+
+

टी-२० आईमा सर्वाधिक विकेट लिनेमा सन्दीप शीर्ष १० भित्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:०१

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन् ।

केन्या भ्रमणमा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका हुन् ।

सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडन राखेका छन् भने एक हजार ६८ रन खर्चेका छन् । उनको इकोनोमी ६.४० र औषत १२.५६ रहेको छ । सन्दीपले एक पटक एकै खेलमा ५ विकेट र दुई पटक एकै खेलमा ४ विकेट लिएका छन् ।

केन्या विरुद्धको चौथो खेलमा सन्दीपले टी-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन (५/९) गरेका थिए । उनले केन्यामा पाँच मध्ये खेलमा विकेट लिँदा एक खेलमा विकेटविहीन बने । सन्दीप केन्यामा सम्पन्न टी-२० शृंखलाको म्यान अफ दि सिरिज समेत बने ।

पाकिस्तानका दुई पूर्व बलर उमर गुल र साइद अजमलले पनि ८५ विकेट नै लिएका छन् । तर उनीहरु सन्दीप भन्दा पछि छन् । टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान शकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा चार खेलाडीले एक सय भन्दा बढी विकेट लिएका छन् ।

शकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राती अफगानिस्तान विरुद्ध खेल्दै एक सय खेल समेत पूरा गरे । उनले १२२ विकेट लिइसकेका छन् ।

बंगलादेश विरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन् । न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन् ।

न्युजल्याण्डका इश सोधीले ९९, पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन् ।

सन्दीप भन्दा अघि रहेका मालिंगा र अफ्रिदीले सन्यास लिइसकेका छन् । अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी२० मा १०० विकेट लिएका छन् । उनले ५३ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए भने यसका लागि ६ वर्ष लागेको थियो । सन्दीपले अब ८ खेलमा १५ विकेट लिएमा टी २० अन्तर्राष्ट्रियमा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?