Comments Add Comment

सम्झनामा रवीन्द्र अधिकारी, कसले के भने ?

१७ फागुन, काठमाडौं । पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बिभिन्न नेता तथा व्यवसायीहरुले बताएका छन् । मन्त्री अधिकारीका अधुरा काम पूरा गरेर देशलाई समृद्ध बनाएमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेताहरुको भनाइ छ ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा पुगेका नेता तथा व्यवसायीहरुको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ-

झलनाथ खनाल

कमरेड रविन्द्र अधिकारीसहित ७ जना होनहार नागरिक यो दु:खद घटनामा दिवंगत हुनु भएको छ । म सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोक सन्तन्त परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।

यो अकल्पनीय घटना हो । हामीले कल्पना गर्न नसक्ने घटना घटेको छ । दुःखद छ र कमरेड रविन्द्र उदयमान नेता हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनको उज्ज्वल नक्षत्रका रुपमा हुनुहुन्थ्यो । चाहे विद्यार्थी आन्दोलनको क्षेत्रमा होस्, चाहे कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा होस् उहाँले छोटो अवधिमा पनि महत्वपूर्ण योगदान दिनु भएको छ ।

यो पनि पढ्नुहोस रवीन्द्र अधिकारीसँगै बसिरहेको छु जस्तो लाग्छ : राजपा नेता कर्ण

डा. बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति

लोकतान्त्रिकरणपछि समृद्धिकरणको नयाँ युगमा हामी प्रवेश गरेका छौं, त्यो दिशामा जान उहाँ जस्ता सिर्जनशील युवा नेतृत्वको हामीलाई खाँचो थियो । समृद्धिको विषयमा उहाँ धेरै रुची र चासो राख्नु पनि हुन्थ्यो, कितावहरु पनि लेख्नु भएको थियो । उर्जाशील र स्वच्छ छविको हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा मैले उहाँमाथि ठूलो आशा र विश्वास गरेको थिएँ, निरन्तर सम्पर्कमा थिएँ । यो आकस्मिक र अकल्पनीय घटनाले मर्माहत बनाएको छ । देशले होनहार नेतृत्व गुमाएको छ ।

रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस

यो घटना राष्ट्रकै लागि दुःखद घटना हो । अत्यन्त होनहार युवा नेता र भविष्यका नेता हामीले गुमायौं । यसको क्षतिपूर्ति गर्न गाह्रो छ । रवीन्द्रको जस्तो क्षमता, योग्यता, प्रतिभा, सक्रियता र शालीनता विरलै मान्छेमा हुन्छ ।

मैले अस्ति भर्खरै मात्र भेटेको थिएँ । हामी त मामा-भान्जा हौं तर उहाँले मलाई दाइ भन्नु हुन्थ्यो । मैले मन्त्री भन्दैनथें, भान्जा भन्थें ।

एयरपोर्टमा केही दिन अगाडि भेटेको थिएँ । पोखरामा पनि भेट भएको थियो । हामीबीच सधैं अत्यन्त सुमधुर सम्बन्ध थियो । धेरै सुझावहरु पनि दिनुहुन्थ्यो । उहाँ धेरै सहयोगी भावनाको हुनुहुन्थ्यो ।

बामदेव गौतम, नेता, नेकपा

मैले पार्टी सदस्यता दिएको र निरन्तर हुर्काइरहेको, राष्ट्रले भरोसा गरेको, भोलि सरकार र पार्टीको नेतृत्व सम्हाल्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा उहाँ विकसित भइरहनु भएको थियो । नेकपाले धेरै ठूलो क्षति व्यहोर्नु परेको छ । मेरो विचारमा आज देश निर्माणका निम्ति अभियान सुरु गर्नुपर्ने अवस्थामा उहाँ जस्तो योग्य व्यक्तिको अभाव राष्ट्रले व्यहोरिरहनु पर्नेछ । एउटा योद्धा, कर्मठ, विद्वान व्यक्तिलाई हामीले गुमाएका छौं । यसको क्षतिपूर्ति लामो समयसम्म हामीले पूरा गर्नुपर्नेछ ।

मृत्यु सबैको हुन्छ । तर, नेकपाका पुरानो पिढी ४/५ वर्षमा सबै विदा हुँदैछन् । त्यसपछिको ८/१० जना पर्ने उहाँ हुनुहुन्थ्यो । त्यसैले उहाँ रहिरहनु भएको भए उहाँमाथि ठूलो जिम्मेवारी आउन सक्थ्यो, पार्टी र सरकार नेतृत्वको । त्यसैले म बाँच्दासम्म उहाालाई सम्झिरहनेछु ।

शंकर पोखरेल, मुख्यमन्त्री, प्रदेश ५

रविन्द्र अधिकारी नेपालको विद्यार्थी आन्दोलनको अत्यन्त प्रतिभाशाली विद्यार्थी नेताको रुपमा विकास भयो । उहाँले संगठन र संघर्षको माध्यमबाट एउटा मानक उचाइ निर्माण गर्न सफल हुनुभयो । अत्यन्त क्रियाशील र कर्मशील मान्छेको रुपमा म उहाँलाई मान्छु । उहाँले आन्दोलनको माध्यमबाट जे अनुभवहरु हासिल गर्नु भएको थियो, त्यो राष्ट्रको सेवामा समर्पित गर्ने समय सुरु भएको छ । वास्तवमा उहाँले त्यो मौका पनि पाउनु भएको थियो । र आफूले मौका पाउँदाखेरि त्यसलाई सार्थक परिणाममा ढाल्ने संकल्प र अठोटसहित उहाँ काममा जुटिरहनु भएको थियो ।

यो पनि पढ्नुहोस योगेश भट्टराई भन्छन्– भीआईपीको उडानमा आचारसंहिता बनाऔं

खासगरी उहाँका पछिल्ला समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कुरामा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्रममा, भएका विमानस्थलहरुलाई सुचारु बनाउने कुराहरुमा, नेपालका बिभिन्न ठाउँमा पर्यटकीय गन्तव्यहरु खोजी गर्ने कुराहरुमा र भिजिट नेपाल २०२० लाई सार्थक र सफल बनाउने कुरामा उहाँले जुन प्रकारको योजना बनाउनु भएको थियो, त्यो अत्यन्त महत्वपूर्ण थियो भन्ने कुरा मलाई लाग्छ । किनकी नेपालमा पर्यटकका संख्यालाई दोब्बर बनाउने लक्ष्यका साथ उहाँले भिजिट नेपालको तयारी गरिराख्नु भएको थियो । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटीक एयरपोर्टको रुपमा बनाउने नयाँ सोचका साथ अगाडि बढ्दै हुनुहुन्थ्यो । त्यस अर्थमा म के ठान्छु भने नेपालले पर्यटनको क्षेत्रमा काम गरिरहेको एक जना नेता गुमाएको छ । राष्ट्रले भविष्यको सम्भावना बोकेको एक जना युवा नेता गुमाएको छ । राष्ट्रले ठूलो क्षति व्यहोरेको छ ।

सिंगो राष्टले उहाँप्रति सम्मान गरिरहेको छ । जुनदेखि घटना घट्यो राष्ट स्तब्ध छ । म के ठान्दछु भने राष्ट्रले गर्ने सम्मान भनेको यही नै हो ।

गोकर्ण विष्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

लामो समयदेखिको सहयात्री, सहयोद्धा साथी हो । उहाँ अत्यन्त, सिर्जनात्मक साथी हो । उहाँ अप्ठ्यारोमा पनि हाँस्न सक्ने अत्यन्त जुझारु साथी हो । उहाँ विकासप्रति अति धेरै चासो राख्ने नेता हो । उहाँमा जुन प्रकारको विकासप्रतिको भावना थियो, त्यो भावना आजको राजनीतिक सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ । त्यो भावना प्रतिनिधित्व हुने गरी, प्रतिविम्वित हुने गरी अरुले काम गर्नुपर्छ ।

उपेन्द्र महतो, व्यवसायी

उहाँ स्पष्ट भिजन भएको नेता हुनुहुन्थ्यो । देशको समृद्धि र विकासको बारेमा कुरा गर्दा जति सजिलो थियो र जति राम्रो रुपमा बुझ्नु भएको थियो हामीले धेरै आशा राखेका थियौं । अब उहाँको श्रद्धाञ्जलीको रुपमा हेर्ने हो भने नेपाल सरकारले र नेपाली जनताले देशको समृद्धि र विकासमा सफल पार्न सकियो भने उहाँप्रति सही रुपमा श्रद्धाञ्जली हुन्छ भन्ने लाग्छ ।

उहाँलाई दुई दिन अगाडिमात्र भेटेको थिएँ । उहाँसँग कुरा गर्दा खेरि वीरगञ्जको अश्वमेघ यज्ञमा पनि जाने इच्छा राख्नु भएको थियो । तर ब्ल्याक लिस्टमा राखिएको नेपालको उड्डयन क्षेत्रलाई हटाउनुपर्ने भएकाले म जर्मनी जान लागेको छु, उताबाट फर्किएपछि फेरि पर्यटन क्षेत्रसँग सम्बन्धित काम गरौंला भन्नु भएको थियो । त्यसका लागि मेडिकल टुरिजम नेपालमा कसरी बढाउने भनेर अलग्गै एउटा शाखा खोलेर अगाडि बढ्ने योजना बनाएका थियौं ।

कृष्णगोपाल श्रेष्ठ, नेता, नेकपा

राष्ट्रिय राजनीतिमा उदयमान नेता हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिदेखि नै अत्यन्तै अग्रणी र महत्वपूर्ण भूमिका खेल्नु भएको छ । मुलुकको राजनीतिक परिवर्तनमा पनि उहाँको भूमिका अतुलनीय छ । राष्ट्रिय राजनीतिमा उहाँको लोकपि्रयताको कुरा गर्द उहाँ दुई-तीन पटक जनताबाट अनुमोदित भएकै व्यक्ति हो । उहाँको राम्रो पक्ष भनेको पार्टी विधि र नीतिबाट चल्नु पर्छ भन्ने भावना थियो ।

सुरेन्द्र बस्नेत, उपाध्यक्ष, अनेरास्ववियू (क्रान्तिकारी)

रवीन्द्र अधिकारी नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको एउटा अत्यन्त्र उज्ज्वल नक्षत्र हुनुहुन्छ । चाहे पक्ष होस्, चाहे प्रतिपक्ष विद्यार्थी आन्दोलन होस्, सबै खालका विद्यार्थी आन्दोलनको उहाँ एउटा विम्व हो, उहाँ सतिसाल हो र एउटा रोल मोडल पनि हो । उहाँले राष्ट्रियताको लडाइँ, जनजिविकाको लडाइँदेखि रुपान्तरणमा जहिलेसुकै नेतृत्व मात्र गर्नु भएन कयौं पुस्तासम्मलाई दिशावोध पनि गर्नुभयो ।

रवीन्द्र अधिकारीको निधनले विद्यार्थीहरुले एउटा आशाको धरोहर गुमाएका छन्, सिंगो राष्ट्रले असाध्यै भरोसायोग्य सपुत गुमाएको छ । पार्टीले पनि भरोसायोग्य सतिसाल र खम्बा गुमाएको छ । रवीन्द्र अधिकारीबाट इमानको, निष्ठाको, त्यागको राजनीति हामीले सिक्ने कुरा हो ।

ऊर्जाशील, गतिशिल उहाँको जीवनको सबैभन्दा उल्लेख्य पक्ष हो । जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि उहाँ ऊर्जाका साथ, आशावादीका साथ लागिरहनु हुन्थ्यो । खासगरी पछिल्लो कालखण्डमा विकास र समृद्धिको यात्रा रवीन्द्र अधिकारीबाट हामीले सिक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment