+
+

एउटा क्रिकेटरले भोगेको तनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:१२

७ भदौ, काठमाडौं । इङ्ल्यान्डको टेष्ट टोलीका कप्तान वेन स्टोक्सले मानसिक तनावका कारण क्रिकेटबाटै ब्रेक लिनु पर्‍ यो ।

सन् २०२१ को जुलाईदेखि झण्डै ५ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका उनले आफूले भागेको मानसिक समस्या बीबीसीमार्फत सार्वजनिक गरेका छन् । बीबीसीले तयार पारेको डकुमेन्ट्रीका अनुसार त्यो बिश्रामको प्राथमिकता मानसिक तनावबाट मुक्त भएर पूर्ववत् रुपमा क्रिकेटमा फर्कनु थियो ।

३१ वर्षीय अलराउण्डर स्टोक्सले धेरै समय आफ्नो मानसिक तनाव लुकाए, तर अति भएपछि क्रिकेटबाट नै बिश्राम लिए । ‘मैले एउटा काँचको बोतलमा आफ्नो भावनाहरु थुपार्दै गएँ,’ बीबीसीले तयार पारेको डकुमेन्ट्रीमा उनले भनेका छन्, ‘पछि त्यो भरिएर फुटे जस्तै भयो ।’

पछिल्ला केही वर्षमा उनको जीवनमा धेरै उतारचढाव आएको छ । मारपिटको आरोपमा मुद्दा मामिला, बुवाको निधन, खेलका क्रममा भाँचिएको औंला, क्रिकेट टिममा परिवर्तन, टिमको नेतृत्वको जिम्मेवारी । सबै सहेका स्टोक्स् भन्छन्, ‘म एक उत्तरी बहादुर केटोको परिचय त्याग्न चाहन्छु । हो म बहादुर छु होला तर मलाई पनि मानसिक तनाव हुन्छ ।’

इङ्ल्यान्डका पेस बलर स्टुअर्ट बोर्डले भनेका केही कुराले स्टोक्सकोे आँखा खोल्यो । स्टुअर्टले मानसिक तनाव पनि एक ठूलो समस्या हो भन्दै यसले क्रिकेट खेल्नै नसक्नेसम्म हुने बताएका थिए । स्टोक्सले भने, ‘मैले मेरो गाह्रो समयमा उनीसँग धेरै कुरा खोलेको पनि थिइन । मैले सत्य कुरा खासै व्यक्त गरेको थिइन, तर उनको कुराले मलाई मेरो बाटो देखाएको अथवा आँखा खोलेको भान भयो ।’

उनलाई टेष्ट कप्तान बनाइएको थियो । उनले केही समयको लागि ब्रेक लिने भन्दै गर्दा उनको बारेमा नकरात्मक टिप्पणी भए । उनलाई यस कुराले पनि आघात पुर्‍याएको रहेछ । ‘मैले काम गर्न नसकेर अथवा जिम्मेवारीबाट भाग्न ब्रेक लिन लाग्यो भन्ने अर्थ लगाए । यसले मलाई नराम्रो लाग्यो’, उनले भने, ‘कप्तान हो भन्दैमा जे पनि सहनु पर्छ, गर्न सक्नुपर्छ भन्ने त छैन नि !’

बुवालाई प्रयाप्त समय दिन नपाएको पछुतो

बुवा गेड नै स्टोक्सको जीवनको सबैभन्दा ठूलो प्रेरणा थिए । उनका बुवा न्युजिल्यान्डका पूर्व रग्बी लिगका अन्तर्राष्ट्रिय खेलाडी थिए । स्टोक्सले आफ्ना पिता नै आफ्नो सफलता पछाडिको नायक भएको बताए, ‘मलाई स्थापित गर्न उहाँको नै हात थियो ।’

गेडको सन् २०२० मा मस्तिष्कको क्यान्सरका कारण निधन भएको थियो । आफ्ना बुवाका बारेमा उनले थप भने, ‘मेरा प्रेरणा हुनुहुन्थ्यो मेरा बुवा जसले दुनियाँलाई अनि मलाई छोडेर जानुभयो । मैले मानिसहरुलाई चिनाउन पाएँ उहाँ मेरो लागि बुवामात्र नभइ मेरो प्रेरणपात्र हो भनेर । यसमा मलाई निकै गर्व लाग्छ ।’

बुवाकै कारण आज कप्तान जस्तो ओहोदा भएको पदमा पुगेको बताए । बुवालाई प्रयाप्त समय दिन नपाएकोमा उनलाई पछुतो लागिरहेको छ । भलै बुवाको अन्तिम अवस्थामा उनले क्रिकेट छाडेर बुवासँगै समय बिताएका थिए । ‘मेरो खेल हेरेर, तिमीले राम्रो गर्दैछौं भन्ने सन्देशसमेत लेख्न नसक्ने हुँदा पनि म उहाँसँग थिइनँ’, उनले भने, ‘उहाँ कुर्सीमा बसेर क्यान्सरसँग लडेर अन्तिम समयमा पुग्दा पनि उहाँ मेरो जिन्दगीका बारेमा सोच्नुहुन्थो ।’

सन्तानलाई ब्रिस्टल घटनाको असर पर्ने डर

सन् २०१७ को कुरा हो, उनलाई व्रिस्टलको एक नाइट क्लब अगाडि कुटपिट गरेको आरोप लागेको थियो । एक वर्षपछि उनलाई अदालतले सफाइ दियो । तर त्यसपछि केही समय उनी इङ्ल्यान्डको टोली बाहिर रहनुलाई यही घटनासँग जोडेर हेरियो ।

श्रीमती क्लेअरले त्यतिबेलै भनेकी थिइन्, ‘यो काण्डको सुनुवाइ भए पनि यसको प्रभाव लामो समयसमम रहिरहन्छ ।’ यो घटनाले ११ वर्षे वैवाहित सम्बन्धमा असर नगरे पनि सन्तानमा नकरात्मक प्रभाव पर्छ कि भनेर स्टोक्स चिन्तित छन् ।

‘ब्रिस्टलको घटनाले मेरो जीवनमा प्रभाव पारिरहने छ, हामीले यसबारे बच्चाहरुलाई सबैकुरा भन्नुपर्छ । ता कि मानिसहरुले सोधेको कुरा उनीहरुले हामीलाई घरमा आएर फेरि सोध्न नपरोस्’, उनले भने ।

ब्रिस्टल घटनाको सुनुवाइकै क्रममा उनले इंग्ल्याण्डका लागि खेले पनि तनावमुक्त थिएनन् । ‘ड्रेसिङ रुममा रमाइलो हुन्थ्यो, तर जब म आफ्नो कोठामा पुग्थें, त्यति बेला एकदमै एक्लो महशुुस हुन्थ्यो ।’

– बीबीसीमा प्रकाशित/प्रसारित सामग्रीको आधारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?