+
+
स्वप्नदर्शन :

एउटा (न)मिठो सपना !

‘तपाईंलाई गाउँपालिका, प्रदेश र संघबाट गरेर ५ लाख रकम उपलब्ध गराइएको रै’छ। पाउनुभयो?’ मैले भनें, ‘खै ४ लाख त बैंक खातामा आयो। अरु आ’को छैन!’

अर्जुन अपवाद अर्जुन अपवाद
२०७९ भदौ ११ गते १४:४५

काठमाडौंको सार्वजनिक बस चढेर बैंक जाँदै थिएँ। बैंकले आफ्नै उपस्थितिमा कुनै फारम भर्नका लागि बोलाएको थियो। बसमा सिटभरी यात्रु थिए। म उभिनेमा परें। मजस्तै ५-१० जना अरु उभिएर यात्रा गरिरहेका थिए। छेउको सिटमा कोट लगाएका जागिरेजस्तै देखिने मानिस थिए। भाडा तिर्ने बेलामा छेउका सिटका मानिसले म किसान भएको थाहा पाए। उनीहरू सबैले मतिर हेरे।

‘यो सिटमा बस्नु न म उभिन्छु’, उनीहरूमध्ये धेरैले यसो भनेर सिट छाड्न खोजे। ‘पर्दैन नजिकै ओर्लने हो’, मैले भनें।

‘पाको सिट किन छाड्नु!’ एक पुरुष आवाज सुनियो। यो बोल्ने को मान्छे थियो मैले भेउ पाइनँ। अर्कोले भन्यो- ‘जसका कारण हामी बाँचेका छौं उसलाई त पहिलो प्राथमिकता दिनैपर्‍यो नि!’

छेउमा अर्को भलाद्मीले भन्यो- ‘किसानलाई सम्मान गर्न नसक्नेले अरु कसैलाई पनि सम्मान गर्न सक्दैन!’

बैंकमा पुग्दा हाकिम र म सँगसँगै भएछौं। हाकिमलाई कर्मचारीले नमस्कार गरे। उसले मलाई नमस्कार गर्‍यो। हाकिमले नमस्कार गरेपछि अरु कर्मचारीले पनि मलाई नमस्कार गरे। हाकिमसँग कुरा भएपछि म मेरो कामका लागि ऋण शाखामा छिरें। ऋण शाखामा तत्कालै काम भयो।

शाखामा ४-५ जना ऋणका लागि आएका रहेछन्। कर्मचारीले उनीहरूलाई भने- ‘तपाईंहरूको फाइल केन्द्र पठाएको छु। त्यहाँबाट स्वीकृत भएर आएपछि ऋणको प्रकृया सुरू हुन्छ।’ एउटाले मलाई हेरेर भन्यो- ‘यो कम ब्याजदरमा लगानी गर्ने ऋण यतैबाट हुने, बढी ब्याज तिर्छु भन्दा पनि हामीले ऋण नपाउने ?’ उनीहरूको कुरामा म केही बोलिनँ।

‘तपाईंको काम २/४ दिन पर जाँदा त्यति फरक पर्दैन। कृषिमा त मिनेट मिनेटकै कुरा छ त !’ ढोकाबाट निस्कँदै गर्दा ऋण शाखाका कर्मचारीको भनाइ मेरो कानमा पर्यो।

बसको सिटमा बसेर फेसबुक खोलें। गाउँपालिकाको कृषि शाखा प्रमुखले अफलाइन म्यासेज गरेको रै’छ- ‘तपाईंको कागतीमा नयाँ खालको रोग आएको जस्तो छ। हामी तपाईंको बगैंचामा आउन लागेको। कता हुनुहुन्छ ?’

उसको सन्देश पढ्दै गर्दा सम्झिएँ। केही दिनअघि कागती काँटछाँट गरेको फोटो फेसबुकमा राखेको थिएँ। त्यही देखेर उसले चासो राखेको रै’छ। अहिले कृषि शाखा मात्रै हैन जनप्रतिनिधि पनि कृषिमा चासो राख्ने छन् भन्ने अस्ति छिमेकीले सुनाएका थिए। अध्यक्ष किसान मोटाए पालिकाको भलो हुन्छ भन्ठान्छन् रे!

उनको कार्यकक्षमा ‘योजना बनाउँदा राजाको तस्बिर मात्र हेरेर होइन हलो जोतिरहेको किसान हेरेर योजना बनाउ’ भन्ने वाक्य ठूला अक्षरमा हातैले लेखेर टाँसिएको थियो रे! त्यसैको ठीक मुनि झुस्स दाह्री पालेका कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको तस्बिर पनि थियो रे!

उपाध्यक्ष त झन् किसानकै हितका लागि भनेर जनविद्रोह गरेका व्यक्ति। किसान हितका लागि उनले उपाध्यक्ष कृषक प्रोत्साहन कार्यक्रम लागू गरेका छन्। किसानकोमा प्रायः पुगेकै हुन्छन्। समस्या सुन्छन्। समाधानको पहल गर्छन्। उनले गर्ने भाषणमा थेगो नै छ- हामी श्रमजीवी वर्गको हितमा काम गर्ने मान्छे। हाम्रो देशको विकासका लागि किसानको अवस्था सुधार पहिलो शर्त हो।

फोन टिर्र गर्‍यो। उठाएँ। कृषि शाखाकै कर्मचारीको रै’छ। अहिले बजार पठाउने के के उत्पादन तयारी भो भनेर सोध्न रै’छ। मैले आफ्ना बारीमा फलाएका अन्न तरकारीको विवरण टिपाएँ। एकैछिन पछि घरबाट फोन आयो। उत्पादन लिने टोली त बारीमै पो पुगिसकेछ।

अस्पतालमा जानुपर्ने। गाउँकै भाइ बिरामी परेर भर्ना भएको ४ दिन भो। ‘किसान परिचयपत्र देखाएपछि त उपचार मात्रै हैन औषधिमा पनि पो छुट पाइने रहेछ। अझ बिरामी र कुरूवालाई खाना पनि व्यवस्था।’

भाइले मलाई अस्पतालका बारेमा सुनाउँदै थियो- ‘राज्यले किसानलाई यहाँभन्दा के सुविधा दिनु र!’ छेउमा रहेको बेडमा अवकाशप्राप्त सरकारी कर्मचारी रै’छन्। उनले भन्दै थिए– ‘यी भाइलाई डाक्टरले गरेको व्यवहार देख्ला मलाई त बेकार सरकारी जागिर खाइएछ भन्ने पो लाग्यो। अब किसानलाई पनि हरेक क्षेत्रमा सेवासुविधा। पेन्सन पनि। इज्जत पनि। पैसा मात्रै सबै थोक त कहाँ रहेछ र !’

गाउँमा सामुदायिक स्वास्थ्य सहजकर्ता छन्। उनीहरू किसानकोमा महिनामा एक पटक अनिवार्य रूपमा पुग्छन्। किसान र उसको परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था जाँच गर्छन्। अनलाइनमा रेकर्ड राखिदिन्छन्। तिनै रेकर्डका आधारमा भाइलाई अलिक गम्भीर खालको स्वास्थ्य समस्या छ कि भनेर काठमाडौंले बोलाएको थियो। अहिलेसम्मको रिपोर्टमा त त्यस्तो समस्या देखिएको रहेनछ।

सरकारी कर्मचारी भेट्न अर्को कुनै कर्मचारी नै आएको रै’छ। कुरूवा र उ पनि गाउँका बारे कुरा गरिरहेका थिए। म छेउमा बसेर सुनिरहेको थिएँ।

‘…मिचाहा वनमाराले सबैतिर समस्या दिएको थियो। धेरै थरी मान्छे आए। यसलाई उखेलेर ब्रिकेट बनाउने र गड्यौला मल बनाउने काम गाउँमा चलिरहेको छ। महिनाको २/४ हजार रूपैयाँ कम्तीमा सबै घरले कमाएका छन्। वनमारा उखेलेको ठाउँमा रोप्न सरकारले पोषिलो जातको घाँसको बीउ दिएको छ। यो घाँस हुर्किएपछि गाउँमा गाईभैंसी पालेर दूध, मल सबै बिक्री गर्न सकिन्छ। अझै भन्नुपर्दा यता फर्के पनि पैसा, उता फर्के पनि पैसा!

सामुदायिक वनमा जति रूख हुर्काउन सक्यो, त्यति धेरै कार्बन सञ्चित गरेको भनेर पैसा आउँछ। आफ्नो खेतबारीमा हुर्काएका फलफूलका रूखको पनि गन्ती गरेर पैसा आउँछ। फलफूल पाक्ने बेलामा व्यापारी आफैं खेतबारीमा आउँछन्। त्यसमा सरकारी कर्मचारी पनि आउँछन् कसले कति परिणाममा बिक्री गर्‍यो भनेर।

सरकारले पनि उत्पादनका आधारमा प्रोत्साहन रकम दिन्छ नि! तपाईंलाई खेतबारीमा आउँदा दु:ख भयो होला भनेको कर्मचारीले तपाईंले यसरी खेती गरेको भएर न मैले काम पाएको हुँ। कम्तीमा महिनामा एकपटक त आउनैपर्ने, भ्याइएन नरिसाउनु है …’

मनमा आयो। मेरा गाउँमा मात्रै यस्तो होला भनेको त देशैभरि पो यस्तो अवस्था रै’छ त!

छेउको  मा छात्रवृत्तिमा आवेदन दिने बारेको सूचना अस्पतालको फार्मेसीमा टाँसिएको रै’छ। किसान परिवारलाई विशेष सहुलियत दिइएको रै’छ। छात्रवृत्ति तथा छात्रावास सुविधामा पहिलो प्राथमिकतामा किसानका छोराछोरी पर्ने रहेछन्। विद्यालयमा कृषि विषय पढाइ हुने रै’छ। कृषि अध्ययन गर्ने विद्यार्थीले मासिक रूपमा पकेट खर्च पनि पाउने रै’छन्। फार्मेसीमा काम गर्ने भाइले भन्यो गाउँबाट धेरै पुस्ताअघि बाउबाजे सहर छिरेछन्। अहिले पनि किसान बनौं बनौं लाग्छ। २/४ वर्ष काम गरेपछि माटै खोस्रने हो।

काठमाडौं आएका बेलामा यसो सिंहदरबार छिर्नुपर्ने। म सिंहदरबारतिर लागें। गेटमा पास लिनका लागि थुप्रै मानिस लाइनमा थिए। एकजना सुरक्षाकर्मीलाई मैले किसान परिचयपत्र देखाएँ। उनले लाइन नबसी गेटबाट भित्र पुर्‍याए। भित्र छिर्ने बेलामा एकजनाले मलाई सोधिन्- ‘तपाईं त ठूलो मान्छे पो हुनुहुँदो रै’छ। म लाइन बसेको ४ घण्टामा बल्ल पास आयो। तपाईं त भर्खरै आउनुभएको हैन।’

‘के ठूलो मान्छे हुनु र! एक सामान्य किसान हुँ। राजधानी आएको बेलामा मन्त्रालयमा पसौं भन्ने लागेर।’

‘अँ है किसानलाई प्राथमिकता दिनु त राम्रो कुरा हो नि!’

‘उहिले आफूले बेचेको उखुको पैसा नपाएर हाम्रा बाजेहरू माइतीघरमा धर्ना नै बसेका रै’छन्’ मलाई सुरुमा प्रश्न सोध्नेको पछाडि कर्मचारी पोशाकमा रहेकी महिलाले थपिन्। मैले केही बोलिनँ।

भित्र गएर कृषि मन्त्रालय खोजी गरें। एकजना सुरक्षाकर्मीले मन्त्रालय गेटमा पुर्‍याए। उनले सोधे- ‘मन्त्रीसँग समय लिनुभा’छ। मैले छैन भन्ने भावमा टाउको हल्लाएँ। त्यहाँ भएका कर्मचारीलाई भने उहाँ गाउँबाट आउनुभारै’छ। मन्त्रीज्यूलाई भेट्न खोज्नुभा’छ। खबर गरिदिनुपर्‍यो। हुन्छ म अहिले खबर गरिहाल्छु। मन्त्रीज्यू अहिले पनि किसानहरूसँग छलफल गरिरहनुभएको छ। उसले यति जवाफ दियो र मलाई कुर्सीमा बस्न लगाएर भित्र पस्यो। सुरक्षाकर्मी पनि बस्दै गर्नुहोला भनेर फर्कियो।

कुर्सीमा बस्दै गर्दा मैले भित्तातर्फ विभिन्न क्षेत्रमा लागेका किसानहरूको तस्बिर देखें। हिमालमा पशुपालन, पहाडमा फलफूल खेती र तराईमा अन्न उत्पादन गर्दै गरेका किसानहरूको तस्बिरले भित्ता लगभग सबै सजाइएको थियो।

कर्मचारी फर्किए र मसँग कृषक परिचयपत्र मागे। मैले परिचयपत्र दिएपछि उनले कम्प्युटरमा हेरे। ‘तपाइँले त १ हजार बोट सुन्तला र १५ सय बोट कागती लगाउनुभारै’छ। तरकारी खेती पनि गर्नु भारै’छ। खेतीपातीमा केही समस्या छ कि ?’

म चकित परें। आफैं‌लाई पो थाहा थिएन कति बोट सुन्तला र कागती ? सरकारलाई त सबै पो था रै’छ त!

‘अहिले छैन। २/४ वर्षअघि चाहिं फलमा औंसा पार्ने समस्या थियो। प्राविधिकहरू पुगेर उपचारको विधि सिकाउनुभो। त्यसपछि त यो समस्या देखिएको छैन।’

‘तपाईंलाई गाउँपालिका, प्रदेश र संघबाट गरेर ५ लाख रकम उपलब्ध गराइएको रै’छ। पाउनुभयो ?’ मैले भनें, ‘खै ४ लाख त बैंक खातामा आयो। अरु आ’को छैन।’

मेरो जवाफपछि कर्मचारीले भने त्यो प्रक्रियामा रहेछ। केही दिनमा आउँछ। मलाई लाग्यो- मेरा बारेमा त सरकार एक/एक जानकारी लिएर पो बसेको रहेछ त! पहिला त सरकारी पैसा लिन हामी खेतबारीमा काम गर्नेलाई असाध्यै गाह्रो पो थियो त। काम गर्नेले त कागज पुर्‍याउन गाह्रै पो हुने!

‘चिया लिनुहुन्छ ?’ मैले नलिने बताएँ। ‘तातोपानी लिनुस् न।’ उनले तातोपानीको गिलास मेरा अगाडि राखिदिए। मैले तातोपानी खाँदै गर्दा अर्का किसान आइपुगे। उनले जंगली जनावरले खेती नष्ट गरिदिएको गुनासो गरे।

कर्मचारीले उनको परिचयपत्र नम्बर हेरे। कम्प्युटर हेरेर कर्मचारीले भने- ‘तपाईंको जग्गा जंगलको छेउमा रहेछ। त्यसमा जडीबुटी खेती गर्नुस्। यसको बजारमा माग राम्रो छ। हामी बिरुवा उपलब्ध गराउनका लागि बागवानी केन्द्रमा तपाईंको नाम र नम्बर टिपाइदिउँला।’

कुरा गर्दागर्दै उनले मलाई भित्रबाट बोलाएको छ भन्ने जानकारी दिए। उनले भर्खरै आएको किसानलाई बस्दै गर्नुस् भनेर मलाई भित्र लिएर गए। त्यहाँ मन्त्री किसानहरूसँग उनीहरूका समस्या सुन्दै थिए। मलाई देखाइएको कुर्सीमा म बसें। मन्त्रीले भने- ‘मैले तपाईंहरूका धेरै समस्या सुनें। केही त मन्त्रालय तहमा नै समाधान गर्न सकिने रै’छन्। यिनका बारेमा तत्कालै निर्णय गरिनेछ। यस बैठकमा मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि निम्ता गरेको छु। उहाँले ३० मिनेट समय दिने भन्नुभएको छ।’

मन्त्री बोल्दै गर्दा रोकिए। प्रधानमन्त्री बैठक कक्षमा छिरे। मन्त्रीले किसानहरूसँग भएको छलफलका महत्वपूर्ण बुँदाहरू नोट गरेका रहेछन्। पशु बीमा, बाली बीमा, कृषि उपज बजारीकरण, वन्यजन्तु आतंक, कृषक निवृत्तिभरण लगायत विषयमा उनले प्रधानमन्त्रीलाई जानकारी गराए। प्रधानमन्त्रीले मन्त्रीका सबै कुरा सुनिसकेपछि किसानहरूसँग केही थप कुरा छ कि भनेर सोधे। एक जनाले कृषि औजारहरूका बारेमा कुराकानी गरे। अरुले केही कुरा गरेनन्।

प्रधानमन्त्रीले आफ्नो भनाइ राख्दै बोल्न थाले।

‘आज म ४-५ ओटा कार्यक्रमहरूलाई रद्द गरेर यहाँ उपस्थित भएको छु। यो सरकार कृषि क्षेत्र र सोमा संलग्न किसानहरूको हितका लागि प्रतिबद्ध छ। किसान हाम्रो देशका पहिलो आधार हुन्। किसानहरूको अवस्था सुधार्न सकिए अरु पक्षको अवस्था सुध्रन्छ। मैले तपाईंहरूका कुरा सबै टिपेको छु। अब गएर मुख्यसचिवसँग छलफल गरेर मन्त्रिपरिषदबाट हुने कुराहरू आगामी बैठकमा नै पारित हुनेछन्। केही कुराहरू संसदले पारित गर्नुपर्ने देखियो। यसमा पनि सरकारले संसदमा प्रस्ताव लैजानेछ। विपक्षी दल पनि कृषि क्षेत्रमा किसानलाई हित गर्ने पक्षमा नै छ। हामी यसमा मिलेर काम गर्नेछौं।’

कुर्सीमा बसेर कुरा सुन्दै थिएँ। कसैले पाखुरामा समात्यो र तान्यो। म झसङ्ग भएँ। मन्त्रालयको बैठक कक्षबाट कटेरोमा पुगें। वरपर त बाँदरै बाँदर!

रामशरण मेरो पाखुरा तान्दै रहेछ। बिउँझिंदा ऊ भन्दै थियो- ‘दाइ बाँदरले मकै सक्यो त! जाउँ न। यसो हेरें बाँदरको फौज मकैबारीमा पसेर बाली नष्ट पारिसकेछ। ऊ र म सँगै गएर बाँदर धपायौं।

रामशरण मकै रुङ्नका लागि बारीमा नै कटेरो बनाएर बसेको थियो। मकै छरेदेखि नै घरको एकजनाले कटेरो छाडेका छैनन्। म बिहानै फोटो खिच्दै उसको कटेरोमा आएको थिएँ। उसले फेरि भन्यो- ‘दाइ त यसो पल्टिनु भा’थ्यो। भुसुक्कै!’

उसले दिग्दारी स्वरमा भन्यो, ‘खै खेती गरी खान सकिने भएन दाइ। न मल–बीउ पाइन्छ, न कसैको साथ सहयोग ! बल्लतल्ल कमाइ लगायो, बाँदर, दुम्सी, मृग केबाट मात्रै जोगाउनु ? यो खेतीपाती सजिलो बनाउन केही गर्न सकिंदैन त ?’

गर्न चाहे त नसकिने के थियो र! कृषि कर्म र किसान कहाँ हाम्रो राज्यको प्राथमिकतामा छन् र ? मलाई त भर्खरै देखेको सपना नै सुनाइदिन मन थियो। त्यसो गर्न सकिनँ। उसलाई जिस्क्याएको जस्तो हुने भो।

सुनाउन नसके पनि लेख्न त होला। लेखे पढिएला। आखिर गम्भीर दुःखमा पर्दा पनि अगाडि बढाउन सहयोग गर्ने भनेको त सपना न हो। सपना देख्न छाडेका दिन त मानव आखिर मानव रहला र ? मानिसको यो दौडधुप पनि कहाँ जारी रहला र! असाध्यै कष्टकर अवस्थामा पनि अत्यन्तै मिठा सपना देखिन्छन् पो कसरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?