+
+
Shares

समूह भेलामा पूर्णबहादुरको ब्रिफिङ : हामीसँग मत बदलेकाहरूले पार्टी छोडेका छैनन्

उनले यथार्थ स्वीकार गर्दा सानो नभइने पनि बताए । त्यस्तै पार्टीमा अहिले असन्तुष्ट बढेको सुनाए । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीमा लैजान विवाद र असन्तुष्टिका विषयमा नेताहरूलाई जानकारी गराए ।
  • खड्काले क्रियाशील सदस्यतालाई मुठीमा राखेर लैजान खोजिएको आरोप लगाउँदै पार्टीको ऐतिहासिक पहिचान नबदल्नुपर्ने बताए ।
  • उनले पार्टीमा असन्तुष्ट बढेको र मत बदल्ने सदस्यलाई घरघर पुगेर हात जोड्नुपर्ने आवश्यकता औँल्याए ।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का समूहको भेला आज पनि जारी छ । आजको भेलाको सुरुवातमै खड्काले ब्रिफिङ गरे । उनले पार्टीको क्रियाशील सदस्यता र पार्टीको आन्तरिक अभियान कस्तो हुनुपर्ने भन्नेबारे नेताहरूलाई बताए ।

उनले अहिलेका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री हुँदा पार्टीको क्रियाशील सदस्यलाई अनलाइन प्रणालीमा लैजान उनीहरूकै प्रस्तावमा अघि बढाइएको बताए । तर पार्टीमा क्रियाशील सदस्यतालाई एकैपटक अनलाइनमा लैजानुभन्दा पहिले साधारण सदस्यतालाई खुला गरेर विस्तारै गर्दा हुन्छ भन्ने विषय महासमिति बैठकबाट पारित भएको उनको भनाइ छ ।

त्यस्तै खड्काले हिजो पार्टीमा क्रियाशील सदस्यता अनलाइनमा खुला गर्नुपर्छ भन्ने थापा र शर्माले आज मुठीमा राखेर लैजान खोजेको आरोप लगाए । ‘पार्टीको जरा भनेकै क्रियाशील सदस्य हुन्, जरालाई मुठीमा कस्ने कुराले कांग्रेसलाई बलियो बनाउँदैन,’ खड्काले बैठकमा भने, ‘हामीले एउटा यथार्थ स्वीकार गर्नैपर्छ— विगत सात-आठ वर्षमा वडादेखि केन्द्रसम्म सरकार चलाउँदा होस् वा पार्टी सञ्चालन गर्दा, हामीले जनता र मतदाताको मन जित्न सकेनौँ। म आत्मादेखि नै यो कुरा स्वीकार गर्छु।’

उनले यथार्थ स्वीकार गर्दा सानो नभइने पनि बताए । त्यस्तै पार्टीमा अहिले असन्तुष्ट बढेको सुनाए ।

‘निर्वाचनमा जाँदा हाम्रा क्रियाशील सदस्यहरू असन्तुष्ट हुनुभयो। ‘जहाँ ५०० क्रियाशील सदस्य छन्, त्यहाँ १०० भोट पनि आएन’ भनेर हामी देशभरि हिसाब गर्छौँ । तर हाम्रै कारणले, हाम्रा कमीकमजोरीका कारण चित्त दुखाएर धेरै क्रियाशील सदस्यहरूले पार्टी नछोडे पनि मत बदलेका छन् । अहिलेको अभियानमा के जरुरी थियो भने, जो रिसाएर मत बदल्न पुगेका छन् तर पार्टी छोडेका छैनन्, उनीहरूको घर-घर पुगेर हात जोड्नुपर्थ्यो— ‘हाम्रा कमजोरीले तपाईंको चित्त दुख्यो, हामीलाई सजाय दिन मत बदल्नुभयो होला, तर अब पार्टी नछोड्दिनुस्’ भनेर,’ उनले भने, ‘हिजो ‘क्रियाशील सदस्यतालाई सङ्कुचित बनायौँ, यसलाई अनलाइनमार्फत व्यापक बनाउनुपर्छ’ भन्ने साथीहरू नै आज कुन नियत, कारण र उद्देश्यले चित्त दुखाएका ती पुराना क्रियाशील सदस्यहरूलाई पार्टीबाटै बाहिर राख्ने प्रपञ्चसहितको अभियान सुरु गर्दै हुनुहुन्छ ?’

खड्काले पार्टीको अन्तरविरोध बुझेर पार्टी संगठन विस्तार गर्नुपर्ने बताए । ‘हामीले यो अन्तरविरोध बुझेर समग्र पार्टीको विस्तार गर्नु छ, पार्टीको अभियानमा लाग्नु छ। तर, पार्टीलाई आधुनिक वा अत्याधुनिक बनाउने नाममा कांग्रेसको ऐतिहासिक पहिचान नै बदल्ने कुरा स्वीकार्य छैन,’ उनले भने, ‘नेपाली कांग्रेसका क्रियाशील सदस्य’ भन्ने नामकरण कसले गरेको हो ? जननायक बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहजस्ता ऐतिहासिक पुरुषहरूले पार्टी प्रारम्भ गर्दा राखेको त्यो क्रान्तिकारी नामलाई अहिले विद्युतीय माध्यम (अनलाइन) बाट गर्ने बहानामा बदलेर ‘आइडी कार्ड’ मात्र बनाउने कुरा आएको छ। के हामी त्यसलाई स्वीकार्ने हो ? के हामी आफ्नो ऐतिहासिक विरासतलाई भुल्ने हो ?’

उनले अब नेताहरूले सही कुरा उठाए, नेताहरूले आफ्ना गल्ती स्वीकारेर सही बाटो समातेर आए भन्ने अनुभूति गर्ने गरी काम गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?