+
+

धन्यवाद अदालत, धन्यवाद प्रहरी

सन्दीप पक्षले काठमाडौं अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाउ दिइसकेको छ । बम्जनको पक्षमा प्रहरी कार्यालय अगाडि भिडभाड गर्ने जमात पनि सानो छैन । तर एकदिनको अघिपछिमा आएका अदालती आदेश र बम्जनको गिरफ्तारी आशाका झिल्का पक्कै हुन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० पुष २५ गते २०:१३

सन्दीप लामिछाने र रामबहादुर बम्जन– दुई अलग क्षेत्रमा चिनिएका शक्तिशाली यतिबेला कानुनको फन्दामा छन् । क्रिकेटबाट नाम कमाएका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय सुनाएको छ ।

यसैगरी निश्चित धर्मविशेषको पहिचानको आडमा हिंसा, बालयौन दूराचार, ठगीका शृंखलाबद्ध काण्ड रचेको आरोपमा अनुसन्धानका लागि बम्जन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको थुनामा छन् ।

यसले नेपालको न्यायालय र प्रहरीजस्ता राज्यका दुई महत्वपूर्ण संस्थाको साख बढोत्तरी गर्न सघाउने छ ।

यद्यपि लामिछानेको निकट पक्षले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाउ दिइसकेको छ । बम्जनको पक्षमा प्रहरी कार्यालय अगाडि भिडभाड गर्ने जमात पनि सानो छैन । राज्यको छानबिन तथा न्याय प्रणालीलाई भावनात्मक रुपमा बरालेर चुनौती दिने कोसिसहरु यसपछि पनि  हुँदै जान सक्छन् । तर एकदिनको अघिपछिमा आएका अदालती आदेश र बम्जनको गिरफ्तारी आशाका झिल्का पक्कै हुन् ।

बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिँदै गर्दा वकिलहरुले उनी सार्वजनिक व्यक्तित्व भएकाले यो कसूरमा हुने अधिकतम सजाय १० वर्ष कैद हुनुपर्ने जिकिर गरेका थिए ।

पीडितको पक्षमा वकालत गर्नेहरुले गौशाला २६ नाबालिका नै रहेको प्रष्ट आधार हुँदा पनि न्यायालयका अधिकारीहरु सेलेब्रिटी क्रिकेटरप्रतिको आम रुझानसँग त्रस्त रहेको सूचनाहरु दिने गरेका थिए । त्यसैकारण बलात्कार मुद्दामा हुनुपर्ने फास्टट्रयाक सुनुवाई पनि लम्बिएर १८ महिना लम्बिनपुग्यो ।  यतिबेला सन्दीपलाई कैद गरेर कारबाही चलाउनुपर्ने अवस्था रहे पनि समर्थकहरुले उनी खराब मानिस नरहेको, देश छाडेर नभाग्ने भन्दै बचाउ गर्ने गरेका छन् ।

कतिपय सार्वजनिक व्यक्ति, अनि जिम्मेवार समाचार संस्थाका व्यक्तिविशेष समेतले पीडितको विरुद्ध, पीडकको पक्षमा आफ्नो पेशागत मर्यादाकै धज्जी उड्ने गरी निर्लज्ज बचाउ गर्न उत्रिएको पनि देखियो । क्रिकेट खेलाडी सन्दीप देशको अमूल्य सम्पत्तिका रुपमा रहेकाले उनको साटो आफू जेल बस्न तयार रहेको जस्ता भ्रष्ट भावनाहरु पनि फैलाउन खोजिएकै हो । तर जतिसुकै चिनिएको पात्र भए पनि सन्दीपका लागि फौजदारी न्याय प्रणालीले अलग्गै दृष्टि लगाउन मिल्दैनथ्यो ।

यस्तै दृष्टान्त बम्जनका बारेमा पनि दिन सकिन्छ । जसरी सेलेब्रिटी क्रिकेटरका बारेमा व्याप्त प्रचारबाजी र फ्यान फलोअर्स दबाब चिर्दै न्याय निरुपण गर्न सकेर न्यायालय धन्यवादको पात्र बन्न पुगेको छ,  त्यसैगरी प्रहरी पनि शक्तिको पहुँचमा रहेका बम्जनमाथि लामो समयको खोजबिन टुंगोमा पुर्याउँदै पक्राउ गर्न सफल भएको छ । ‘बुद्ध बोय’, ‘लिटल बुद्ध’ ‘तपस्वी’ आदि संज्ञालाई भद्दा मजाक गरेर मानवीय संवेदनाको व्यापार गर्ने बम्जन समातिँदा उनीसँग १७ देशका त मुद्रा नै रहेछन् । तीन करोडभन्दा बढी नेपाली रुपैयाँ, अनि अचाक्ली महँगो ल्यान्डक्रुजर गाडी राखेर कोही कसरी ‘बुद्ध’ हुन सक्छ ! मोबाइल फोनमात्रै १४ वटा, ग्याजेट पनि कति हो कति ।

यति विलासी जीवन बिताउने उनको सम्पत्तिको कुनै स्रोत भेटिँदैन । बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत हुन पुगेको भन्दै एक आनीले उजुरी दिए पनि बम्जनमाथि कारबाही चल्न सकेको थिएन ।

शक्तिको आडमा उनी त्यसको पाँच वर्षसम्म निर्धक्क चलखेल गरिरहे । बल्लतल्ल ०७६ सालमा जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरी उनलाई खोज्ने निर्णयमा पुगेको थियो । शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए ।

यथार्थमा उनी बालबुद्ध थिएनन् । नेपालजस्ता गरिब देशमा मान्छेको प्रतिभा विशेषलाई अलौकिकतासँग जोडेर दुष्प्रचार गरिन्छ । त्यसको पहिलो शिकार गौशाला २६, आनीहरु जस्ता पीडित बन्न पुग्छन् । प्रतिभा र करिश्माको आडमा सिंगो समाज नै त्यसको दोस्रो शिकार बन्न पुग्छ । तेस्रो शिकार चाहिँ यी स्वयं पीडकहरु हुन् ।

पीडकहरु नै किनभने– यिनीहरु खेलकुदमा, धार्मिक प्रवचन आदिमा अब्बल देखिए पनि मानसिक विकास हुनुपर्ने जति भइसकेको हुँदैन । अहिले नेपालमा, अनि अन्यत्र पनि सानै उमेरमा सेलेब्रिटी बन्न पुगेका थुप्रै पात्रहरु मानवीय संवेग, अन्तरव्यक्ति सम्बन्ध, अहिंसात्मक द्वन्द्व व्यवस्थापनजस्ता अति आवश्यक विषयबाट टाढा हुन्छन् ।

एकातिर करिअरमा रातारात चकाचौध, अर्कातिर बौद्धिक र मानसिक रुपमा सर्वथा खोक्रो । यसरी उनीहरुमा निर्माण भएको खोक्रो अहंकार र विरोधाभासको शिकार गौशाला २६ र आनीजस्ता पीडितहरु बन्न पुग्छन् । कतिलाई त बम्जनले बेपत्ता नै पारिदिएको समेत सूचना यसअघि सार्वजनिक छन् ।

लामिछाने र बम्जन प्रकरणले यो पनि शिक्षा दिन्छ– नयाँ पुस्तालाई ठूलो मात्रामा लैंगिक, यौनिक शिक्षा दिनुपर्छ । उमेर नपुग्दै विषाक्त पुरुषत्वको गलत भावना बिजारोपण गर्न कतिपय सामाजिक बानीव्यवहार, साहित्य–सिनेमा र दृश्य–माध्यमका गैरजिम्मेवार कन्टेन्ट पनि कारक छन् ।

सबैभन्दा बढ्ता जिम्मेवारी अभिभावक, स्कुल–कलेज, अग्रज साथीसंगतको पनि हुन्छ । कसैको जीवनमाथि ठूलो पीडा थोपर्दा वीरता देखाएझैं गरी फर्केको सन्तानको बचाउमा मुद्दामामिला, प्रहरी अदालत धाउनुसाटो सुरुमै सही शिक्षा, संस्कार सिकाउन आवश्यक छ ।

अदालतले गौशाला २६ का लागि क्षतिपूर्ति भराउन सन्दीप लामिछानेलाई आदेश गरिसकेको छ । यथार्थमा यस बीचमा उनले जुन स्तरको मानसिक प्रताडना बेहोरिन्, यसलाई कुनै क्षतिपूर्तिले पूर्पक्ष गर्न असम्भव छ । तर न्यायको आफ्नै संहिता हुन्छ ।

आफ्नो पारिवारिक संकट, पढाइमा उतारचढाव, साथीसंगतको उपेक्षा अवहेलना झेल्दै गौशाला २६ ले लडेको निशर्त लडाइँ कमजोर पारिएका बालिका र किशोरीहरुको इतिहासमा सम्झना गरिनुपर्छ । ती मानिसहरु जसले निरन्तर उनलाई प्रोत्साहित गरे, उनीहरुको योगदान पनि असल नागरिक प्रयत्नमा गणना हुनेछ ।

सम्भवतः लामिछानेका हकमा अझ माथिल्लो निकायमा गएर फरक न्यायनिरुपणको प्रयास हुने नै छ । अनि बम्जनका लागि पनि पूर्वमन्त्री लगायत पात्रहरु सार्वजनिक बचाउमा ओर्लन निर्धक्क उभिइसकेका छन् । यसर्थ जागरुक नागरिकहरुले चनाखो भएर आगामी परिघटनाहरुलाई हेरिरहनुपर्ने हुन सक्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?