ ताका यहाँ अर्ना रहेको पाइएको छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने निकुञ्जले जनाएको छ ।

कोसीमा मात्रै अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना छ ।

अर्ना प्रजाति जोगाउन गरिएको संरक्षण नै संकटमा

सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । सन् १९७३ मा नेपालमा नै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । निकुञ्ज स्थापना हुनुभन्दा करीव ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भए । चितवनबाट अर्ना लोप हुनुको कारणका पहाडी भेगवाट बसाइँसराइ हुने क्रम बढ्नु, वासस्थानको विनास हुनु र प्राकृतिक कारणबाट घट्दै गएका अर्नाको चोरी शिकारी हुनुलाई लिने गरिएको छ । बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले अर्को कारण मान्दै आएका छन् ।

कोसी टापु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले ‘कोल्याप्स’ हुने सक्ने भएकोले पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । कोसी टापुको जस्तै हावापानी र आहार चितवन राष्ट्रिय निकुञ्जमा मिल्ने भएको र यहाँ पनि पहिला अर्ना रहेकोले संरक्षणको प्रयास गरिएको थियो । तर बेवास्ताका कारणले अर्ना बच्न सकेनन् ।

अर्नाको सरदर आयु २५ वर्षको हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा ५ ओटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजनन योग्य हुन्छ । यसको गर्भाधारण अवधि १० देखि ११ महिनाको हुन्छ । २०३२ सालमा कोसीटप्पु वन्यजन्तु आरक्षको घोषणासँगै अर्नाको सख्या वृद्धि हुने क्रम बढिरहेको छ ।

थप अर्ना ल्याउने पहल, कोसी टप्पुको आनाकानी

२०७१ सालमा नै सरकारले पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । १५ वटा ल्याइयो, तर थप ५ वटा ल्याइएन । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना ल्याइएन । निकुञ्ज विभागले चितवनमा थप अर्ना ल्याउने पहल अगाडि बढाएको छ । विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा एक समिति नै गठन गरेर अर्ना स्थानान्तरण तथा गैंडा स्थानन्तरणका लागि अध्ययन गर्ने भनिएको छ ।

ठूला प्रजातिका वन्यजन्तुलाई एक ठाउँमा मात्र राख्दा कालान्तरसम्मै सुरक्षित नहुने भएकाले उपयुक्त बासस्थानमा विस्तार गर्न सकिन्छ भनेर अध्ययन गर्न यो समिति गठन गरिएको हो ।

२०७३ मा कोसीबाट १२ वटा अर्ना चितवन निकुञ्जमा ल्याउँदा नै चितवनबाट ५ वटा गैंडा कोसीलाई दिने प्रतिवद्धता जनाइएको थियो । तर, गैंडा निकुञ्जले नदिएको र पठाइएका अर्नासमेत मरेर सकिए पनि कोसी टप्पुले थप अर्ना दिने सम्भावना निकै कम छ । गैंडा कोसी नल्याएसम्म थप अर्ना अन्यत्र स्थानान्तरण गर्न नदिने अडान उनीहरुले लिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको वंश विस्तार गर्न सकिन्छ भन्ने पुष्टि भए पनि निकुञ्जले संरक्षणमा उचित ध्यान नदिँदा अर्ना जोगाउन नसकिएको तथ्यलाई लुकाउन मिल्दैन ।

अर्नाको ‘स्टाण्र्डड साइज पपुलेसन’ भनेको ४० देखि ५० वटासम्मकोलाई मानिन्छ । निकुञ्ज विभागले थप अर्ना ल्याएर केही समय यसरी नै इक्लोजरमा राख्ने र केही समयमा नै निकुञ्जको खुला ठाउँमा छाड्ने सोच बनाएको छ । तर, अर्नाको वंश नै यहाँ मासिएपछि थप चुनौती थपिएको छ ।

कोसी टापुमा अर्नाको बाघसँग पनि देखभेट नभएकोले बाघको संगत बुझेका छैनन् । तर चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढि छ । अर्नालाई खान बाघ इन्क्लोजरको बाहिर जालीतिर घुमिरहेको अवस्थामा भेटिएको संरक्षणकर्मीहरु बताउँछन् ।

२०७३ सालमा कोसी टप्पुबाट चितवनमा अर्ना सार्दाको भिडियो हेर्नुहोस् :

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?