+
+
बालेनको ‘दबंग शैली’ :

नक्सा देखाएर बालेनले भने : पी ए आर के आई एन जी… पार्किङ

सिसाका ढोका खोल्ने काम चलिरहेका बेला अल्फाका आक्रोशित प्रतिनिधिहरुले मेयर साहले कानुन मिचेको, डनगिरी गरेको अरोप लगाए । त्यो सुनेपछि बालेनले नगरप्रहरीलाई डोजर चलाउन थप समय नकुर्न आदेश दिए । डोजरले औषधि पसल चलाइएको टहरा केही मिनेटमै भताभुंग पारिदियो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २१:३६

९ भदौ, काठमाडौं । काठमाडौं महानगरले बुधबार विहान सार्वजनिक रुपमा भनेको थियो -आज बानेश्वरको ‘अल्फा हाउस’मा पनि अनुगमन हुनेछ ।

‘अल्फा हाउस’ले आफ्नो बेसमेन्ट व्यावसायिक प्रयोजनमा लगाएर विभिन्न सेवाका लागि भवनमा आउनेहरुलाई सडक र पेटीमा पार्किङ गराइरहेको जानकारी महानगरलाई थियो ।

मेयर बालेन साह नक्सा विपरीतका संरचनाहरु हटाउन आग्रह गर्दै बुधबार विहान शंखमूलबाट अल्फा हाउस पुग्दा भवन मालिक द्विराज शर्मा शिवाकोटी कुरा गर्न आए । कुराकानीको क्रममा मेयरले नक्सा मागेपछि विवाद भयो ।

भवनको नक्सामा पार्किङ नभएको शिवाकोटीको दावी मान्न तयार नभएका मेयरले नक्सा देखाउन भने । नक्सा ‘महानगरसँगै हुने’ जवाफ पाएपछि उनले सोधे, ‘तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?’

बालेन आक्रोशित भएपछि शिवाकोटीले नक्सा लिएर कानुन व्यवसायीसहित महानगरमै आउने बताए ।

बालेनले नक्सा पासबिना बनेको टहरामा चलिरहेको ‘अल्फा केयर फार्मेसी’को औषधि पसलमा तुरुन्तै ताल्चा लगाउन नगरप्रहरीलाई निर्देशन दिएर त्यहाँबाट हिंडे ।

बालेन हिंडेपछि शिवाकोटीले सञ्चारमाध्यमसँगको कुराकानीमा ‘मेयर हुन् कि डन’ भन्दै प्रश्न गरे । अवैध संरचना नै भए पनि कानुन अनुसार हटाउनुपर्ने उनको तर्क थियो ।

बानेश्वरबाट महानगर पर्किएका बालेनले भवन निर्माण इजाजत विभागलाई अल्फा हाउसको नक्सा खोज्न लगाए । विभागले नक्साको फाइल निकालेर उनलाई निष्कर्ष सुनायो, ‘त्यहाँ भूमिगत पार्किङ छ ।’

महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्य अल्फा हाउसले अवैध संरचना बनाएर प्रयोजन विपरीत पार्किङ प्रयोग गरिरहेको भेटिएको बताउँछन् । ‘त्यसैका आधारमा मेयर साहेबले कारबाही अघि बढाउनुभयो,’ उनले भने ।

बिहीबार दिउँसो ३ बजे महानगर प्रहारी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीको नेतृत्व गरेर मेयर साह अल्फा हाउस पुगे । टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख नायव प्रहरी महानिरीक्षक मिरा चौधरी पनि थिइन् ।

यसपटक बालेन अल्फा हाउसको स्वीकृत नक्सा र त्यससम्बद्ध फाइल बोकेर आएका थिए । सँगै थियो डोजर पनि । बालेनले घरधनीलाई बोलाए, तर कोही आएनन् । त्यसपछि अल्फा हाउसको मूल ढोकाबाट पसेर भूमिगत पार्किङभित्र चलाइएको ‘मेडिकल सेन्टर’का सञ्चालकलाई बाहिर बोलाए ।

त्यसपछि शिवाकोटीका प्रतिनिधिहरु पनि आए । बालेनले नक्सा निकालेर अन्डरग्राउन्ड पार्किङ देखाउँदै सोधे, ‘यो के हो ?’

उनले नक्सामा लेखिएको ‘पार्किङ’ देखाउँदै त्यहाँ उपस्थित पत्रकारहरुलाई पनि भने, ‘पी ए आर के आई एन जी, देख्नु भयो नि ? नक्सामा पार्किङ छ, खिच्नुस् ।’

त्यसपछि बालेनले भूमिगत पार्किङमा चलाइएको मेडिकल सेन्टर हटाउन भने । र, अल्फा हाउसको मूल ढोकासँगै नक्सा विपरीत बनेको टहरामा राखिएको औषधि पसलमा डोजर चलाइहाल्ने जानकारी दिए ।

सुरुमा अल्फाका प्रतिनिधिले २ दिनको समय मागे । बालेनले मानेनन् । उनीहरुले ‘एक दिनमै हटाउँछौं’ भने । तैपनि बालेन डेग चलेनन् ।

तत्कालै डोजर चल्ने देखेपछि सिवाकोटीका प्रतिनिधिहरुले ‘थप कागज आउँदै छ’ भन्दै तर्साउन खोजे । यसअघि यसैगरी समय दिंदा नर्भिक अस्पतालले अदालतबाट अन्तरिम आदेश लिएर आएको थियो । बालेनले तुरुन्तै डोजर चलाउने आदेश नगर प्रहरीलाई दिए ।

डोजर अघि बढेपछि पसल सञ्चालकहरुले औषधि र समान निकाल्न समय मागे । नगर प्रहरीले तुरुन्तै सामान हटाउन भन्दै ताल्चा खोलिदियो । केही मिनटमै ¥याकका औषधिहरु बोरा र कार्टुनहरुमा कोचिए ।

सिसाका ढोका खोल्ने काम चलिरहेका बेला अल्फाका आक्रोशित प्रतिनिधिहरुले मेयर साहले कानुन मिचेको, डनगिरी गरेको अरोप लगाए ।

त्यो सुनेपछि बालेनले नगरप्रहरीलाई डोजर चलाउन थप समय नकुर्न आदेश दिए । डोजरले औषधि पसल चलाइएको टहरा केही मिनेटमै भताभुंग पारिदियो ।

डोजर चल्दा अल्फाका प्रतिनिधिहरु चिच्याइरहे । तर, उनीहरुको चिच्याहट बिलाउने गरी भिडमा नारा लाग्यो– ‘बालेन दाइ, हाइ हाइ !’

त्यो दृश्य हेर्न भेला भएको समुहले मोबाइलमा फोटो/भिडियो खिच्दै अझ उच्च स्वरमा नारा लगाए, नारा लाग्यो– ‘बालेन दाइ, हाइ हाइ !’

नाराबाजीकैबीच बालेन त्यहाँबाट बाटो लाग्दा अल्फाका प्रतिनिधिहरु टहरा भत्काउँदा नफुटेका सिसा तानिरहेका थिए ।

अल्फा हाउसमा डोजर चलिरहँदा शिवाकोटीले पार्किङस्थलको वैधानिकता/व्यावहारिकता पुष्टि गर्न समय पाउनुपर्ने भनेर सामाजिक सञ्जालमा लेखिरहेका थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर बालेनलाई अनुरोध गर्छौं, अराजकता सिर्जना नगरौं । हामी यो देशको जिम्मेवार नागरिक हौं र कहिले पनि देशको कानून उल्लङ्घन गर्दैनौं ।’

तर, पार्किङको सवालमा अल्फा हाउसमा भाडामा बसेकाहरुको पनि चित्त बुझेको रहेनछ । त्यहाँ व्यवसाय गरिरहेका एक व्यवसायीका अनुसार अल्फा हाउसले अन्डरग्राउन्डमा अल्फा केयर चलाउन संरचना बनाइरहेको छ । यसअघि त्यहाँ खोलिएको क्याफे नचलेपछि अल्फा केयर बनाउन लागिरहेछ ।

‘अन्डरग्राउन्डमा पसल भएपछि हाम्रा ग्राहकले पेटीमै सशुल्क पार्किङ गर्नुपरेको छ,’ उनले भने, ‘अब पार्किङ खुल्यो भने सजिलो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?