+
+
एमाले बैठकमा नेताहरुको सुझाव :

‘पुरानाले मरिहत्ते नगरौं, युवा र नयाँलाई प्राथमिकता दिऔं’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २१:१७

९ भदौ, काठमाडौं । शुक्रबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले एघार वटा एजेण्डा तय गरेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको मस्यौदामा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुको सुझाव समेटेर केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको हो । ‘अध्यक्षले पेश गरेको प्रतिवेदनमा विभिन्न कमिटीका नेताहरुको सुझाव समेटेर बैठकको एजेण्डा तय गरिएको हो, अब केन्द्रीय कमिटीबाट निर्णय हुनेछ’, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।

स्थानीय चुनावपछि एमालेको पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । ‘अस्तिको चुनावको समीक्षा र आगामी चुनावको तयारीबारे यो बैठकले निर्णय गर्नेछ’, गुरुङ भन्छन् । नेताहरुका अनुसार, बिहीबारको बैठक मूलतः प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार चयनको मापदण्डमाथि केन्द्रीत भयो ।

मन्तव्यसहित बैठकमा एजेण्डा राख्ने क्रममै अध्यक्ष ओलीले उम्मेदवारको मापदण्डबारे छलफल खुला गरेका थिए । ‘समानुपातिक सांसद फेरि समानुपातिक उम्मेदवार हुने कि नहुने, स्थानीय चुनाव हारेकालाई टिकट दिने कि नदिने र राष्ट्रियसभा सदस्यले चुनाव लड्ने कि नलड्ने भन्नेमै छलफल केन्द्रीत भयो’, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । नेताहरुको सुझावमा पनि लगभग एउटै रहेको उनी बताउँछन् ।

समानुपातिक सांसद फेरि समानुपातिकमै बस्न नहुनेमा नेताहरूले मिल्दो सुझाव दिएका थिए । समानुपातिक तर्फका सांसद डा.विन्दा पाण्डे र निरु पालले नै समानुपातिक सांसद दोहारिन नहुने तर्क गरेपछि कसैको पनि बिमति रहेन । ‘अहिले भएका (सांसद) एक जनालाई पनि दोहोर्याउन हुन्न । उसले सांसद हुने हैसियत बनाउनुपर्यो, फिल्ड बनाउनुपर्यो’, पाल भन्छिन्, ‘एकपटक पार्टीले सांसद बनाएपछि फेरि आफ्नै योग्यतामा सांसद हुने क्षमता बनाउनुपर्छ ।’

तर समानुपातिक सांसद धेरै महिला रहेकाले उनीहरुलाई प्रत्यक्षतर्फ उम्मेदवार हुने अवसर दिइनुपर्ने सुझाव पाण्डेले राखिन् । यसमा मञ्जु चौधरीको पनि समर्थन रह्यो । त्यो भन्दा अघि बढेर पाण्डेले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने मापदण्डबारे नयाँ प्रस्ताव राखिन् । उनको प्रश्न थियो, ‘एउटै व्यक्ति लगातार कतिपटक उम्मेदवार बन्ने ?’

एउटै व्यक्ति प्रत्यक्षतर्फ पनि दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था एमालेले गर्दा अरु दलले पनि सिक्ने पाण्डेको भनाइ थियो । स्थानीय तहको प्रमुखमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था रहेकाले सांसदको हकमा पनि त्यस्तै प्रणाली बनाउनु राम्रो हुने उनको भनाइ थियो ।

उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यले राजीनामा दिनै नहुने तर्कमा पनि नेताहरुको एउटै सुझाव राखे । ‘राष्ट्रियसभा सदस्यमा भएकाले राजीनामा दिन हुन्न भन्नेमा एउटै मत आएको छ, यो लगभग एउटा मापण्ड नै बन्ने देखिन्छ’, शेरधन राई भन्छन् । एउटै व्यक्ति सबैतिर कुद्दा राम्रो सन्देश नजाने, पार्टीभित्र उत्साह पनि नआउने नेताहरुको तर्क थियो ।

स्थानीय चुनावमा पराजित भएकालाई उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा भने फरक–फरक अभिमत आएको थियो । कतिपयले भर्खरै पराजितलाई फेरि सांसदको उम्मेदवार बनाउन नहुने राय राखे भने कतिपयले आवश्यकताका आधारमा निर्णय लिइनुपर्ने सुझाव राखेका थिए । ‘चुनावको आवश्यकता हेरेर निर्णय लिनुपर्छ, हारेकालाई टिकट नदिने भनेर प्रष्ट किटान नगरौं भन्ने मत पनि आयो’, विशाल भट्टराई भन्छन् ।

पुरानैले मरिहत्ते नगरौं

उम्मेदवारको मापदण्डबारे छलफलका क्रममा नेताहरुको सुझावको सार भने पुरानै नेताहरुले टिकट लिन मरिहत्ते गर्न नहुने थियो । लगातार सांसदको उम्मेदवार बन्न नहुने, राष्ट्रियसभा सदस्यले राजीनामा दिएर उम्मेदवार नबन्नु उचित हुने, समानुपातिक सांसद दोहोरिन नहुने जस्ता तर्कको सार भने नयाँ र युवा अनुहारलाई अवसर दिनुपर्छ भन्ने नै थियो । ‘गठबन्धनको एउटै उद्देश्य एमाले हराउने हो । एमालेले जित्नलाई नागरिकको भावना सम्मान गर्नुपर्छ’ पाण्डेले भनिन्, ‘युवा र नयाँ अनुहारमा आकर्षण देखिएको छ ।’

उनकै जस्तो तर्क अन्य वक्ताहरुले पनि दिएका थिए । देशको माहोल युवा अनुहारतर्फ भएकाले एमालेले पनि त्यस्तो उम्मेदवार चयन गर्ने हिम्मत गर्नुपर्ने सुझाव उनीहरुले दिएका थिए । काठमाडौं महानगर र धरान उपमहानगरमा गैरदलीय उम्मेदवारी दिएर पनि जितेको पृष्ठभूमिमा नेताहरुले उम्मेदवार चयन गर्दा ध्यान दिन सुझाव दिएका थिए ।

बैठकमा घोषणापत्रमाथि पनि सुझाव दिन भनिएको थियो । तर आगाामी १५ भदौसम्म लिखित सुझाव बुझाउनुपर्ने विकल्प पनि रहेकाले बैठकमा नेताहरुले उम्मेदवारको मापदण्डमाथि केन्द्रीत भएका थिए । बैठकको एजेण्डामा नराखिएपनि अध्यक्ष ओलीले चुनावी तालमेलबारे पनि पार्टीको नीति राखेका थिए ।

गठबन्धनविरुद्ध एमाले एक्लै चुनाव लड्न सक्ने हैसियतमा रहेको जानकारी दिदै ओलीले अरु दलसँगको सम्भावित तालमेलबारे खुला रहने बताएका थिए । ‘एमालेले एक्लै लड्न सक्ने हैसियतमा छ, एक्लै लड्छ’ ओलीको भनाइ उदृत गर्दै एक नेताले भने, ‘तर आवश्यक तालमेल गर्नलाई ढोका बन्द भने हुँदैन । तत् तत् जिल्लाको परिस्थितिका आरधारमा जु–सुकैसँग हुन सक्ने तालमेलमा ढोका खुलेर राखेर जानुपर्छ ।’ ओलीले कुन दलसँग तालमेल हुनसक्ने र कुनसँग नहुने केही नबताएको ती नेता बताउँछन् ।

बैठकमा खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लिलाबहादुर थापा, रामदयाल मण्डल, बिन्दा पाण्डे, शान्ता चौधरी, मञ्जु चौधरी, निरु पाल, अग्नि खरेल, कृष्ण राई लगायतले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सुझाव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?