+
+

पहिरोले विद्यालयको भवन चर्किदा पालमा पढ्दै जाजरकोटका विद्यार्थी

नगरपालिकाको शिक्षा शाखाले भन्यो : केही गर्न सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १९:१६

८ साउन, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् ।

गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ ।’

कक्षा पाँचसम्म रहेको उक्त विद्यालयको दुईवटा भवनको चार वटा कक्षाकोठामा क्षति पुगेको छ । जसमा कक्षा तीनदेखि पाँचसम्मका बालबालिका पढ्ने तीन वटा कक्षा कोठा र स्टोर रुम क्षतिग्रस्त बनेको प्रधानाध्यापक अधिकारीले बताए ।

प्रधानाध्यापक अधिकारीका अनुसार शीतल हुँदा पढाउन सजिलो भए पनि ठूलो झरी अथवा चर्को घाम लाग्दा पनि प्लाष्टिकमा बाफिएर पढ्न नसक्ने अवस्था छ ।

उनले भने,‘ निक्कै दु:खले पढाइरहेका छौं। बढी घाम लाग्यो अथवा ठूलो पानी पर्दा बालकक्षा, एक, दुई कक्षाका बालबालिका भएकैमा मिलाएर पढाउने गरेका छौं ।’

भवन चर्किएपछि वडा कार्यलय, प्रहरी चौकी र नगरपालिकामा जानकारी गराए पनि तत्काल केही सहयोग गर्न नसक्‍ने जवाफ दिएको प्रधानाध्‍यापक अधिकारीले बताए ।

‘प्रहरी नै बोलाएर मुचुल्का उठाएका छौं । वडा कार्यलयमा समेत तस्वीरसहित निवेदन दिएका छौं,’ उनले भने, ‘ तर, जानकारी गराउँदा नगरपालिकाको शिक्षा कार्यलयले सहयोग गर्न नसक्ने जवाफ दियो।’

यता, नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपक शाहीले भने भवन चर्किएको जानकारी पाएको तर पुग्न नसकेको बताए । उनले भने, ‘भवन चर्किएको छ भन्ने सुन्नमा आएको छ । तर म पुग्न भने सकेको छैन ।’

विद्यालयमा अहिले बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी शिक्षक, एक जना राहत शिक्षक, एक जना बालविकास शिक्षक गरी चार जना शिक्षक र एक जना विद्यालय कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?