+

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

२०८२ चैत  १० गते १२:२८ २०८२ चैत १० गते १२:२८

१२ महिनासम्म नियमित असुरक्षित सम्बन्धपछि पनि गर्भ नबसेमा वा महिनावारी अनियमित भएमा तुरुन्त चिकित्सकलाई देखाउन सकिन्छ ।

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा प्रजनन उमेरका महिलामा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) समस्या ५ देखि १० प्रतिशतसम्म पुगेको छ।
  • पीसीओएसले अण्डा निष्काशनमा असर गरी महिनावारी अनियमित बनाउँछ र गर्भधारणमा समस्या ल्याउँछ।
  • पीसीओएस नियन्त्रणका लागि जीवनशैली सुधार, औषधि र उन्नत उपचार विकल्पहरू उपलब्ध छन्।

पीसीओएस (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) महिलाहरूको स्वास्थ्यमा सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।  विश्वभर प्रजनन उमेर १५–४५ वर्षका महिलामा ८ देखि १३ प्रतिशतलाई यो समस्या छ ।

तर, नेपालमा यो समस्या बढ्दो छ । शहरिया जीवनशैली, तनाव, फास्ट फुड, कम व्यायाम र मोटोपनका कारण यो दर ५ दर १० प्रतिशतसम्म पुगेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

सबैभन्दा चिन्ताको कुरा के हो भने, सन्तान चाहेर पनि नहुने समस्या बोकेर ओपीडीमा दिनमा १०० भन्दा बढी महिलाहरू आउने चिकित्सिकहरू बताउँछन् । तीमध्ये ४० प्रतिशतभन्दा बढीमा पीसीओएस नै मुख्य कारण देखिने उनीहरूको भनाइ छ ।

पीसीओएस सम्बन्धी बुझ्न वात्सल्य नेचुरल आइभीएफकी निःसन्तान तथा स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेतलाई सोधिएको प्रश्न र उनको जवाफ यस्तो छ :

के हो पीसीओएस समस्या ?

पीसीओएस भनेको महिलाहरूमा हुने एक सामान्य हर्मोनल असन्तुलनको समस्या हो । यो प्रजनन उमेर (सामान्यतया १५–४५ वर्ष) का महिलाहरूमा बढी देखिन्छ र विश्वभरि १ देखि १५ प्रतिशत महिलालाई प्रभावित गर्छ । नेपालमा पनि यो समस्या बढ्दो छ, विशेष गरी शहरहरूमा ।

पीसीओएसमा ओभरीहरूले अत्यधिक पुरुष हर्मोन (एन्ड्रोजन, जस्तै टेस्टोस्टेरोन) उत्पादन गर्छन्, जसले प्रजनन हर्मोनहरू (इस्ट्रोजन, प्रोजेस्टेरोन) असन्तुलित बनाउँछ । यसले महिनावारी चक्र अनियमित बनाउने, डिम्बाशयबाट अण्डा निष्काशन हुने प्रक्रियालाई रोक्ने वा अनियमित हुन्छ ।

डिम्बाशयमा स–साना फोलिकलहरू (अण्डा थैलीहरू) जम्मा भएर सिस्टजस्तो देखिन्छन्, तर यो त्यति खतरनाक भने हुँदैनन् ।

यो समस्याले कसरी गर्भधारणमा समस्या गराउँछ ? के छ, पीसीओएस र गर्भधारणको सम्बन्ध ?

यो समस्याले मुख्य रूपमा अण्डा निष्काशन प्रक्रियामा असर गर्छ । महिलामा सामान्य चक्रमा महिनामा एकपटक अण्डाशयबाट अण्डा निस्किन्छ, जसलाई वीर्यले निषेचित भएर गर्भ बन्छ । पीसीओएस भएमा उच्च एन्ड्रोजन र अण्डा थैलीहरूलाई परिपक्व हुन दिँदैन ।

अण्डाहरू निस्काशन हुनु सट्टा सिस्टहरू भएर बढ्छन्, जसले पाठेघरमा स साना थैलीहरू भएर बस्छन् । यसलाई पोलिस्टिक ओभरिज पनि भनिन्छ । त्यो मात्र होइन, अण्डा निस्किने क्रम नै सुस्त बनाएर महिनावारी अनियमित बनाउँछ, जसले गर्भ बस्ने समय थाहा पाउन गाह्रो हुन्छ ।

यो पीसीओएस भएका ७०–८० प्रतिशत महिलाहरूमा यी समस्या हुन्छन्, जसले प्राकृतिक गर्भधारण असम्भव बनाउँछ । त्यस्तै, यो समस्याले टेस्टोस्टेरोनको समस्यालाई उच्च पार्छ । यसले हर्मोनले गर्भाशयको भित्री तहलाई प्रभावित गर्छ, जसले वीर्य र अण्डाको मिलन भए पनि भ्रूण बस्न गाह्रो बनाउँछ ।

किन हुन्छ, यो समस्या ?

यसको कारण ठ्याक्कै यही हो भनेर पूर्णरूपमा पत्ता लागेको छैन, तर वंशाणुगत, इन्सुलिन प्रतिरोध जसले मोटोपन बढाउँछ, अस्वस्थ खानपान, कम व्यायामले यसमा भूमिका खेल्छन् । विशेषगरी शहरिया जीवनशैली, तनाव, असन्तुलित खानपान र व्यायामको कमीले यो समस्या बढ्दै गएको छ ।

आधुनिक जीवनशैलीले मोटोपन बढाएको छ । पीसीओएस भएका ४०–८० प्रतिशत महिलाहरूमा मोटोपन हुन्छ । नेपालमा फास्ट फुड, चिनीयुक्त खाना, कम व्यायाम र तनावले इन्सिुलिन रेजिस्टेन्स बढाउँछ, जसले हर्मोन असन्तुलन निम्त्याउँछ । उच्च एन्ड्रोजन (पुरुष हर्मोन) स्तरले अण्डा निस्काशन हुनबाट रोक्छ ।

त्यस्तै, प्रदूषण, रासायनिक पदार्थहरू, ढिलो विवाह र बच्चा जन्माउने योजना ढिलो बनाउँदा हर्मोन प्रभावित हुन्छ ।

नेपालमा यो समस्याको अवस्था के छ ?

नेपालमा प्रजनन उमेरका महिलाहरूमा यो समस्या करिब ५–१० प्रतिशतसम्म रहेको विभिन्न अध्ययनहरूले देखाएको छ, जुन विश्वव्यापी औसत ८–१३ प्रतिशतसँग मिल्दोजुल्दो छ । पछिल्लो समय ओपीडीमा आउने ५० प्रतिशत महिलामा यो समस्या पाउँछौं ।

अधिकांशमा महिनावारी अनियमित भएमा सामान्य सोच्ने प्रवृत्ति छ । संकेतको अन्दाज लगाउन नसक्ने र गर्भधारण नभएपछि मात्र यो समस्या सतहमा आएको थुप्रै उदाहरण हामी पाउँछौं ।

यो समस्या भए कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?

लक्षणहरू व्यक्ति अनुसार फरक पर्छ । केहीमा हल्का हुन्छन् भने केहीमा गम्भीर । यो समस्या हुने ८३ प्रतिशतमा अनियमित महिनावारी वा महिनावारी पूर्ण रूपमा नहुने समस्या देखिन्छ । त्यस्तै, ३३ देखि ७० प्रतिशतमा अनुहार, छाती, पेट वा ढाडमा बढी कपाल उम्रनु, डण्डीफोर आउनु र टाउकोको कपाल झर्नु जस्ता समस्या देखिन्छ ।

४० देखि ८० प्रतिशतमा मोटोपन वा तौल घटाउन गाह्रो हुने, छालामा गाढा धब्बा देखिनु, गर्भधारणमा कठिनाइ र थकान बढ्ने समस्या देखिन्छ ।

केही महिलाहरूमा यी लक्षण गर्भनिरोधक साधन प्रयोग गर्दा हराउँछन् ।

कति बेला चिकित्सकलाई देखाउने ?

माथि उल्लेखित लक्षणहरू भएमा, १२ महिनासम्म नियमित असुरक्षित सम्बन्धपछि पनि गर्भ नबसेमा वा महिनावारी अनियमित भएमा तुरुन्त चिकित्सकलाई देखाउन सकिन्छ । यी समस्या रगत परीक्षण, अल्ट्रासाउन्ड र हर्मोन परीक्षणबाट निदान हुन्छ । चाँडो निदानले उपचार सजिलो बनाउँछ ।

के यो समस्याको कुनै समाधान छैन ?

यो समस्यालाई पूर्णरूपमा हटाउन नसके पनि नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि जीवनशैली परिवर्तन, औषधि र उन्नत उपचार विकल्प हुनसक्छन् । (पीसीओएस) भए पनि सन्तान जन्माउन सम्भव हुन्छ, तर सही उपचार र जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

सबैभन्दा पहिले जीवनशैली सुधार महत्त्वपूर्ण हुन्छ । तौल सन्तुलनमा राख्ने, नियमित व्यायाम गर्ने र स्वस्थ आहार (कम चिल्लो, कम चिनी) खाने बानीले हर्मोन सन्तुलनमा ल्याउन मद्दत गर्छ र अण्डा बन्ने प्रक्रिया सुधार्न सक्छ ।

यदि स्वाभाविक रूपमा गर्भधारण हुन गाह्रो भयो भने औषधिको सहारा लिन सकिन्छ । चिकित्सकको सल्लाहमा अण्डाको गुणस्तर बढाउने औषधि प्रयोग गरिन्छ, जसले अण्डा बन्ने प्रक्रिया सक्रिय बनाउँछ ।

त्यसपछि पनि गर्भ रहन नसकेमा अत्याधुनिक प्रविधिहरू प्रयोग गर्न सकिन्छ । जस्तै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) वा इन्ट्रायुट्रयिन इन्सेमिनेसन (आईयूआई)जस्ता विधिले सन्तान प्राप्तिको सम्भावना बढाउँछन् ।

केही अवस्थामा हर्मोन सन्तुलनका लागि अन्य औषधि वा इन्सुलिन नियन्त्रण गर्ने उपचार पनि आवश्यक पर्न सक्छ । समयमै स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर व्यक्तिगत अवस्था अनुसार उपचार योजना बनाउनु सबैभन्दा प्रभावकारी उपाय हो ।

पीसीओएस बाँझोपन
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ