+
+

राष्ट्रिय टिममा प्रदीपलाई ‘सरप्राइज्ड अवसर’

कुशल तिमल्सिना गोविन्दराज नेपाल कुशल तिमल्सिना, गोविन्दराज नेपाल
२०७९ भदौ २ गते २०:०२
पत्रकार सम्मेलनमा प्रदिप हुमागाईँ । तस्वीर : सुदर्शन रञ्जित

२ भदौ काठमाडौं । अब्दुल्लाह अल्मुताइरी बिरामी विदामा रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदीप हुमागाईंलाई राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिनु धेरैका लागि अप्रत्यासित थियो ।

राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त हुनुपर्ने फिफाको बाध्यकारी नियम विपरीत ए लाइसेन्सप्राप्त नेपाली प्रशिक्षकलाई छाडेर अमेरिकी नागरिक हुमागाईं एन्फाको रोजाईमा परे ।

बंगलादेशसँगको ११ असोजमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईं बुधबार नेपाल आएका हुन् । विहीबार पत्रकार सम्मेलनमा उनले जन्मभूमिबाट पाएको यति ठूलो अवसर अप्रत्यासित रहेको बताए ।

यद्यपि २०७५ सालमा एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेयता नै उनी राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रयासरत थिए । आफूलाई एक पटक अवसर दिन सार्वजनिक रुपमै अनुनय गरेका थिए । प्रशिक्षक बन्ने प्रस्ताव आउनु अप्रत्यासित भएको तर आफू त्यसका लागि पहिल्यैदेखि तयार रहेको उनले जिकिर गरे ।

‘मैले मेरो प्रशिक्षण करिअरको सुरुवातदेखि नै चुनौतीपूर्ण समय बेहोरेको छु । यो मेरो मिहिनेत, अनुभव र विश्वासको परिणाम पनि हो’, हुमागाईंले अनलाइनखबरसँग भन, ‘म यो समयको पर्खाइमा थिएँ । अब देखाउने समय आएको छ ।’

कतार फुटबल संघको सहयोगमा डेढ वर्षअघि नेपाली टिम सम्हाल्ने जिम्मेवारी पाएका कुवेती प्रशिक्षक अल्मुताइरी एसियन कप छनोटपछि नेपाल फर्किएका छैनन् । एसियन कप छनोटअघि बन्द प्रशिक्षणमा खेलाडीसँगको गम्भीर विवाद, एन्फाको वर्तमान कार्यसमितिसँग पुरानो ‘दुश्मनी’लगायतका कारण अल्मुताइरीको नेपाल फिर्ती लम्बिरहेको छ ।

अल्मुताइरीको अनुपस्थितिमा सहायक प्रशिक्षकलाई जिम्मेवारी दिन खेलाडी–प्रशिक्षक विवाद जाँचबुझ समितिको प्रतिवेदन बाधक बन्यो । त्यसपछि एन्फाले हुमागाईंलाई बोलाउने सजिलो बाटो रोजेको हो । गत वैशाखमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमै खेलाडी र प्रशिक्षकबीच विवाद भएपछि १० खेलाडीले बन्द प्रशिक्षण छाडेर हिँडेका थिए । यो प्रकरणमा मुछिएका सहायक प्रशिक्षकलाई कार्यवाहक जिम्मा दिन एन्फा नैतिक अप्ठेरोमा परेको हो ।

२६ साउनमा बसेको एन्फा कार्यसमितिको बैठकले जिम्मेवारी दिएको तीन दिनपछि हुमागाईंले एन्फासँगको समन्वयमा अमेरिकाबाटै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । उनले क्याम्प छाडेपछि टिमबाट निकालिएका खेलाडीलाई टिममा फर्काएर एन्फा कार्यसमिति बैठकको निर्णयलाई कार्यान्वयन गरे ।

असार ६ गते निर्वाचित पंकज विक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिको पहिलो बैठकले अल्मुताइरीले ‘कारबाही’ गरेका १० खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।

हुमागाईंले बिहीबार राष्ट्रिय टिममा बोलाइएका खेलाडीसँग पहिलो सत्र बिताएका छन् । पहिलो दिन भएकाले सैद्धान्तिक प्रशिक्षण दिइएको र शुक्रबारदेखि नियमित प्रशिक्षण सुरु हुने बताए । पहिलो दिन १७ जना खेलाडीमात्र उपस्थित थिए ।

हुमागाईंको अप्रत्यासित करिअर

काभ्रेमा जन्मिएका हुमागाईं खेलाडीका रुपमा सफल होइनन् । उनीसँग ए डिभिजन लिग खेलेको अनुभव पनि छैन । काठमाडौं क्लबबाट खुकुरी कप र रानीपोखरी कर्नर टिम (आरसीटी)बाट शुभजन्मोत्सव कप खेलेका उनी त्यसयता खेलाडी जीवनबाट टाढिए ।

प्रशिक्षकका रुपमा पनि उनको करिअर अप्रत्यासित देखिन्छ । २०६८ सालको ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबबाट इन्टर्न प्रशिक्षकका रुपमा काम गरेको अर्को वर्ष घरेलु फुटबलको महारथी क्लब थ्रीस्टारले उनलाई सहायक प्रशिक्षक बनायो ।

२०६९ सालको लिग जित्नु केही समयअघि प्रमुख प्रशिक्षक मेघराज केसीले राजीनामा दिएपछि हुमागाईंले मुख्य प्रशिक्षकको हैसियतमा लिग उपाधि उचाले । यो उनको करिअरकै अप्रत्यासित अवसर र कोशेढुंगा थियो ।

लिग विजेता प्रशिक्षकका रुपमा उनले अर्को लिगसम्म थ्रीस्टारमा निरन्तरता दिन पाएनन् । सन् २०१३ मा काठमाडौं क्लबको प्रतिनिधित्व गर्दै महिला टिम लिएर नर्वेको फुटबल फेस्टिभलमा पुगे । सोही वर्र्ष उनले काठमाडौं युनिभर्सिटीको टिमसहित नर्वे भ्रमण गरे ।

लिग विजेता प्रशिक्षक भएर पनि ए डिभिजन क्लबको नजरमा नपरेका हुमागाईं २०१४ मा अमेरिका पलायन भए । ‘अमेरिका गएपछि पनि मैले मलाई मनपर्ने खेल फुटबललाई नै निरन्तरता दिन सकेँ’, हुमागाईंले यसलाई पनि आफ्नो करिअरको अप्रत्यासित अवसर मान्छन् ।

नेपाल फर्किएर २०७५ सालमा एन्फाबाटै एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेका उनले नेपालको पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीको प्रशिक्षक बन्ने अवसर पाए । लिगको बीचैमा बर्खास्तीमा परेका उनी आसन्न एनएसएलका लागि झापा एफसीको प्रशिक्षक बनेका छन् ।

अल्मुताइरीभन्दा फरक सोच

मुख्य प्रशिक्षक बनेपछिको पहिलो पत्रकार सम्मेलनमा हुमागाईंले समर्थकलाई पनि राष्ट्रिय टिमको प्रशिक्षण हेर्ने व्यवस्था मिलाउन प्रयास गर्ने बताए । यो पत्रकारलाई समेत निषेध गरी ‘क्लोज डोर’मा प्रशिक्षण गराउने प्रो लाइसेन्स प्रशिक्षक अल्मुताइरीको रणनीतिभन्दा फरक तर्क हो ।

पत्रकार सम्मेलनमा हुमागाईं र एन्फा प्रवक्ता सुरेश साह । तस्वीर : सुदर्शन रञ्जित

यद्यपि समर्थकलाई राष्ट्रिय टिमको प्रशिक्षण हेर्न पाउने निर्णय गर्ने अधिकार एन्फामा निहीत हुनेछ । हुमागाईंले सातामा एकपल्ट समर्थकले पनि आफूलाई मनपर्ने खेलाडीले प्रशिक्षण गरेको हेर्न पाउने व्यवस्थाका लागि एन्फा व्यवस्थापनसँग पहल गर्ने बताएका छन् । फुटबल संस्कृतिको विकास गर्न यो अनिवार्य भएको उनको तर्क छ ।

राष्ट्रिय टिम मिडियामैत्री बनाउने र समर्थकलाई पनि प्रशिक्षण हेर्न अनुमति दिने योजना अल्मुताइरीलाई चुनौती दिने रणनीतिको हिस्सा हो ? भन्ने प्रश्नको हुमागाईंले खण्डन गरे । ‘यो आआफ्नो सोचको कुरा हो । तपाईंले जसरी अर्थ लगाउनु भए पनि हुन्छ । मेरो बुझाइमा यो प्रशिक्षण र सिकाइको प्रक्रिया हो । समर्थकको उपस्थितिले खेलाडीको मनोबल बढ्छ । समर्थकमा पनि अपनत्व हुन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो’, उनले भने, ‘सबैलाई सम्मान गरेर मात्र सफल हुन सकिन्छ ।’

यसअघि अल्मुताइरीले समय र अनुशासन भन्दै खेलाडी र टिम व्यवस्थापनलाई नियन्त्रणमा राख्ने प्रयास गरेका थिए । निश्चित समय दिएर खेलाडीलाई पत्रकार सम्मेलनमा पठाएका उनले समय सकिएपछि बोल्दाबोल्दै छाड्न लगाएको उदाहरण छ ।

१० खेलाडीको अनुपस्थितिमा एसियन कप खेलेको नेपाली टिम अहिले छिन्नभिन्न स्थितिमा छ । नयाँ खेलाडी र सिनियर खेलाडीको तालमेल मिलाउनु हुमागाईंको मुख्य चुनौती हो । उनले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेल जित्ने लक्ष्य राखेका छन् ।

अल्मुताइरी कालको प्रशिक्षण टिम हटाएर उनले सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षक विनोद डंगोललाई नियुक्त गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?