+

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

२०८२ चैत  ९ गते १४:०७ २०८२ चैत ९ गते १४:०७

लक्षित बिरामीले केवल बेड मात्र होइन अस्पतालभित्र उपलब्ध हुने परीक्षण र औषधि उपचार समेत निःशुल्क पाउनुपर्छ ।

Shares
नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वि.सं. २०७० मा जारी स्वास्थ्य संस्था मापदण्डले निजी अस्पतालहरूलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन अनिवार्य गरेको छ।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २०८० जेठमा अस्पतालहरूलाई नियम पालना नगरे कारबाही गर्ने चेतावनी दिएका थिए।

नेपालको स्वास्थ्य क्षेत्रमा एउटा यस्तो नियम छ, जुन सुन्दा निकै जनमुखी लाग्छ तर कार्यान्वयनको पाटोमा सधैँ फितलो देखिन्छ । त्यो हो निजी र सामुदायिक अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था । तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने १० प्रतिशत निःशुल्क उपचार भनेको बेड चार्ज मात्र छुट गर्नु होइन ।

यसमा बिरामीको सम्पूर्ण परीक्षण, औषधि, र उपचार समेत निःशुल्क उपलब्ध गराउनुपर्छ । विगत एक दशकको इतिहास हेर्ने हो भने यो मुद्दा कहिले स्वास्थ्य मन्त्रालयका दराजमा थन्कियो, कहिले संसदीय समितिमा तातियो त कहिले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको ‘एक्सन’का रूपमा छायो ।

के यो व्यवस्था अब आउने स्वास्थ्य मन्त्रालयको नयाँ नेतृत्वको प्राथमिकतामा पर्ला त ?

१. २०७० को मापदण्ड

वि.सं. २०७० मा ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड’ जारी भयो । यसको दफा ४ (ध) ले पहिलोपटक स्पष्टसँग १० प्रतिशत निःशुल्क उपचारको वैधानिक जग बसाल्यो भने दफा ४ (न) ले यस्तो उपचारको ‘अभिलेख’ राख्नुपर्ने अनिवार्य व्यवस्था गर्‍यो । तर, विडम्बना ! मापदण्ड त बन्यो, तर त्यसको अनुगमन गर्ने संयन्त्र बनेन ।

अस्पतालहरूले इजाजत लिँदा यो बुँदामा हस्ताक्षर गरे, तर व्यवहारमा विपन्न बिरामीले ‘बेड’ पाउन सधैँ पहुँचवालाकै सिफारिस कुर्नुपर्ने अवस्था रहिरह्यो ।

२. १० प्रतिशत निशुल्क उपचार

केही निजी अस्पताल प्रशासनले यसलाई ‘१० प्रतिशत बेडको शुल्क फ्री’ भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर, कानुनको मर्म त्यस्तो होइन । मापदण्डमा प्रष्ट लेखिएको छ, ‘निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।’ यसको अर्थ, १० प्रतिशत शय्यामा भर्ना भएका लक्षित बिरामीले केवल बेड मात्र होइन अस्पतालभित्र उपलब्ध हुने परीक्षण र औषधि उपचार समेत निःशुल्क पाउनुपर्छ ।

यदि बिरामीसँग औषधि किन्ने वा रगत जाँच्ने पैसा हुन्थ्यो भने उसलाई ’विपन्न’ वा ’असहाय’ को श्रेणीमा राखिँदैनथ्यो । त्यसैले, यो बेडको ’डिस्काउन्ट’ होइन, पूर्ण उपचारको सुनिश्चितता हो।

३. राज्यको सहुलीयत र अस्पतालको सामाजिक दायित्व

अस्पताल सञ्चालकहरू अक्सर सोध्ने गर्छन् कि ‘हामीले फ्रीमा उपचार गर्दा राज्यले हामीलाई के दियो त ?’ यसको उत्तर भन्सार र करको तथ्याङ्कमा लुकेको हुन्छ । राज्यले अस्पतालहरूलाई १० प्रतिशत निःशुल्क सेवाको सर्तमा एमआरआई, सिटी स्क्यान, क्याथल्याब जस्ता करोडौँका उपकरण र एम्बुलेन्स आयात गर्दा भारी भन्सार छुट दिन्छ ।

साथै, निःशुल्क उपचारमा भएको खर्चलाई अस्पतालले आफ्नो आर्थिक व्यायभारमा देखाउन पाउँछन्, जसले आयकरको दायित्व घटाउँछ ।

प्रचलित कानुनअनुसार पनि नाफामूलक संस्थाहरूले आफ्नो खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्छ । अस्पतालहरूका लागि यो १० प्रतिशत निःशुल्क उपचार नै सबैभन्दा ठूलो र प्रभावकारी ’सीएसआर’ हो ।

यसलाई विज्ञापनका लागि गरिने सानातिना शिविरमा भन्दा वास्तविक विपन्नको जीवन बचाउन खर्चिनु नै कानुन र नैतिकता दुवैको पालना हो ।

४. ’बालेन मोडेल’

मेयर बालेन शाहले यो सुस्ताएको मुद्दालाई २०८० मा आएर फेरि ब्युँताइदिए । उनले केवल निर्देशन मात्र दिएनन्, २०८० जेठमा तत्कालीन स्वास्थ्य मन्त्रीलाई भेटेर ७ दिने अल्टिमेटम दिँदै नियम पालना नगर्ने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी समेत दिए ।

अहिले काठमाडौंका ५० भन्दा बढी अस्पतालहरूले आफ्नो विवरण अनलाइन पोर्टलमा राख्न सुरु गरेका छन् । यो प्रयासले के प्रमाणित गर्‍यो भने, यदि स्थानीय सरकारसँग इच्छाशक्ति छ भने संघीय कानुनलाई पनि स्थानीय स्तरमा प्रभावकारी बनाउन सकिन्छ । यो पारदर्शीताको दिशामा एउटा ठूलो फड्को हो ।

५. ‘बालेन सरकार’को कसी

अबको मुख्य प्रश्न बन्दै गरेको ’बालेन सरकार’ को प्राथमिकताको हो । के नयाँ नेतृत्वले यो १० प्रतिशतको मुद्दालाई ’बालेन मोडेल’ झैँ देशभरि लागू गर्ला ? यसका लागि स्वास्थ्य बीमा कार्ड भएकाहरूले यो १० प्रतिशतको सुविधा कसरी पाउने भन्ने नीतिगत स्पष्टता आवश्यक छ ।

साथै, काठमाडौँ महानगरपालिकामा सफल भएको ‘रियल–टाइम’ डिजिटल अनुगमन प्रणालीलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनु अबको सरकारको मुख्य प्राथमिकता हुनुपर्छ । यदि सरकारले निजी क्षेत्रलाई अनुदान वा कर छुट दिन्छ भने १० प्रतिशत निःशुल्क उपचारलाई त्यसको ’अनिवार्य सर्त’ बनाएर नियमित अडिट गरिनुपर्छ ।

२०७० को मापदण्डले एउटा सपना देखायो भने २०८० को ‘बालेन मोडेल’ले त्यसलाई कार्यान्वयनको बाटो देखायो । अब आउने नेतृत्वका लागि यो ’पपुलिस्ट’ एजेन्डा मात्र होइन, संवैधानिक दायित्व हो ।

स्वास्थ्य सेवा व्यापार मात्र होइन, यो एउटा सामाजिक दायित्व पनि हो । अस्पतालको गेटमा पुगेपछि पैसाको अभावमा कुनै नागरिकले उपचार नपाएर फर्कनुपर्ने अवस्था रहनु लोकतान्त्रिक मुलुकका लागि लज्जाको विषय हो । १० प्रतिशत निःशुल्क उपचारको इमानदार कार्यान्वयन नै राज्य र निजी क्षेत्रको अपरिहार्य दायित्व हो ।

निशुल्क उपचार बालेन सरकार
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक