+
+

सन्दीप राष्ट्रिय टिमबाट अलग !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ८:५०

२६ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दैछ ।

सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन ।

सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।

क्यानका एक पदाधिकारीको दाबी अनुसार पुनरावेदनको फैसला नआउन्जेल सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट अलग गर्ने निर्णय हुनेछ । ‘सन्दीपको सम्बन्धमा क्यानले आज स्टेटमेन्ट दिन्छ’ उनले भने, ‘क्यानले कानुन बमोजिम नै गर्छ र नैतिकताको कुरा पनि छ ।’

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर लामिछानेलाई विदेश जान भने रोक लगाइएको थियो ।

लिग टुको खेलका लागि विदेश जान अनुमति माग्दै सन्दीप सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २५ पुसमा भने जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?