News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।
- खड्काले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गर्न शीतलनिवासको आँगनमा बसेर ठूलो अप्ठ्यारो सहनुभएको उल्लेख गर्नुभयो।
- खड्काले तरूण दललाई जुझारूपन र अनुशासनका साथ देश र नागरिकको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको छ।
१० कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।
भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्।
‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए।
‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने काम गर्नुभयो,’ कार्यवाहक सभापति खड्काले भने।
खड्काले तरूण दललाई अत्यन्त जुझारूपनका साथ तर अनुशासन भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकतावद्ध हुन आग्रह गरे।
सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राण लिने गरी आक्रमण भएको जिकिर गर्दै उनले भने, ‘देशैभरि नेताका घर खरानी बनाइए। यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ। यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु– अत्यन्त जुझारूपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछ। तरुणहरू संगठित हुनुछ।’
प्रतिक्रिया 4