News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले भारतस्थित सङ्गाई इन्टरनेशनल युनिभर्सिटीबाट अध्ययन गरेका ९८ जनालाई ३५ दिनभित्र वैधता पुष्टि गर्ने कागजात पेश गर्न अल्टिमेटम दिएको छ।
- भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सङ्गाई विश्वविद्यालयलाई सूचीबाट हटाएर सो विश्वविद्यालयबाट जारी उपाधिलाई अवैध घोषणा गरेको छ।
- त्रिविले छानबिन प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया सुरु गरेको र प्रमाणित पत्र नल्याएमा समकक्षता खारेज गरिने जनाएको छ।
१४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले भारतस्थित मणिपुर राज्यको सङ्गाई इन्टरनेशनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ जनलाई वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
उक्त समयभित्र प्रमाणित गर्न नसकेका सङ्गाई विश्वविद्यालयबाट हासिल गरेको डिग्रीको समकक्षता (इक्यूभ्यालेन्ट) खारेज हुने केन्द्रले जनाएको छ । यी ९८ जनाले त्रिविबाट समकक्षता लिइसकेका छन् ।
त्रिविले जारी गरेको सूचनामा अधिकांश स्नातक तह र स्नातकोत्तर तहका छन् । छानबिन प्रक्रिया अगाडि बढेकाले उनीहरूले पाएको डिग्री नै संकटमा परेको छ । छानबिन गरिरहेको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम, ठेगाना र उनीहरूले पढेको विषयसमेत सार्वजनिक गरेको छ ।
भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सार्वजनिक सूचना निकालेर सङ्गाई विश्वविद्यालाईे सूचीबाट हटाई सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीको लागि अवैध घोषणा गरेको छ । त्यसैले त्रिविले समकक्षता लिएका विद्यार्थीहरूको डिग्रीको छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
‘समकक्षता पत्रहरू छानबिन भइरहेकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रकोे सक्कल प्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने आधार प्रमाण भए लिखित रुपमा पेश गर्न भनेका छौं,’ केन्द्रका कार्यकारी निर्देशक प्राडा राकृष्ण तिवारीले भने ।
तोकिएको समयभित्र प्रमाणसहित पेश नभए समकक्षता खारेज गर्ने तयारी त्रिविको छ । विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम हुने उनले बताए ।

भारतको विश्वविद्यालय अनुदान आयोगले उक्त विश्वविद्यालयलाई सूचिबाट हटाएपछि त्रिविले इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन प्राडा विनोदकुमार भट्टराईको संयोजकत्वमा सहप्राध्यापक डा. नेत्रप्रसाद शर्मा, उपप्रा चक्रपाणि लम्साल र प्राविधिक सहायक ध्रुब ज्ञवाली रहने गरी समिति गठन गरेको थियो । २०८२ माघ १५ गते समिति बनाएको थियो । समितिले गत फागुन १४ मा प्रतिवेदन बुझाएको हो ।
उक्त समितिको छानबिन प्रतिवेदनको आधारमा केन्द्रले कारबाही प्रक्रिया सुरु गरेको हो । समितिले समकक्षता लिएको प्रमाणित गर्न नसके कारबाही गर्न सिफारिस गरेको छ ।
तर भारतको विश्वविद्यालय अनुदान आयोग वा सरकारी निकायबाट प्रमाणित पत्र ल्याएमा भने समकक्षता कायम हुने छ । ‘अहिले खारेज गरेको होइन । उताबाट प्रमाणित गरेर ल्याएमा यता पनि अनुसन्धान गछौं । बोर्ड बैठक बसेर निर्णय गछौं । सही भएमा समकक्षता कायम रहन्छ,’ निर्देशक तिवारीले भने, ‘जुन अवधिमा त्यो विश्वविद्याय सूचीबाट हट्यो त्यसपछिका मात्र खारेज हुने हो ।’
सङ्गाई विश्वविद्यालयले मान्यता पाएको समयमा डिग्री पूरा गरेको खण्डमा भने खारेज हुने छैन ।
पीएचडीको पनि हुँदैछ अनुसन्धान
सङ्गाई विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेकाको पनि त्रिविले अनुसन्धान गरिरहेको छ । पहिलो चरणमा स्नातक र स्नातकोत्तरको अनुसन्धान गरेको त्रिविले दोस्रो चरणमा पीएचडीको सूचि सार्वजनिक गर्ने छ ।
यो विश्वविद्यालयबाट पीएचडी गर्नेमा कतिपय हाल त्रिविमा कार्यरत प्राध्यापक समेत पर्ने सम्भावना छ । ‘तथ्यांक फिल्टर गर्ने काम भइरहेको छ । त्यसमा को–को छन् अहिले भन्न सकिने अवस्था छैन । अनुसन्धानको क्रममा छ,’ निर्देशक तिवारीले भने ।
जागिर पनि गुमाउने जोखिम
उक्त विश्वविद्यालयबाट लिएको डिग्री खारेज भएमा जागिरसम्म गुमाउनु पर्ने हुन्छ । शैक्षिक योग्यताको आधारमा सरकारी सेवामा रहेकाको समेत जागिर जाने छ । धेरैजसो विद्यार्थी प्राविधिक र इन्जिनियरिङ विषयका छन् । ३५ दिनभित्र प्रमाणित पत्र नल्याएमा उनीहरूको डिग्री खारेजसँगै जागिर पनि जाने छ ।
डिग्रीले मान्यता नपाएपछि कतै जागिर खाएको छ वा छैन भनेर सरकारले नै अर्को अनुसन्धान गर्नुपर्ने हुन्छ । ‘धेरैजसो प्राविधि धारका छन् । स्थानीय तहले त्यो विषय पढेका धेरै कर्मचारी राखेको छ । बाटो, सडक, भवन बनाउने इन्जिनियरहरू छन् । उनीहरू कतै न कतै त काम गरिरहेका छन्,’ त्रिविका एक प्राध्यापकले भने, ‘सरकारले पनि निगरानी र अनुसन्धान गर्नुपर्छ ।’
समितिले अन्य विश्वविद्यालयको समेत छानबिन गरेको थियो । तर अन्य विश्वविद्यालयका विद्यार्थीले त्रिविबाट समकक्षता नलिएको पाइएको छ । संयुक्त अरब इमिरेट्सको Britts Imperial University Clloege, भारतकै झारखण्डको Pragyan International University, मेघालयको CMj University / Techno Gobal University Shifllong को पनि अनुसन्धान गरिएको थियो । यी विश्वविद्यायमा पढेकाले त्रिविबाट समकक्षता नलिइएको पाइएको छ ।
विश्वविद्यालय बुझेर मात्र जानू
विश्वविद्यालयबारे नबुझी जाँदा डिग्री खारेज हुने अवस्था आएकाले थप बुझेर मात्र वैदेशिक अध्ययनमा जान त्रिविले विद्यार्थी र अभिभावकलाई भनेको छ । छिमेकी देश भारतामा अध्ययन गर्न जाँदा अध्ययन अनुमतिपत्र (एनओसी) नलिइ विद्यार्थी जाने गरेका छन् ।
खुला सिमानाका कारण एनओसी बिना विद्यार्थी जादा पछि समकक्षतमा समस्या आउने गरेको छ । यसरी नबुझी अध्ययन गर्न जाँदा फस्ने जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले विश्वविद्यालयबारे बुझेर मात्र जना त्रिविले भनेको छ । ‘अभिभावक र विद्यार्थीले विशेष ध्यान दिनुपर्छ । विश्वविद्यालय कस्तो हो ? पढ्ने विषय के हो ? मान्यता पाएको छ छैन बुझेर मात्र जानुपर्छ,’ कार्यकारी निर्देशक तिवारीले भने ।

प्रतिक्रिया 4