+
+

सडकमै बसपार्क : यात्रुको महाविजोग

काठमाडौं महानगरपालिकाले वैकल्पिक बसपार्कको व्यवस्था गर्न नसक्दा कोटेश्वरपूर्व भएर चल्ने लामो दुरीका सयौं गाडीले सडकमै बसपार्क बनाएपछि कोटेश्वर क्षेत्रको ट्राफिक व्यवस्था भद्रगोल भएको छ । जसका कारण यात्रु र सार्वजनिक सवारीले थप सास्ती व्यहोर्नुपरेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ १४ गते १४:०६

१४ भदौ, काठमाडौं । छोरीको उपचार गर्न दोलखाबाट गत बिहीबार काठमाडौं हिंडेका आङनिमा शेर्पालाई बसले ‘अगाडि रोक्न मिल्दैन’ भन्दै जडिबुटीमा ओरालिदियो । चरिकोटमा टिकट काट्दा चाहिं बसका स्टाफले नयाँ बानेश्वरमा पुर्‍याउँछ भनिएको थियो ।

‘पर रोक्न मिल्दैन, यहीं ओर्लिनु भनेपछि ओर्लिनुपर्‍यो,’ सडक पेटीमा बिरामी छोरीका साथ अलमलमा परेका शेर्पाले भने, ‘अब कसरी कोटेश्वर पुर्‍याउने ? सरकार भएको देश भए बिरामी लिएर आधा बाटोमा ओर्लिन पर्दैनथ्यो होला ।’

शेर्पा अस्पतालमा टिकट काट्ने सयम घर्किने तनावमा थिए । उनले ट्याक्सीलाई रोकेर अस्पताल पुग्न खोजे । तर, ट्याक्सी चालकले ५ सय रुपैयाँ नदिई डेग नचल्ने बताएपछि शेर्पा बिरामी छोरीलाई डोर्‍याउँदै कोटेश्वरतर्फ लम्किए ।

आङनिमा शेर्पा

शेर्पा बाबु-छोरी जडिबुटीमा दैनिक भेटिने सयौं यात्रुका प्रतिनिधि मात्र हुन् । जडिबुटी–कोटेश्वर खण्डमा लामो यात्रा गरेर आएका सयौं यसैगरी झोला बोकेर, बालबच्चा च्यापेर हिंडिरहेका भेटिन्छन् ।

कोटेश्वरपूर्व जाने सवारी साधनको बसपार्क नभएकाले यस्तो अवस्था आएको हो । पुरानो बसपार्कमा काठमाडौं महानगरले २०७२ सालमा ‘काठमाडौं टावर’ बनाउन भन्दै खुलामञ्चको एक भागमा बसपार्क सारेको थियो । मनोज भेटवाल सञ्चालक रहेको जलेश्वर स्वच्छन्द बिकोइ जेभीलाई महानगरले बसपार्क नै जिम्मा लगाएर टावर बनाउन छाडिदिएको थियो ।

समयमै टावर नबनेपछि भूमिगत बस टर्मिनल बनाएर २ वर्षभित्रै बसपार्क सार्ने योजना सफल भएन । खुलामञ्चको अतिक्रमण भएको भन्दै विरोध भएपछि त्यहाँबाट बसपार्क हट्यो ।

त्यसपछि कोटेश्वरपूर्व चल्ने बसहरुले बसपार्क पाएनन् । यात्रु नपाइने भन्दै बालाजुको नयाँ बसपार्कमा बसपार्क सार्न व्यवसायी सहमत भएनन् ।

काठमाडौं महानगरपालिकाले वैकल्पिक बसपार्क खोज्न नै चाहेन । कोटेश्वरपूर्व लामो दुरीमा दैनिक चल्ने सयौं गाडीले सडकमै बसपार्क बनाएपछि कोटेश्वर क्षेत्रको ट्राफिक व्यवस्था थप भद्रगोल भएको छ । यात्रु र सार्वजनिक सवारीले थप सास्ती व्यहोर्नुपरेको छ ।

सिन्धुलीको भिमान पुग्न सन्तमाया लामा ठूलो जेब्रा झोलासहित कोटेश्वरबाट जडिबुटीतर्फ जाने सडकमा माइक्रो कुरेर बसिरहेकी थिइन् । मुटु रोगको समस्या भएर गंगालालमा उपचार गराउन आएकी तामाङलाई काठमाडौं आएपछि सबैभन्दा धेरै सकस बस चढ्न र ओर्लिने समयमा नै भयो । ‘कोटेश्वरमा बस नपाए चढ्नका लागि जडिबुटीमा पुग्नुपर्छ, प्रहरीले यहाँ बस रोक्न पनि नदिने रहेछ, बिरामी भएपनि रोडमै बस कुर्नुपर्छ,’ उनी भन्छिन्, ‘किन यस्तो बिजोक गराएको होला ।’

सिन्धुपाल्चोकको मेलम्ची जानकै लागि बस कुरेर बसेका विजय थापा पनि बसपार्क नहुँदा सडकमै चरम समस्या भोग्नु परेको बताउँछन् । ‘काठमाडौं छिरेपछि तनाव हुन्छ, कहिले बसले जडिबुटी पुलमै ओराल्दिन्छ, कहिले बालकुमारीतर्फ पर लगेर छोड्दिन्छ,’ उनले भने, ‘यात्रुले विरोध गरे ड्राइभरले ट्राफिकले काट्ने चिटको पैसा दिनुस् भनेर थर्काउँछ ।’

विजय थापा

उनकाअनुसार अरनिको र बीपी राजमार्गसहित अन्य ग्रामीण भेगबाट आउने बसका काउन्टरहरुले कोटेश्वरसम्म पुग्ने भनेर टिकट काटेका हुन्छन् । तर, जडिबुटीमै ओराल्दिएर हुँइकिन्छन् ।

बुधबार नै जडिबुटीमा बर्दिबासको यात्रु चढाइरहेका माइक्रोबस चालक सुमन थापा बाध्य भएर सडकबाट यात्रु चढाउनु परिरहेको बताउँछन् । कोटेश्वरमा यात्रु कुरिरहेको भएपनि रोक्न नमिल्ने भन्दै उनले बसपार्क नहुँदा बस कहाँ रोक्ने र यात्रु कहाँबाट चढाउने भन्ने निश्चित नै नहुने बताए । ‘सडकमै यात्रु ओराल्न र सडकबाटै चढाउनुपर्छ,’ उनी भन्छन्, ‘ट्राफिकले खेदिहाल्छ, दुर्घटनाको पनि उत्तिकै डर छ ।’

गत असारमा उनको गाडीबाट ओर्लिएकी एक बालिकालाई स्कुटरले ठक्कर दिएको थियो । प्रहरी नै आएर विवाद मिलाउन परेको उनले सुनाए ।

बसका चालक कृष्णप्रसाद पाठक ।

बीपी राजमार्गमा चल्ने बसका कृष्णप्रसाद पाठकले ट्राफिक नियमको कारण सडकमा रोक्न नमिल्ने भएर अपायक स्थानमा यात्रु झार्न परेको सुनाउँछन् । ‘जडिबुटीदेखि कोटेश्वरसम्म बिहानको समयमा त हिंड्ने मान्छेको भीड नै लाग्छ,’ उनले भने, ‘कोटेश्वरमा रोक्दा लखेटिहाल्छन्, यहाँ आएर कुर्दा यात्रुलाई पनि सास्ती छ, हामीलाई पनि सकस छ ।’ बसपार्क बनाउन सरकारले पहल नगर्दा सबैले मार खेप्नु परेको उनले बताए ।

जाम र जोखिम दुवै : ट्राफिक प्रवक्ता

ट्राफिक प्रहरी पनि यो समस्याले वाक्कदिक्क भएको छ । कोटेश्वरपूर्व चल्ने गाडीहरुको लागि पार्किङको व्यवस्था नहुँदा कोटेश्वर र जडिबुटी क्षेत्रमा ट्राफिक जामको समस्या बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार सडकमै बसहरु पार्किङ गर्नुपर्दा ट्राफिक व्यवस्थापनमा समस्या छ । ‘बिहान कोटेश्वरको चोकदेखि गाडीको लाम लाग्छ, गाडी जाम हुन थालेपछि एउटा चोकको असर अर्को चोकसम्म पर्छ,’ भट्ट भन्छन्, ‘त्यहाँको असर उपत्यकाका सबै चोकसम्म पुग्छ ।’

कोटेश्वर–जडिबुटी क्षेत्रमा पनि ‘पिक एण्ड ड्रप’ (यात्रु ओराल्ने, चढाउने र गुडिहाल्ने) नियम लागू छ । तर, बस रोकेर यात्रु कुर्ने सुविधा नहुँदा यातायात व्यवसायीले ट्राफिक प्रहरीसँग गुनासो गर्ने उनी बताउँछन् । ‘यहाँ चालक र यातायात व्यवसायीहरु छलफल गर्न आइरहन्छन्, बसपार्क चाहियो भन्नुहुन्छ,’ उनी भन्छन्, ‘यो विषयमा ट्राफिक प्रहरीले स्थानीय सरकारसँग पनि छलफल गरिरहेको छ ।’ उनका अनुसार यातायात व्यवसायीले कोटेश्वर, जडिबुटी क्षेत्रमा रहेको सार्वजनिक जग्गाहरुमा बसपार्क बनाउन माग गरिरहेका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता भट्ट सडकमै धेरै यात्रुको भिड लाग्ने र चढ्ने तथा ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेको बताउँछन् । समस्या जटिल बन्दै गएको भन्दै उनले स्थायी बसपार्क खोज्न जरुरी देखिएको बताए ।

यात्रुको दुःख कसैले देखेनन् : व्यवसायी

यातायात व्यवसायीहरु सकडमा यात्रुले भोगिरहेको कष्टको महसुस राज्यले गर्न नसकेको बताउँछन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बसपार्क पनि नदिने र सडकमा राम्रो व्यवस्थापन नगर्ने सरकारी कार्यशैलीले यातायात व्यवसायी दोहोरो मारमा परिरहेको बताउँछन् ।

‘जडिबुटी क्षेत्रका सडकमा बिहान त यात्रुको कोलाहलकै अवस्था हुन्छ । खोला छेउमा, सडक छेउमा बालबच्चा रोइरहेका हुन्छन्, बुढाबुढी मान्छे हिंड्न नसकेर सडकमै चिल्लीबिल्ली देखिन्छ ।’ धेरै गाडीहरु यो बाटो भएर छुट्ने भन्दै उनले संवेदनशील विषयमा सरकार उदासिन देखिएको आरोप लगाए । यातायात व्यवसायीले तीन तहकै सरकारलाई तिरिरहेको भन्दै उनले व्यवस्थापनमा कसैको ध्यान नगएको बताए ।

‘कोटेश्वरमा रोक्न मिल्दैन, जडिबुटीमा पार्किङ गरेको सवारी साधनलाई पनि ट्राफिक प्रहरीले कारबाही गर्छ,’ उनी भन्छन्, ‘सडकमा नराखे अन्त राख्ने ठाउँ छैन, सडकमा राखे ट्राफिकले लखेटेको लखेट्यै गर्छ ।’

सवारी चालकहरुले ठूलो मानसिक तनाव व्यहोर्नु परिरहेको भन्दै यात्रु माथि पनि अत्याचार भइरहेको बताए ।

काठमाडौं महानगरपालिका भने यो विषय सडक विभागले हेर्ने गरेको भन्दै पन्छिन्छ । काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा महानगरले संघीय सरकारको काममा हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । ‘बसपार्क हाम्रो चासोको विषय हैन’ उनी भन्छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?