रातको बाह्र बजिसकेको थियो । अस्पतालमा प्रायः बिरामीहरू निदाइसकेका थिए । आकस्मिक कक्षमा भने मनिटरको आवाज गुन्जिरहेको थियो । अस्पतालबाहिरको सडक पूर्णतः सुनसान थियो । अस्पतालभित्र आवतजावत गर्ने मार्गहरू पनि शान्त नै थिए । तर औषधि पसलका औषधिका खापाहरूबाट भने खस्याकखुसुक आवाज आउँदै थियो ।
त्यो दिन म रात्रीकालीन ड्युटीमा थिएँ । थचक्क कुर्सीमा बसेर ती आवाजहरू सुनिरहेकी थिएँ ।
खापाभित्र राखिएका बोतलहरू, ट्याब्लेट, क्याप्सुल अनि भाइल इन्जेक्सनहरू पनि एक अर्कासँग कानेखुसी गर्दै थिए । एकाएक त्यहाँ फार्मेसीभित्र रहेको फर्माकोपियाको पुरानो पुस्तकले उद्घोष गर्यो– अहिले देशमा राजनैतिक छलाङ देखिएको छ । पक्कै पनि स्वास्थ्य क्षेत्रमा नेतृत्व फेरिँदै छ ।
साथीहरू हो ! आज खुलेरै आ–आफ्नो मनमा गुम्सिएर रहेका स्वास्थ्य क्षेत्रका समस्याहरूलाई बाहिर ल्याओ न । हाम्रो अस्तित्व माथिको हस्तक्षेप र बर्बर प्रयोग रोक्न हामीले नबोले कसले बोलिदिन्छ ? सबै औषधिहरूले मुन्टो हल्लाए । सल्लाहनुसार बोल्ने रोलक्रम तोकियो । सबैभन्दा पहिले एन्टिबायोटिक्सको पालो आयो ।
एन्टिबायोटिक्स
मलिन अनुहार लिँदै एन्टिबायोटिक्सले विगतका कथा व्यथा सुनाउन थाल्यो । मेरो ध्यान त्यतै मोडियो । ऊ सुस्केरा हाल्दै भन्दै थियो, ‘भोलि फेरि अर्को लामो दिनमा के-के भोग्नुपर्ने होला ! हामी त मानव स्वास्थ्यका लागि डरलाग्दा रोगका जीवाणुहरूविरूद्ध लड्नका लागि जन्मिएका हौं । तर के गर्नु ? रुघाखोकीको भाइरल ज्वरोमा समेत हाम्रो प्रयोग गरिन्छ ।
अझ दुई तीन प्रकारका हामी एन्टिबायोटिक्सलाई संयुक्त रूपमा प्रयोग गर्छन् । न त जीवाणु परीक्षण, न त संवेदनशीलता परीक्षण, न चिकित्सकसँगको सल्लाह । अनुमानकै भरमा जथाभावी हाम्रो प्रयोग हुन्छ ।
माइक्रोबायोलोजिस्ट र प्याथोलोजिस्टको विज्ञता र परामर्शको कुनै अर्थ नै देख्दैनन् । जब कि उनीहरूले वर्षौँ लगाएर अध्ययन र अभ्यास गरेका हुन्छन् । अहो ! बिरामी स्वयं, उसका आफन्त, छरछिमेक, औषधि पसलेदेखि सबैखाले अडकलबाजीका स्वास्थ्यकर्मीहरू मेरा विज्ञ । अनि खत्तम भएन त ? फेरि नि ३–४ दिनपछि रोग निको पार्न नसके हामी माथि नै गालीको वर्षा ।
एन्टिबायोटिक्सको त कामै छैन, जति सेवन गरेपनि काम गर्न छोडिसके । नक्कली औषधि, नक्कली उत्पादन भन्दै फेरि हामीमाथि अनेक लाञ्छना लगाएर बदनाम गरिन्छ । हैट ! अब कसरी आफ्नो अस्तित्व बचाउने होला ?’
उसका गुनासाहरू सुनेर स्टेरोइड, दुखाइका औषधीहरू, सप्लिमेन्ट सबैको अनुहार मलिन देखियो । पालैपालो स्टेरोइडका गोली र भाइलहरूले आफ्ना तिता भोगाइहरू भन्न थाले।
स्टेरोइड र पेनकिलर
हाम्रो पनि कथा यस्तै हो नि साथीहरू । अब हामीले पनि आ–आफ्ना वेदनाहरू खोल्नैपर्छ । हामी त अत्यधिक सुजन, एलर्जी, दुःखाइ जस्ता समस्याहरूलाई आपतकालीन समयमा निको पार्नका लागि बनेका हौं । हामीले कडाइका साथ जादुगरी परिणाम निकाली मानिसलाई मृत्युको मुखबाट बचाउँछौं । तर यो आपतकालीन कुरालाई चटक्कै लत्याएर सामान्य खालका दुःखाइ, खोकी, सानातिना छालाका समस्या आदिमा पनि हाम्रो अत्यधिक अन्धाधुन्द रूपमा प्रयोग गर्दछन् ।
यति मात्र हो र ? निश्चित समयका लागि प्रयोग गर्नुपर्नेमा वर्षौंसम्म हाम्रो प्रयोग गरिरहन्छन् । अन्ततः शरीरको तौल बढ्न थालेपछि, मिर्गौला बिग्रेपछि, हड्डीहरू मक्किएर भाँचिन थालेपछि स्टेरोइडका गोलीहरू पनि कतै औषधि हुन् र भन्दै मिल्काइदिन्छन् । यति मात्र कहाँ हो र ? हामीलाई साइड इफेक्टरहित भनी कतिपय जडिबुटी, आयुर्वेदिक चूर्ण औषधिमा समेत मिसाउँछन् ।
स्टेरोइडका कुरा नसकिँदै पेन किलरले थपिहाले ।
के उत्पादक, के बिरामी, के स्वास्थ्यकर्मी सबैले हामीबाट चमत्कारिक परिणामको अपेक्षा गर्दछन् । तर यसबाट निस्कने नकारात्मक परिणामलाई भने भुसुक्कै बिर्सिन्छन् । अन्त्यमा जो चोर उसकै ठूलो स्वर भनेझैं बदनाम भने हामीलाई बनाइन्छ । कसरी सहँदै आएका छौं हामीले यो दर्दनाक पीडा, कहाँ गएर उजुरी गर्नु ? अन्यौलमा थियौं हामी त !
सप्लिमेन्टहरू
औषधि पसलभित्रका विभिन्न खण्डहरूमध्ये अघिल्लो खण्डमा राखिएका सप्लिमेन्ट्सका गोली, क्याप्सुलहरूलाई आफ्नो मनका कुरा साथीभाइले बोलिदिएको जस्तो लाग्यो । टाउकोमा हात राख्दै मधुरो स्वरमा एउटा सप्लिमेन्टले भन्यो, ‘ए साथी हो ! मैले त आजसम्म मानिसहरूलाई राम्ररी चिन्नै सकेको रहेनछु । खै, किन होला ? कति जटिल छ मानव समुदाय । हामी सबैभन्दा आकर्षक र महंगामा पर्छौँ । मानिसको शरीरमा हुने पोषण तत्वका कमीबाट उत्पन्न रोगहरू निको पार्न र तागत भर्न हामी जन्मिएका हौं । हाम्रो उत्पादन पसलमा चक्लेट मिठाइ किनेर खाए जसरी खानका लागि थिएन ।
खासै बिरामी नभएको बेलामा पनि स्वयं बिरामी हुँ भन्नेले आफुखुसी किनेर खाने गर्छन् । अनि पूर्जीमा लेखिदिनेले पनि कमिसनतन्त्रको लालचामा जथाभावी लेखिदिन्छन् । म तपाईंहरूलाई हिजोको घटना सुनाउँछु है ! घुँडा दुखेर एैया आत्था गर्दै अस्पताल आइपुगेकी ६० वर्षीया आमालाई अरू औषधि सँगसँगै ३ प्रकारका सप्लिमेन्टस्हरू लेखेर पठाइदिए ।
बिरामीले औषधी किन्दै गर्दा मैले विवश भएर टुलुटुलु हेरिरहनु पर्यो । यति मात्र कहाँ हो र ? ती आमाले विदेशबाट छोराछोरीले पठाइदिएको भन्दै दुई थरी त अन्य सप्लिमेन्ट्स नै खानुहुँदो रहेछ । एक हप्तापछि फलोअपमा आउँदा उहाँको घुँडाको दुखाइ जस्ताको त्यस्तै छ भनेको पनि सुनेको थिएँ ।
कठैबरा ! सप्लिमेन्ट्सको महत्व नबुझ्दा मतिर फर्कँदै गालीको वर्षा । यति महँगा गोली किनेर खानूँ ? हाम्रो त ढाड नै सेकियो । अब त यस्ता पाजी औषधि खाँदै खान्न है भन्दै ती आमाले डस्टबिनमा मेरा साथीहरूलाई फुत्त फ्याँकेको देखेर मन कुँडिएको छ ।
निन्याउरो अनुहार पारेर उ अझै बोल्न थाल्यो । कस्तो अचम्म ! हामी त औषधि पो हौं त । महत्त्व नबुझिदिँदा फुटपाथका गल्लीहरूदेखि डिपार्टमेन्टल स्टोरसम्म जडिबुटी पसलदेखि फार्मेसीसम्म सजिलै पाइने । कस्तो विडम्बना ! आफ्ना गाउँठाउँमा मात्र नभएर विदेशबाट आउने हजुरबुबा, हजुरआमाका छोराछोरीको कोशेलीसम्म यही । कति सतही बुझाइ हो हामीप्रति । सप्लिमेन्ट्सका कुरा सुनेर फार्मेसीमा एकैछिन सन्नाटा छायो । अन्य औषधिहरूले भने मुखामुख मात्र गरिरहे ।
जडीबुटी तेल
फार्मेसीका कुनापट्टिका खापामा रहेका दुखाइ कम गर्ने, कपाल उमार्ने, भाँचिएका हड्डी र जोर्नी जोड्ने, नसा मजबुत बनाउने भनी चर्चा पाएका अनेक थरी जडिबुटीबाट बनेका तेलहरू लाइनबद्ध रूपमा राखिएका थिए ।
साथीभाइहरूको कथाव्यथा सुनिरहँदा उनीहरू टोलाइरहेका देखिन्थे । उनीहरू मनमनै सोच्दै थिए, ‘हैट ! यत्रा आधुनिक वैज्ञानिक भनिएका साथीहरूको त यो हालत रहेछ भने हाम्रो त झन् हरिबिजोकै छ नि । कसलाई पोख्नु हाम्रा व्यथा ? सरोकार निकायले आँखामा पट्टी बाँधिदिँदा, कानमा तेल हालेर बसिदिँदा हाम्रो यो हालत भएको न हो ।
उनीहरू तर्क-वितर्कका भावनाहरूमा डुबुल्की मारिरहेका थिए । यत्तिकैमा अब तिमीहरूको नै बोल्ने पालो हो भन्ने सुनियो । उनीहरूले पुलुक्क हेरे । भनूँ कि नभनूँ को अवस्थामा दुःखाइ कम गर्ने तेलले मुख खोल्यो र भन्यो, ‘साथीहरू हो ! कमसेकम तिमीहरूलाई त बिरामीले खुसीसाथ किनेर खान्छन् । औषधि पुर्जीसम्ममा त लेखिन्छौ । हामी त बोलीले पगालेर मात्र बिक्न सक्छौं ।
आम मानिसहरूलाई भ्रममा पारी जताततै हाम्रो विज्ञापन घन्काएको देखेकै छौ । यति हो सहयोगीहरू भने भनेजस्ता पाएका छौं र मात्र बाँचेका हौं । देशमा नाम चलेका कलाकार, पत्रकार, नेता, खेलाडी र बिमरामी समेतले पैसा लिएर हाम्रो विज्ञापन गरिदिन्छन् ।
बिना विज्ञता अनेक थरिका आकर्षक नाम राखी न्वारन गरिदिन्छन् । कति राम्रो सहयोग छ हाम्रा लागि । सिल्भर रे ! गोल्ड रे ! पलपल रे ! वार्म रे ! विन्टर रे ! के-के हो के-के ! हेर्दै र सुन्दैको जादुगरी परिणाम । फेरि किन्नलाई कति सहज छ भने बाटोमा गुड्दै हिँड्ने ठेलागाडादेखि तरकारी पसल, किराना पसल, सडक पेटीका पसल, डिपार्टमेन्टल स्टोरदेखि अनलाइन पसलसम्म । जताततै पाइन्छ ।
अनलाइन बजारले त झन तहल्का मच्चाइदिएको छ । टिकटक र रिल्समा छ्याप्छ्याप्तै हाम्रै विज्ञापन छन् । हामी त मांसपेशी र सामान्य खालका हाडजोर्नीका दुःखाइमा मात्र पो काम गर्न सक्छौं त । तर पनि क्यान्सरदेखि लिगामेन्ट च्यातिएको, हड्डी भाँचिएको, स्पाइनल कर्ड इन्जुरीदेखि प्यारालाइसिस रोगसम्म चट्टै निको पार्छ भनेर विज्ञापन गरिन्छ ।
निको नपारे पैसा फिर्ता हुने भनी ग्यारेन्टीका साथ विज्ञापन घन्किदो रहेछ । हत्तेरि ! आफ्नो विज्ञापन आफैँले सुन्न सक्दिन हो म त । विज्ञापन आयो कि लाजले भुतुक्क हुन्छ । साथीहरूलाई खै के लाग्दो हो ?’
बिहानको ४ बज्नै लागेको थियो । उज्यालोमा मानिसको चहलपहल हुन्छ भनेर होला, त्यो दिनका गुनासाहरू यत्ति नै सुनिए । अस्पतालको करिडोरमा अलिअलि चहलपहल सुरु भयो । लौ छिटो गरेर समाधान निकालौं भन्दै सबैको एउटै स्वर गुञ्जियो ।
अन्तमा उनीहरूले भने– ‘हामी मानव जातिका लागि शत्रु होइनौं । रोग निको बनाउने साधन पो हौं त । हाम्रो बुद्धिमत्तापूर्ण प्रयोगले मानिसको अमूल्य जीवन बँचाउन सकिन्छ। लापरवाही गरेमा जीवन नै धरापमा पर्छ । हामी कसैको पनि अति प्रशंसा वा गाली चाहदैनौं । केवल हामीप्रतिको बुझाइ सही र वैज्ञानिक होस् भन्ने मात्र ठान्दछौं । लामो खोज र अनुसन्धान गरी हामीलाई जन्माउने विश्व औषधि जगतप्रति गहिरो सम्मान छ । हामीलाई प्रेस्क्रिप्सनमा लेखिँदा कसैले चिकित्सकीय आचार संहिता नभुलून् ।
हाम्रा कपोलकल्पित विज्ञापन बन्द हुन् । छिटोभन्दा छिटो स्वास्थ्य मन्त्रालयको नेतृत्वले हाम्रा मौन आवाजहरू सुनून् । हाम्रो अस्तित्व माथि आँच आउन नदिने खालको निर्णय अघि बढाऊन् । सबैभन्दा मुख्य कुरा स्वास्थ्य क्षेत्रमा कमीशनतन्त्र र नाफामूखी खेल समाप्त गरिदिनुपर्छ ।’
यति कुराकानी पछि सहभागी औषधीहरू आ–आफ्नै खापाहरूमा मौन बसे । म पनि स्वास्थ्य क्षेत्रको समुन्नति कल्पिँदै हत्त न पत्त काममा खटिएँ ।
(डा.जया सत्याल अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत छिन् ।)
प्रतिक्रिया 4