+

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

२०८२ चैत  ९ गते १७:५२ २०८२ चैत ९ गते १७:५२

मिर्गौला प्रत्यारोपण शल्यक्रियाका क्रममा, मिर्गौलाको रक्तसञ्चार पुन: स्थापना हुँदा र पिसाब निस्कँदा मनमा अनुपम उत्साह आउँछ ।

Shares
१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नेपालको सरकारी अस्पतालमा १००० भन्दा बढी मिर्गौला प्रत्यारोपणमा सहभागी हुदाँ एक शल्यचिकित्सकका रूपमा धेरै स्मरणीय क्षणहरू छन् । यस यात्रामा मैले आफ्नो सीप र ज्ञानलाई विस्तार गरेको छु, साथै टिम वर्क र नेतृत्वको महत्वलाई पनि बुझेको छु ।

हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करिब १६०० मिर्गौला प्रत्यारोपण भएको छ । यो संसारकै उत्कृस्ट र धेरै मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल मध्येको एक हो । यसबीचका अनुभव, चुनौतीहरू र सन्तुष्टिका क्षणहरू सम्झनलायक छन् ।

बाल्यकालदेखि नै मेसिनहरूप्रति गहिरो रुचि थियो । घरमा बिग्रिएका उपकरणहरू मर्मत गरेर चल्ने बनाउँदा निकै रमाइलो लाग्थ्यो । मेडिकल स्कुल जानुअघि म सोच्थेँ- शल्यचिकित्सक बन्नु भनेको मानव शरीरलाई मेसिनको रूपमा हेरेर मर्मत गर्नु हो ।

जब मेडिकल कलेजमा प्रवेश गरेँ, मैले बुझ्न थालेँ कि शल्य चिकित्सकको काम केवल अंगहरूको मर्मत गर्नु मात्र होइन, मानिसको जीवन, भावना र संवेदनालाई पनि बुझ्नु हो । हामीलाई पढाउँदा प्रा. डा. सरोज धिताल सधैं भन्नुहुन्थ्यो, ‘मानिसको शरीर मेसिन जस्तो हुँदैन।’ मानव जीवनको गहिराइ र महत्त्वलाई बुझ्दै मेरो प्रारम्भिक सोचाइलाई परिवर्तन गरेँ।

सामान्य शल्यचिकित्साको अध्यन पूरा गरेपछि, मेरो लक्ष्य युरोलोजी र मिर्गौला प्रत्यारोपणको विशेषज्ञता हासिल गर्नु रह्यो । मानिसको मिस्त्री बन्ने होडमा म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आबद्ध भएँ ।बिग्रिएको मोटर फेरेर पंखालाई फेरि चल्ने बनाए जस्तै बिग्रिएको मृगैलालाई फेर्ने कला डा. पुकार चन्द्र श्रेष्ठ, डा. प्रेम राज ज्ञवाली, डा. राकेश वर्मा, डा. विजय मनसिंह कटवाल, डा. दीपेश श्रेष्ठ, डा. किरण जंग कुँवर, डा रवि किरण गौतमको ज्ञन र सिपको आशीर्वादको रूपमा रहन पुग्यो ।

मित्र डा. हरि बराल पनि यही मिसनमा थिए । हामी दुईको उदेश्य युरोलोजी र मिर्गौला प्रत्यारोपण नै थियो । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण शल्यक्रिया र प्रत्येक युरोलोजी शल्यक्रियामा जटिलता र नया अनुभव प्राप्त हुँदै गयो ।

सधैं शल्यक्रिया कक्षमा प्रवेश गर्दा मनमा उत्तेजना, तनाव र जिम्मेवारीको मिश्रण हुन्छ । प्रत्येक शल्यक्रियामा पूरा टोलीकै योगदान हुन्छ र हरेक कदम सावधानीपूर्वक तय हुन्छ । जुनसुकै शल्यक्रिया गर्दा पनि ‘मैले गरेको’ भन्दा पनि ‘हामीले गरेको’, ‘टिमले गरेको’ भन्ने हुन्छ। एनेस्थेसियोलोजिस्ट, एकभन्दा बढी शल्यचिकित्सक, स्क्रब नर्स, अपरेशन थियटर प्राविधिक आदि बिना कुनैपनि शल्यक्रिया हुन सक्दैन ।

नेफ्रोलोजिस्टको पनि भूमिका अतुलनीय हुन्छ । शल्यक्रियामा टिमका सबैले सावधानीपूर्वक आ-आफ्नो काम गर्ने हुन्छ।

मिर्गौला प्रत्यारोपण शल्यक्रियाको क्रममा, मिर्गौलाको रक्तसञ्चार पुन: स्थापना हुँदा र पिसाब निस्कँदा मनमा अनुपम उत्साह आउँछ । यो क्षणले मलाई हरेक पटक मुग्ध बनाउँछ ।

शल्यक्रिया जटिल प्रक्रिया हो, उद्देश्य एक हुन्छ तर हरेक बिरामीमा तारिका कितबमा वा अरू बिरामी भन्दा फरक हुन सक्छ । जस्तै रुखको टुप्पोमा पुग्ने उद्देश्यले रूख चढ्दा कुन हागा समात्ने र टेक्ने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ, शल्यक्रियामा पनि त्यस्तै नै हुन्छ ।

शल्यक्रिया सम्पन्न भएपछि, बिरामीको आँखामा चमक देख्दा र उनीहरूको परिवारको खुसी देख्दा हृदय सन्तोषले भरिन्छ । त्यो हर्ष र आभारको भावना वर्णन गर्न कठिन छ । जब बिरामीहरू र उनीहरूको परिवारले धन्यवाद दिन्छन्, एउटा गहिरो सन्तोष महसुस हुन्छ । यसले हाम्रो मेहनतलाई सार्थक बनाउँछ । यी क्षणहरू मेरो जीवनका उज्याला पलहरू हुन्, जसले हर कदमका लागि प्रेरित गर्दछ । सबै शल्यचिकित्सकको अनुभव प्राय मिल्दोजुल्दो हुन्छ सायद ।

उदाउँदो सूर्यले जस्तै नयाँ जीवनले पनि आशा, उज्यालो र आनन्दको अनुभूति दिलाउँछ। धेरै वर्ग, जाती, धर्म, शैक्षिक स्तर फरक सोच र दृष्टिकोण भएका बिरामीलाई नजिकबाट नियाल्ने मौका मिलेको छ । हरेकको सपना फरक तर जोश उर्जा र उत्साह उस्तै देखिन्छ ।

यस्ता सन्तुष्टिको अनुभूति सँगै चुनौतीहरू पनि छन् । सरकारी अस्पतालको तालिका अत्यन्तै व्यस्त हुन्छ । प्रत्येक दिन परामर्श, शल्यक्रिया र शल्यक्रियापछि हेरचाहले भरिएको हुन्छ । थप युरोलोजी शल्यक्रिया जस्तै: मिर्गौलाको पत्थरी, क्यान्सर, प्रोस्टेट र पिसाब सम्बन्धी सम्पूर्ण रोगको उपचारमा पनि खटिँदा व्यस्तता निकै बढ्छ । कहिलेकाहीं खाना खाने समय पनि हुँदैन । शल्यक्रियाकै क्रममा ठट्टा गर्दै थकान र भोक बिर्सिन्छ । एक-अर्कालाई सम्झाउदै, मुस्कान र हाँसोको साथ कार्य सम्पन्न गरिन्छ ।

मेहनत कडा छ । व्यस्तता त्यत्तिकै तर सरकारी सुख्खा तलबले गुजारा गर्न निकै कठिन पर्छ । यद्यपि, यसले मेरो प्रतिबद्धतालाई कमजोर बनाएको छैन । बिरामीहरूको जीवन बचाउनु र उनीहरूको खुसी देख्नु नै सच्चा पुरस्कार हो । हरेक सफल शल्यक्रियाले गर्व र सन्तोषको भावनाले भरिन्छ । र, आर्थिक कठिनाइहरूलाई पार गर्न, भुल्न मद्दत मिल्छ ।

बिरामीहरू र उनीहरूका परिवारसँगको अन्तरक्रिया कार्यको महत्त्वपूर्ण भाग हो । जब शल्यक्रिया सफल हुन्छ र बिरामीले स्वास्थ्य लाभ गर्छन्, बिरामीको आँसु र मुस्कानले गहिरो रूपमा छुन्छ । यी पलले अनुभूति गराइरहेको हुन्छ ‘हाम्रो कामले कतिसम्म मान्छेको जीवनलाई परिवर्तन गरिरहेको छ ।’

सबै शल्यक्रिया सफल हुँदैनन् । कहिलेकाहीं असफलता र जटिलताहरू आइलाग्छन् । आफ्नो टिमका सदस्यहरूसँग कुरा गरेर अगाडि बढ्ने प्रयास हुन्छ । टिमका सदस्यहरूसँगको साथ र सहयोगले हाम्रा कामलाई प्रभावकारी बनाउँछ । हरेक चुनौतीलाई एकसाथ सामना गर्छौं र हरेक सफलताको खुसी एकसाथ बाढ्छौँ । यो आपसी सहयोगले हाम्रो टिमलाई बलियो बनाएको छ ।

समग्रमा, यो यात्रा चुनौतीपूर्ण भए तापनि, टिमको अनुभवले हामीलाई गहिरो रूपमा समृद्ध बनाएको छ । बिरामीहरूको जीवनमा परिवर्तन आउँदा, उनीहरूको आँसु, हाँसो र आभारको भावनाले मलाई प्रेरित गर्दछ । हरेक चुनौतीले अझै बलियो बनाएको छ र हरेक सन्तोषजनक क्षणले मलाई पेशाप्रति अडिग राखेको छ।

नेपालको स्वास्थ्य सेवामा सुधारका लागि अझ धेरै गर्नुपर्ने छ । देखेको परिवर्तन र प्रगति आशालाग्दो छ । नयाँ प्रविधि, शिक्षित जनशक्ति र सरकारको सहयोगले भविष्यमा अझ राम्रो सेवा दिन सक्ने अवस्था बन्छ भन्ने आशा छ । हामी निरन्तर सुधार र विकासका लागि प्रयासरत छौं । सिक्ने, पढ्ने र बिरामीहरूको जीवनलाई अझ राम्रो बनाउन निरन्तर प्रयास गरिरहेका छौं ।

यो यात्रा चुनौतीपूर्ण र भावनात्मक रहेको छ, तर यसले मलाई अडिग, प्रेरित र सन्तुष्ट बनाएको छ । टिम, परिवार, र बिरामीहरूको साथले मलाई सधैं प्रोत्साहित गरेको छ । मैले यस यात्रामा धेरै सिकेको छु, र हरेक चुनौतीलाई अवसरको रूपमा लिएको छु। हरेक सफलताले गर्व र सन्तोषको भावनाले भरिएको छ । भविष्यप्रति आशावादी भएर, अझ धेरै जीवनलाई परिवर्तन गर्न र स्वास्थ्य सेवामा सुधार ल्याउन निरन्तर प्रयास गर्नेछु ।

मिर्गौला प्रत्यारोपण
डा. रोजन अधिकारी
लेखक
डा. रोजन अधिकारी
मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ

डा. रोजन अधिकारी मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत छन् । (एमबीबीएस, एमआरसीएस, एफसीपीएस युरोलोजी तथा मिर्गौला प्रत्यारोपण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?