+
+
Shares

सुडानमा यौन हिंसालाई हतियार बनाइँदा गहिरिँदै मानसिक संकट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुडानमा जारी द्वन्द्वमा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा गम्भीर मानसिक स्वास्थ्य संकट उत्पन्न भएको छ।
  • जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म ३३९६ जना यौन हिंसाका पीडितले उपचार खोजेका छन्, तर वास्तविक संख्या धेरै बढी छ।
  • सुरक्षा जोखिम र स्रोत अभावले उपचार सेवा सीमित भएका कारण आत्महत्या र मानसिक समस्या बढेको संयुक्त राष्ट्र निकायहरूले बताएका छन्।

१६ वैशाख, जेनेभा । सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा यसको प्रभाव शारीरिक क्षतिमा मात्र सीमित नरही गम्भीर मानसिक स्वास्थ्य संकटमा परिणत भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकाय र स्थानीय सहायता समूहहरूले यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पीडितहरूका लागि तत्काल र दीर्घकालीन मनोसामाजिक सहयोग अपरिहार्य रहेको औँल्याएका छन् ।

अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी भीषण द्वन्द्वले दसौँ हजार मानिसको ज्यान लिइसकेको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन् । यही हिंसात्मक वातावरणमा बलात्कार र अन्य यौन अपराधहरूलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।

मेडिकल च्यारिटी ‘डक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ) का अनुसार जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म उत्तर र दक्षिण डार्फर क्षेत्रमा उनीहरूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा यौन हिंसाबाट बचेका कम्तीमा ३ हजार ३९६ जनाले उपचार खोजेका थिए ।

तीमध्ये अधिकांश महिला र किशोरीहरू छन् । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यो सङ्ख्या वास्तविक अवस्थाको निकै सानो अंश मात्र भएको संकेत गरेको छ ।

डब्लुएचओको लैङ्गिक हिंसा एकाइकी प्रमुख अवनी अमिनले यौन हिंसाका पीडितहरूले सेवा लिन असाध्यै कठिनाइ भोगिरहेको बताइन् । असुरक्षा, स्वास्थ्य संस्थामा पुग्न गाह्रो तथा यस्ता घटनासँग जुध्न प्रशिक्षित स्वास्थ्यकर्मीको अभावले समस्या झनै जटिल बनाएको उनको भनाइ छ ।

सामाजिक कलङ्कका कारण धेरै पीडितहरूले घटना सार्वजनिक गर्नै नसक्ने अवस्था रहेको औँल्याउँदै उनले भनिन्, ‘एउटा घटना सार्वजनिक हुने प्रत्येक अवस्थामा अरू धेरै महिलाहरू चुपचाप पीडा सहेर बस्न बाध्य हुने सम्भावना रहन्छ ।’

डार्फर वुमन एक्सन ग्रुपकी निमत अहमदीले हिंसापछि उपचार खोज्ने महिलाहरूले सामना गर्नुपरेको भयावह अवस्थाबारे जानकारी दिइन् । सामूहिक बलात्कारपछि धेरै महिलाहरू गम्भीर स्वास्थ्य जटिलता, विशेषगरी फिस्टुलाजस्ता समस्याबाट पीडित हुने गरेका छन् ।

‘शान्तिकालमै यस्ता बिरामीका लागि पर्याप्त चिकित्सक नभएको अवस्थामा अहिले त सेवा लगभग शून्यजस्तै भएको छ,’ उनले भनिन् ।

धेरै स्वास्थ्य संस्था लडाकु समूहको नियन्त्रणमा रहेकाले अपहरण र बलात्कारपछि बचेका महिलाहरू अस्पताल जानसमेत डराउने गरेको अहमदीले बताइन् । एउटा अस्पतालमा आरएसएफका लडाकुहरू प्रवेश गरी स्वास्थ्यकर्मीमाथि नै गोली प्रहार र बलात्कार गरेको घटना स्मरण गर्दै उनले त्यही क्रममा उपचाररत एक सुत्केरीको ज्यान गएको जानकारी दिइन् ।

सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय सहायता संस्थाहरू फर्किएको र मानवीय सहयोगमा कटौती भएकोले अवस्था अझ जटिल बनेको छ । स्रोत अभावका बिच साना स्थानीय महिला संस्थाहरूले मात्रै सेवा दिनुपरेको र त्यसले जोखिम बढाएको उनको भनाइ छ ।

संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) ले पनि सेवाको अभावले पीडितहरूमा गम्भीर असर परेको जनाएको छ । युएनएफपीएका मानवीय प्रतिक्रिया प्रमुख सोको अराकाकीले यौन हिंसापछि ७२ घण्टाभित्र उपचार पाउनु अत्यन्त आवश्यक हुने तर अहिले औषधि र सेवा दुवैको अभाव रहेको बताइन् ।

विशेषगरी मानसिक स्वास्थ्य सहयोगको आवश्यकता अत्यधिक बढेको उल्लेख गर्दै अराकाकीले पीडितहरूमा गम्भीर मनोवैज्ञानिक समस्या देखिएको बताइन् । ‘आत्महत्याका घटनाहरूसमेत बढिरहेका छन्,’ उनले भनिन् ।

यस्ता घटनाको आधिकारिक विवरण सङ्कलन गर्न कठिन भए पनि स्थानीय स्रोतहरूले बलात्कारको डर वा त्यसपछि हुने सामाजिक बहिष्कारबाट बच्न महिलाहरूले आत्महत्या गर्ने क्रम बढेको सङ्केत दिएका छन् ।

डब्लुएचओकी अवनी अमिनले जीवनरक्षाको प्रयाससँगै मानसिक स्वास्थ्य सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । यस्ता द्वन्द्वका असरहरू तत्काल मात्र नभई दीर्घकालीन रूपमा पुस्तौँसम्म रहने भएकाले अहिले नै व्यापक तयारी र सहयोग प्रणाली विकास गर्नुपर्नेमा उनको जोड छ ।

-एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?