News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन्।
- सभामा विश्वका ४० भन्दा बढी देशका ऊर्जामन्त्री र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन् र सौर्य ऊर्जाको प्रवर्द्धनमा छलफल हुनेछ।
- मन्त्री घिसिङले \'बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना\' शीर्षकमा मुख्य सम्बोधन गर्नेछन्।
१० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् ।
मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत् सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सोमबारदेखि कात्तिक १३ गतेसम्म (२७–३० अक्टोबर २०२५) हुने उक्त सभामा विश्वका ४० भन्दा बढी देशका ऊर्जामन्त्री र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन् ।
नयाँ दिल्लीमा आयोजना हुने सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल, र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनासहितका विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ ।
मन्त्री घिसिङले नेपालका तर्फबाट सभामा सहभागिता जनाउँदै विशेष सम्बोधन गर्नेछन् ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ शीर्षकको सत्रमा मुख्य सम्बोधन गर्ने तयारीमा छन् ।
सन् २०१५ को नोभेम्बरमा पेरिसमा जारी गरिएको घोषणापत्रमार्फत् सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रवर्द्धन र संयुक्त चुनौती समाधानका लागि आईएसए स्थापना गरेका थिए ।
सन् २०३० सम्ममा एक ट्रिलियन (एक हजार अर्ब) अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने तथा सौर्य प्रविधिको विकास र उपयोग मार्गनिर्देशन गर्ने लक्ष्यसहित गठबन्धन सक्रिय छ ।
नेपाल २०८१ साल भदौमा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन गरी आईएसएको १०१औं सदस्य राष्ट्र बनेको हो ।
मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया 4