+
+

१०० मिटर सडक बनाउन नसक्दा बागलुङको बसपार्क प्रयोगविहीन

रासस रासस
२०८० मंसिर २० गते १३:५५

२० मङ्सिर, ढोरपाटन (बागलुङ) । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन ।

नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण चुत्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माणसम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छभने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ ।

पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भएको थियो । पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास कोषले २०७४ मा  नौ करोड चार लाख ३९ हजार रुपैयाँ ऋण नगरपालिकालाई दिएको थियो ।

दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । बसपार्क जोड्न एक सय मिटर सडक बनाउनुपर्छ । बसपार्क सञ्चालनमा आए सटर भाडामा दिएर राम्रो आम्दानी गर्न सकिने भए पनि दुई वर्षदेखि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ ।

सुरुको लागत रकम सात करोड ६६ लाख ९९ हजार ७४ रहे पनि पहिलो ‘भेरियसन’बाट एक करोड १३ लाख ६० हजार पाँच सय २० रुपैयाँ थप भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आठ करोड ८० लाख ६४ हजार एक सय ९८ रुपैयाँको बिल पेस गरेको थियो । कम्पनीले स्वीकृत गरिएको भन्दा ४० लाख ७० हजार नौ सय ७४  रुपैयाँको बिल दिए पनि बागलुङ नगरपालिकाले हालसम्म आठ करोड ८३ लाख एक हजार नौ सय ९४  रुपैयाँ भुक्तानी गरिसकेको छ ।

नगर विकाष कोषबाट लिएको ऋण र नगरपालिकाको आफ्नै स्रोतबाट गरी सो रकम भुक्तानी गरिएको छ । नगरपालिकाले नगर विकाष कोषलाई अझै रु छ करोड ४३ लाख सात हजार तीन सय १५ भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनका लागि प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताए । स्थानीय र जग्गादातासँग सहमति जुटाएर पहुँचमार्ग व्यवस्थित गरी सञ्चालन गरिने उनको भनाइ छ ।

बसपार्क निर्माणका लागि स्थानीय २२ परिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ ।

जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरपालिकाले ती पूर्वाधार बनाई दिनुपर्ने समितिका अध्यक्ष सुभासचन्द्र राजभण्डारीले बताए ।

नगरपालिकाले आफूहरुसँग गरेको १२ बुँदे समझदारीलाई पालिकाले कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन् । बसपार्कमा ५० ठूला बस र १० साना बस अट्ने क्षमता छ । सो बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायत संरचना बनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?