+
+

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १९:२८

१० फागुन, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन उनी यसअघि मुद्दाको पुर्पक्षका लागि नै जेलमा बसिसकेका छन् ।

अब उनले कैदमा बस्नुपर्ने ७ वर्ष ८ महिना २२ दिनको दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम ८ लाख ४५ हजार १०० रुपैयाँ, जिल्ला अदालतले तोकेको ३ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा बुझाउनुपर्ने १२ हजार रुपैयाँ र पीडितलाई भराइदिनुपर्ने राहत २ लाख रुपैयाँ गरी १३ लाख ५७ हजार १०० रुपैयाँ अदालतलाई बुझाउनुपर्ने थियो ।

सन्दीपले यसअघि नै काठमाडौं जिल्ला अदालतमा धरौटीबापत २० लाख रुपैयाँ बुझाइसकेकाले अदालतले अहिले उनीसँग थप रकम लिएको छैन ।

हेर्नुहोस् उच्च अदालतको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?