+
+

कविरामले बल्ल पाए आफ्नै नामको नागरिकता

दैलेखको दुर्गम गाउँका दलित नागरिकहरुलाई जेपायो त्यही नाम राखेर मजाक उडाउने प्रशासकहरुको गल्ती सच्याउँदै सिडिओ कार्यालयले जारी गर्‍यो नयाँ नागरिकताको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १८:३६

५ भदौ, काठमाडौं । अपमानजनक नाम लेखेर नागरिकता जारी भएका दैलेखका दुई जना व्यक्तिले आफ्नो वास्तविक नाम राखेर नागरिकताको प्रमाणपत्र पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले यसअघि कुकुर कामी नाममा जारी भएको नागरिकता सच्याएर भगवती गाउँपालिका– ५ का कविराम कामीलाई उनको वास्तविक नाम उल्लेख भएको नागरिकताको प्रमाणपत्र दिएको हो ।

त्यस्तै ठगे विक नाममा जारी भएको नागरिकता सच्याएर भगवतीमाई गाउँपालिका–३ का कर्णबहादुर विकलाई पनि वास्तविक नाम उल्लेख गरेर नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

अपमानजनक नाम उल्लेख गरेर नागरिकता जारी गरेका कारण दलित समुदायका व्यक्तिले अपमान व्यहोर्नुपरेको सामाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिको नागरिकता सच्याउने निर्णउ गरेको थियो । दैलेखका सीडीओ प्याकुरेलका अनुसार कविराम र कर्णबहादुरले २४ साउनमा नाम फेर्न निवेदन दिएका थिए ।

निवेदन दिएपछि प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय र भगवतीमाई गाउँपालिकालाई मुचुल्का उठाउन पत्र पठाएको थियो । मुचुल्कामा सम्बन्धित व्यक्ति नै हो भनेर पहिचान भएपछि नागरिकताको नाम सच्याएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

कविरामले ०४६ सालमा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम ‘कुकुर’ लेखेर सिफारिस गरिदिएको निवदेनमा उल्लेख गरेका थिए ।

‘कर्णबहादुरले ३० वर्ष अगाडि नै कक्षा ७ सम्म पढे पनि नाम सच्याउने प्रावधानबारे प्रष्ट नहुँदा मौन रहेका थिए । जब कविरामको कुरा बाहिर आयो, उनका छोराछोरीहरुले कर गरेर जिल्ला प्रशासन ल्याए, अहिले उहाँको परिवार अहिले खुशी भएका छन्’, प्याकुरेल भन्छन् ।

जिल्लामा धेरै समस्या

प्रजिअ प्याकुरेलले दैलेख जिल्लामा नागरिकतामा धेरैको नाम अपमानजनक रहेको बताए । ‘पहिले दैलेखमा विभिन्न रोगका कारण धेरैको ज्यान गएको रहेछ । त्यसबेला यहाँका अगुवा भन्नेहरुले अन्धविश्वासमा रोगले नमर्ने भन्दै अपमानजनक नाम राखिदएपछि सबैले त्यही अनुसार बोलाउँदा रहेछन् । जब नागरिकता टोली गाउँमा आयो, बोलाउने नाम नै सबैले टिपाए’ अनलाइनखबरसँग प्याकुरेलले भने ।

नाम सच्याउन निवेदन नदिएका तर अपमानजनक नाम भएका अरु व्यक्तिहरु पनि रहेको प्रजिअ प्याकुरेलले बताए । ‘यहाँ यस्तो केस धेरै नै रहेको छ । गृहको सूचना अनुसार हामीले पालिका र वडा–वडामा नाम सच्याउन सक्ने कुराको जानकारी गराउन भनेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?