२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले झन्डै चार दशक लामो प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई संवैधानिक परिषद्ले तलमाथि गर्न नहुने बताएका छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बस्नु केहीअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नियुक्तिको स्थापित परम्पराबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दै छ । जानकारीमा आएअनुसार सर्वाेच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदै छ,’ खड्काले भनेका छन्, ‘करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस ।’
प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि गरे न्यायालयमा डरलाग्दो अस्थिरता आउने उनको आशंका छ । ‘नभए धेरै ठूलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउने छ,’ खड्काले लेखेका छन्, ‘जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ । विशेष गरी परिषद्का अध्यक्षजीको गम्भीर ध्यानाकर्षण ।’
प्रतिक्रिया 4