+
+

‘रवीन्द्रजीजस्तो लोकप्रिय हुनु छैन, लो–प्रोफाइलमा बस्न मनपर्छ’

वाइडबडीमा प्रमाण खोजौं, नत्र सार्वजनिक रुपमा दोषी होइन भनिदिनुपर्यो : विद्या भट्टराई

नेता हुँ, सांसद हुँ भनेर हाईफाई देखाउन कहिल्यै मन लाग्दैन, बरु लो प्रोफाइलमा बस्न रुचाउँछु । किनकी नेता त विचारले हुने हो, चिन्तनले हुने हो, व्यवहारले हुने हो । हाईप्रोफाइलमा गएँ भने विवाद निस्किन्छ ।

अमृत सुवेदी विकास रोकामगर अमृत सुवेदी, विकास रोकामगर
२०७९ भदौ ६ गते ८:००

६ भदौ, पोखरा । अनेरास्ववियुको सचिव भइसकेकी विद्या भट्टराई राजनीतिबाट टाढिएको दुई दशक भइसकेको थियो । २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन उनले घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रुपमा उप–प्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।

१५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि विद्याको जीवनमा नयाँ मोड आयो । कास्की २ मा हुने उपचुनावमा पार्टी उम्मेदवार बनाउने निर्णय गरेपछि विद्या राजनीतिमा फर्किइन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णय मानेर कास्की–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी उनी १४ मंसिर २०७६ मा भएको उपनिर्वाचनमा विजयी भइन् । कक्षाकोठामा रमाइरहेकी विद्या नेता भएर संसद छिरिन् ।

त्यसैले छोटो कार्यकाल, त्यसमाथि दुई–दुई पटक संसद विघटनका कारण धेरै भूमिका देखाउन पाइनन् । पछिल्लो पटक एमालेले उपसभामुखको उम्मेदवार समेत बनाएको थियो, तर सत्तारुढ गठबन्धनको बहुमत भएका कारण उनी पराजित भइन् । अब यो कार्यकाल सकिने क्रममा छ भने ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छ ।

एमाले नेताहरु कास्की-२ मा फेरि पनि विद्यालाई नै उम्मेदवार बनाउने पक्का जस्तै भएको बताउँछन् । विद्या भने उम्मेदवार हुने/नहुने विषयमा धरमरमै छिन् । भन्छिन्, ‘नउठौं भन्ने कि भन्ने पनि लागिरहेको छ । निर्णय गरिसकेकी छैन ।’

उपनिर्वाचनमा विजयी भएपछि संसद पदको सपथ ग्रहण गर्दा विद्या भट्टराई

फेरि उम्मेदवार बन्न उत्साही नदेखिएकी विद्याले पछिल्लो तीन वर्षमा भोगेको, देखेको र बुझेको राजनीतिक अनुभव उनकै शब्दमाः

एउटा परिघटनाबाट म संसदमा आएँ । संसद विघटन भयो, फेरि पुनर्स्थापित भयो । यसपछि पनि पार्टीमा कन्फ्लिक्ट भयो, विभाजन आयो । अहिले पनि संसद राम्रोसँग परिचालन हुन सकेको छैन । त्यसमा कसलाई के दोष लगाउने एउटा पक्ष रह्यो । तर मूल रुपमा संसदले आफ्नो संसदीय परम्पराअनुसार काम गर्न सकेको छैन । हाम्रा राजनीतिक द्वन्द्वले संसदलाई पनि द्वन्द्वात्मक अवस्थामा पुर्याएका छन् । त्यसले गर्दा धेरै आउटपुट दिन सकेको छैन ।

मलाई के लाग्छ भने, संसदमा अरु केही गर्न नसके पनि त्यहाँ मैले बोल्न त सक्थें नि त ! विचारहरु लैजान सक्थें । मेरो क्षेत्रका समस्या त्यहाँ लैजान सक्थें, ध्यानाकर्षण गराउन सक्थें । तर, त्यो कुरा पनि बेला–बेला अवरुद्ध भइरहन्छ । संसद अवरुद्ध भएकै कारण हाम्रा पर्फमेन्स देखाउन त्यति धेरै अवसर पाइएन ।

कहिलेकाहीँ ‘हिजो अर्को ठाउँ थिई, अहिले आएर जान्ने भएर बोल्छे’ भन्छन् कि भन्ने लाग्छ । नेता हुँ, सांसद हुँ भनेर हाईफाई देखाउन कहिल्यै मन लाग्दैन, बरु लो-प्रोफाइलमा बस्न रुचाउँछु

कोभिडका कारण सार्वजनिक कार्यक्रमहरुमा बोल्ने, अन्तत्र्रिmया गर्ने काम पनि धेरै हुन सकेन । त्यसैले यसलाई मैले मेरो क्रिटिकल फेजका रुपमा लिएकी छु । साह्रै निरासा त मानेको छैन, तर बाहिरबाट बुझेजस्तो दलभित्र र बाहिरको राजनीति अझै तयार भइसकेको रहेनछ ।

सांसदको भूमिका के ?

सांसदले गर्ने के हो त ? यो प्रश्न सधैं मनमा आइरहन्छ । भलाम (पोखरा–२०)मा पहिरो गएर मानवीय क्षति नै भयो । यसबारे हामीले सरकारलाई जानकारी गराउने हो । संघीय सरकार नगए पनि प्रदेशका मुख्यमन्त्री, मन्त्री नै जानु भा’छ । त्यसपछि के भयो त ? सम्बोधन भयो त ? कसले गर्ने सम्बोधन ? प्रदेश सांसदले त्यो कुरा ल्याउने हो कि ? संघीय सांसदको दायित्व हो कि ? मैले मेरो ठाउँबाट र प्रदेश सांसदले पनि आफ्नो ठाउँबाट पहल गरिराख्नु भएको होला ! त्यसको सम्बोधन त सरकारले गर्नुपर्ने हो, तर भएको छैन ।

उहाँहरुले राहत र बाटाका बजेटहरु माग गर्नुहुन्छ । हिजो त माननीयलाई भनेर आउँथ्यो भन्नुहुन्छ । हिजोका दिनमा रवीन्द्रजी माननीय हुनुभयो, मन्त्री नै हुनुहुन्थ्यो । बजेट परिचालन गर्ने ठाउँमा हुनुहुन्थ्यो । तर म केबल सुख्खा सांसद हुँ ।

हाम्रो दायित्व नीतिगत हिसाबले पहलकदमी र पैरवी गर्ने छ, विकाससँग हामी धेरै जोडिँदैनौं । मैले यही कुरा जनतालाई भनें भने निरिहता देखिन्छ । यसले नसकेर यस्तो भनी भन्ने हुन्छ । त्यसैले सांसदको भूमिका के हो ? व्यवस्थापिका अवरुद्ध हुँदा जनताका कुराहरु त्यहाँ उठ्न पाउँदैनन् भनेर सांसदलाई एउटा शक्तिशाली निकाय मानिराखेका छौं भने त्यो शक्तिशाली निकाय चाहिँ केके, उसको कार्यक्रम र योजनाहरु केके ? भन्ने कुराको बहस चलाउन जरुरी छ ।

थुप्रै विद्याहरु राजनीतिमा आउनुपर्यो

अहिलेको मेरो कामको मूल्यांकन मेरो पार्टीले गरिराखेको होला ! म आफैं पनि गरिराखेकै हुन्छु । तर म नै हुनुपर्छ, म नै पदमा पुग्नुपर्छ भन्नेभन्दा पनि आवश्यकता कति हो भन्ने हो । मलाई सोध्नुहुन्छ भने विद्या दोहोरिने, तेहरिने भन्दा विद्याजस्तो अर्को मान्छे कसरी निर्माण गर्ने भन्ने मुख्य हो । बरु त्यसका लागि वातावरण बनाउने मेरो भूमिका होला, मैले पहलकदमी गर्ने होला । म पुग्ने कुराले मात्रै धेरै अर्थ राख्दैन । म नआए पनि थुप्रै विद्याहरु आउनुपर्यो ।

वाइडबडीमा जोडिएका सबै के हुन् त भन्ने प्रमाण खोज्नुपर्यो । त्यसको आधारमा कारवाही गर्नुपर्यो । होइन भने सार्वजनिक रुपमा रवीन्द्रजी दोषी होइन भनिदिनुपर्यो

आज हामी माग्ने ठाउँमा छैनौं, दावा गर्ने ठाउँमा छौं । दाबी गर्छौं भनेपनि पर्फमेन्स पनि जोडिन्छ । त्यो पर्फमेन्सका लागि सपोर्टिभ वातावरण हुनुपर्छ । तर हामीकहाँ सपोर्टिभ नभएर कम्पिटेटिभ वातावरण निर्माण भइरहेको छ । यसले महिला वा सीमान्तकृत समुदायलाई अप्ठ्यारो बनाइरहेको छ । यो कुरा दलहरुले पनि सोच्नुपर्छ । सामाजिक वातावरण पनि त्यहीअनुसार बनाउनुपर्छ ।

लो–प्रोफाइलमै बस्न चाहन्छु

हिजो जतिबेला राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलन एउटा मुद्दामा केन्द्रित थियो । विद्यार्थीका मागहरु नै हाम्रा एजेन्डा थिए । विवाहपछि राजनीतिसँग जोडिरहे पनि फ्रन्टलाइनर भइनँ । मेरो पहिचान भनेको एउटा प्राध्यापक, एक्टिभिस्टका रुपमा मात्रै रह्यो । तर एउटा अवस्थाले फ्रन्टलाइनर भएर निस्किएँ ।

अहिले पनि हामीले राजनीतिलाई बुझ्ने ३ वटामात्रै आयाम छन्, एउटा राजनीति भनेको पावर हो, अर्को आन्दोलन हो र अर्को राजनीति भनेको अवसर हो ।

मेरो बुझाइमा राजनीति भनेको क्षेत्र पनि हो, राजनीति भनेको परिवर्तन हो । किनकी यो मास लेबलमा पुग्छ र छिटो परिवर्तन गर्न सक्छ । तर अहिले हामी कहाँ पावर गेन गर्ने प्रचलन राजनीतिभित्र छ । यसले गर्दा जो मान्छे फरक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्छ, त्यसलाई त्यति धेरै उत्साहले नलिइँदोरहेछ । धेरै उत्साहीचाहिँ मलाई पनि गरिराखेको छैन । म आएँ, ‘तपाईं आउनुभयो, ब्याक हुनुहुन्न । यहीं रहनुपर्छ’ भन्ने कुरा कस्तो–कस्तो लाग्छ ।

कहिलेकाहीँ ‘हिजो अर्को ठाउँ थिई, अहिले आएर जान्ने भएर बोल्छे’ भन्छन् कि भन्ने लाग्छ । नेता हुँ, सांसद हुँ भनेर हाईफाई देखाउन कहिल्यै मन लाग्दैन, बरु लो प्रोफाइलमा बस्न रुचाउँछु । किनकी नेता त विचारले हुने हो, चिन्तनले हुने हो, व्यवहारले हुने हो । हाईप्रोफाइलमा गएँ भने विवाद निस्किन्छ । रवीन्द्रजी धेरै लोकप्रिय नेता हुनुहुन्थ्यो, त्यसैले पनि उहाँमाथि धेरै प्रहार भए ।

आरोप पुष्टि होस्, नभए दोषी होइन भनियोस्

विपक्षीले आरोप लगाउँदा व्यक्तिप्रति गर्ने नराम्रो संस्कार हाम्रोमा विकास भएको छ । यो राजनीतिक संस्कृति हो भन्ने मलाई लाग्दैन । प्रमाण छ भने प्रमाणका आधारमा त्यसलाई कानुनी प्रक्रियामा लैजान सक्छौं । त्यसका लागि कसैले पनि रोकेको छैन । तर जब प्रमाणै छैन, आरोपित गर्ने प्रवृत्तिले राजनीतिलाई कता लैजान्छ ? वाइडबडी पनि त्यसरी नै जोडिएको विषय हो ।

यस विषयमा रवीन्द्रजीले पनि बोल्नुभएको थियो । यस्ता विषय उठान गरिसकेपछि निराकरण नगर्ने हो भने राजनीतिमाथि आम मान्छेको प्रश्न उठिरहन्छ । राजनीतिज्ञको भूमिका सबैको यस्तै हो भन्ने परिरहन्छ । यसले आस्था, निस्था, इमान्दारितामाथि भोलि अनावश्यक रुपमा लान्छना लगाउने कुराको विकास गर्छ । यो ‘ब्लेमिङ कल्चर’ले राजनीतिलाई बेफाइदा गर्छ । त्यसकारण कसको कति दोष हो भन्ने प्रमाण हेरेर दोषीमाथि कारबाही गर्नुपर्यो ।

हिजोका दिनमा उहाँ (रवीन्द्र)को व्यक्तित्वमाथि प्रहार गरियो । उहाँ आज त हुनुहुन्न । यसमा उहाँमात्रै पनि जोडिनु भएको त थिएन । त्यसो हो भने वाइडबडीमा जोडिएका सबै के हुन् त भन्ने प्रमाण खोज्नुपर्यो । त्यसको आधारमा कारवाही गर्नुपर्यो । होइन भने सार्वजनिक रुपमा रवीन्द्रजी दोषी होइन भनिदिनुपर्यो ।

सामाजिक सञ्जालमा पनि मैले केही लेख्दा यही विषय जोडेर ह्यारेस गर्न खोज्छन्, विक्षिप्त बनाउँछन् । यो संस्कारले राजनीतिलाई मात्रै धुमिल्याएको छैन, भोलि अर्कोमाथि पनि पर्छ । दोषी छैन भने दोष लगाउनेमाथि पनि कारवाही हुनुपर्छ । नत्र त यसले हामीजस्ता मान्छेलाई कमजोर बनाउँछ नि ! भोलि कुनै निर्णय गरिएला, काम गरिएला । तर, सबैले यसले कति पैसा खायो होला भनेर दोष लगाउन सजिलो छ नि ! तर पुष्टि नभई लगाइएका आरोप खण्डित हुन्छन् । रवीन्द्र जी माथिका आरोप पनि धेरै खण्डित भइसकेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?