+
+
Shares
होल्डिङ सेन्टरमा सुकुमवासी :

‘सडकमा सामान भिज्यो, फेर्ने लुगा र खाने औषधि छैन’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टर पुगेकी सुकुमवासी सम्झना भन्छिन्- शरीर थरथर काँपिरहेको छ । औषधि खान पाएको छैन । पेट भोकै छ । हिजो रातभर सुत्न सकिनँ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ वैशाख १३ गते २१:४८
दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गराउँदै मनोहरास्थित सुकुमवासी बस्तीकी सम्झना राई ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंका सुकुमवासी बस्ती भत्काएर २१९ परिवारलाई दशरथ रंगशालाको होल्डिङ सेन्टरमा सारिएको छ।
  • बस्ती भत्किँदा धेरैले औषधि छुटेको, खाना नखाएको र स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीले बताए।
  • स्वास्थ्य परीक्षणमा ४७ जनामा कमजोरी, रक्तचाप समस्या देखिएको र एक वृद्ध मिर्गौलाको बिरामी वीर अस्पताल रेफर गरिएको छ।

१३ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टरमा ६० वर्षीया सम्झना राई काँपिरहेकी छन् । भिडको बीच भुईंमा टुसुक्क बसेकी सम्झनाको अनुहार फिक्का छ । आँखा रसाएका छन् ।

उनलाई उच्च रक्तचापको पुरानो समस्या छ । नियमित औषधि खानुपर्छ । रगत पातलो गर्ने औषधि पनि लिँदै आएकी छिन् ।

‘शरीर थरथर काँपिरहेको छ । औषधि खान पाएको छैन । पेट भोकै छ । हिजो रातभर सुत्न सकिनँ,’ उनले आँसु झार्दै परीक्षण गरिरहेका स्वास्थ्यकर्मीसँग भनिन्।

सम्झनाको आवाज मधुरो छ । केही क्षण बोल्दा पनि थाक्छिन् । ‘अब केही बाँकी रहेन,’ आँसु पुस्दै उनले भनिन् । उनी १४ वर्षदेखि मनोहरा किनारको टहरामा बस्दै आएकी थिइन् । सानो टहरामा तीनवटा साना कोठा थिए ।

उनका श्रीमान् घरमा रंङरोगनको काम गर्छन् । सम्झना दम्पतीले त्यहीँ बसेर जीवन धानिरहेका थिए ।

तर, आइतबार बिहानै सरकारको डोजर पुग्यो । र, टहरा क्षणभरमै भत्कियो । ‘हामीलाई सामान सार्ने समयसमेत दिएनन्,’ उनले भनिन्, ‘एक्कासि डोजर चलाइयो ।’

हतारमा सामान निकाल्दा धेरै सर-सामान हरायो । हतारमा सधैं खाने गरेको औषधिसमेत छुट्यो । ‘औषधि कता पर्‍यो पर्‍यो । फेर्ने लुगासमेत छैन,’ उनी भावुक सुनिइन् ।

सम्झनाको शरीर पहिले जस्तो छैन । केही वर्षअघि उनलाई एक्कासि पक्षघात भयो । ‘राति उठ्दा खुट्टा चलेन,’ उनी सम्झिन्छिन् ।

त्यसपछि २० दिनसम्म हात-खुट्टा चलेनन् । अहिले पनि एउटा हात र एउटा खुट्टा राम्रोसँग चल्दैन । त्यसैले सामान सार्ने, भागदौड गर्ने अवस्था थिएन । उनलाई हिँड्न पनि गाह्रो हुन्छ ।

घर भत्काउने डोजर आउने डरले सम्झना र उनका श्रीमान् रातभरि टहराको छेउछाउमै बसिरहे ।

अहिले सामान चौरमा थुपारिएको छ । श्रीमान् सामान कुरेर बसेका छन् । ‘पानी परिरहेको छ । सबै सामान भिज्यो होला,’ सम्झना बाहिर हेर्दै भन्छिन् ।

आइतबार दिउँसो नाम दर्ता गर्न रंगशाला आइपुगेकी सम्झनाले दुई दिनदेखि राम्रोसँग खाना खाएकी छैनन् ।

‘पिर परेपछि खाना खान के मन लाग्थ्यो,’ उनी भन्छिन्, ‘बेलुका कहाँ बस्ने हो, श्रीमान् उता हुनुहुन्छ । म यता छु ।’

राई दम्पतीका विवाहित एक छोरी छिन् । अहिले उनीहरू एकअर्काका सहारा बनेका छन् । होल्डिङ सेन्टरको भिडमा बसिरहेकी सम्झनाको चिन्ता छ, ‘श्रीमान्‌ले यो झरीमा कसरी रात काट्लान् ?’

सम्झनाले गहिरो श्वास फेरिन्, ‘मेरो त दुर्भाग्य नै रहेछ । बाध्यताले काठमाडौं आइयो । अहिले बस्ने ठाउँ पनि रहेन ।’

यही भिडबीच स्वास्थ्य परीक्षण गराइरहेका ४६ वर्षीय गोपाल सुनारको अनुहारमा पनि चिन्ता र थकान प्रष्ट देखिन्छ ।

स्वास्थ्यकर्मीले उनको रक्तचाप जाँच्दा मेसिनमा १६०/१००अंक देखियो । ‘प्रेसर त निकै बढेको रहेछ,’ स्वास्थ्यकर्मी इन्दिरा पोखरेलले भनिन् ।

गोपाल छक्क परे । उनी उच्च रक्तचापका नियमित बिरामी होइनन् । ‘म त औषधि खाने बिरामी होइन,’ उनले सुस्तरी भने, ‘धेरै तनाव भयो । यसले पनि बढ्यो कि ।’

सरकारले जडिबुटीमा बनाएको सानो टहरा भत्काएपछि धेरै तनाव भएको उनले सुनाए । ‘दुई–तीन वर्षदेखि त्यहीँ बसेका थियौं । अब छोराछोरीको बिल्चली हुने भयो,’ गोपालले निरास हुँदै भने ।

गोपालका श्रीमती र तीन सन्तान छन् । श्रीमती र छोराछोरी सामान कुरेर जडिबुटीमा बसेका छन् । भएका सामान पनि पानी परेकाले अस्तव्यस्त भएको उनले सुनाए ।

‘सब सामान त्यहीँ बर्बाद भयो । सामान हतारमा एक ठाउँमा थुपारेर छोपेर राखिएको छ,’ गोपालले सुनाए, ‘दर्के पानी सबै समान भिज्यो होला ।’

उनलाई सबैभन्दा ठूलो चिन्ता परिवारको छ । ‘म यहाँ छु । बच्चा र श्रीमती जडिबुटीमा छन् । दर्के झरीमा खुला आकाशमुनि उनीहरू कसरी बसे होलान्,’ उनका आँखा रसाए ।

गोपालकी १२ वर्षकी ठूली वर्षकी छोरी, सात वर्षकी अर्की छोरी र ६ वर्षका छोरा छन् । उनीहरू नजिकैको विद्यालयमा पढ्छन् । एकजना कक्षा एक, अर्का कक्षा तीन र अर्का कक्षा पाँचमा पढ्छन् ।

घर भत्किएपछि उनीहरूको पढाइ पनि अन्योलमा परेको छ । होल्डिङ सेन्टरमा आएदेखि गोपाल एकछिन थिरले बस्न सकेका छैनन् ।

‘टाउको दुखिरहेको छ । मन अस्थिर छ । पेट पोलिरहेको छ,’ उनले सुनाए ।

सुकुमवासीको बस्ती रहेको संरचना भत्काएसँगै उनीहरू दशरथ रंगशाला होल्डिङ सेन्टर पुगेका छन् ।

थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुमवासी बस्तीबाट २१९ परिवार घरबारविहीन भएको भन्दै नाम लेखाउन पुगेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टर बनाएर सरकारले सुकुमवासीको स्क्रिनिङ गरिरहेको छ । सँगसँगै स्वास्थ्य परीक्षण पनि गरिरहेको छ । आइतबार साँझसम्म ४७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको हेल्थ डेस्कमा बसेर स्वास्थ्य जाँच गरिरहेकी इन्दिरा पोखरेलका अनुसार, धेरैजसो स्वास्थ्य जाँच गरेकाहरूमा कमजोरी हुने, रक्तचाप (प्रेसर) कम हुने लगायतका समस्या देखिएको छ ।

केही भने दीर्घकालीन रोग भएका बिरामी पनि सम्पर्कमा पुगेका छन् । बस्ती भत्किँदा औषधि छुटेको र निकाल्न नभ्याएकाले खान नपाएको गुनासो गरिरहेको उनले बताइन् ।

एकजना वृद्ध बिरामी मिर्गौला फेल भएका पनि भेटिएको उनले बताइन् । ‘उहाँलाई चाहिँ वीर अस्पताल रेफर गरिएको छ,’ उनले भनिन् ।

बस्ती भत्किने चिन्ताले आफूहरू रातभर नसुतेको, खाना खान मन नभएकाले नखाएको पृष्ठभूमि स्वास्थ्य चाँजका क्रममा सुकुमवासीहरूले सुनाएको पोखरेलले बताइन् ।

‘राति खानै नखाइ सुतियो, डर पनि लाग्यो । सोही कारण पनि खुट्टा थरथर काँपेको छ,’ स्वास्थ्य जाँच गराउन आएकाहरूको भनाइ उद्धृत गर्दै पोखरेलले सुनाइन् ।

उनका अनुसार, कमजोरी भएकाहरूलाई जीवन जल दिइएको छ । नियमित औषधि सेवन गरिरहेका दीर्घकालीन बिरामीहरूलाई भने औषधि वितरण नगरिएको पनि उनले बताइन् ।

‘अहिलेसम्म कमजोरी भएर, ब्लड प्रेसर कमी भएर आउनुभएको छ । एकजना वृद्ध चाहिँ मिर्गौलाको बिरामी हुनुहुँदो रहेछ । उहाँलाई वीर अस्पताल रेफर गरिएको छ,’ उनले भनिन्, ‘धेरैजसो ब्लड प्रेसर लो भएर आउनुभएको छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?