News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले चलचित्र 'लालीबजार' का केही विवादित दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्र प्रदर्शन गर्न आदेश दिएको छ ।
- न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले रोशनी वादीको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।
- अदालतले केन्द्रीय चलचित्र जाँच समितिको निर्णय बमोजिम 'वादी' र 'राजाको सामान' जस्ता शब्दहरू नसुन्ने बनाउन निर्देशन दिएको छ ।
१३ जेठ, काठमाडौं । चलचित्र लालीबजारका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको छ ।
रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो ।
केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयको बुँदा नम्बर २ मा उल्लेख भएको ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’ भन्नेसम्मका शब्दहरू नसुन्ने बनाउन इजलासले आदेश दिएको हो । सो बमोजिम कार्यान्वयन भए नभएको समितिबाट नियमित अनुगमन गरी सो को कार्यान्वयन हुने प्रबन्ध गर्नू समेत आदेशमा भनिएको छ ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फिल्म तत्कालका लागि निर्वाध प्रदर्शनको बाटो खुलेको फिल्मका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बताए ।
फिल्मले वादी समुदायको मर्यादामा आँच पुगेको भन्दै रोशनी वादीले रिट दायर गरेकी थिइन् । यसअघि पनि उच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
उक्त आदेशलाई चुनौती दिँदै रोशनीले सर्वोच्चमा रिट हालेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने निक्र्योल गर्न भन्दै उच्च अदालत पाटनलाई आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेशअनुसार उच्चमा पुनः सुनुवाइ भएको हो । कानुन व्यवसायी श्रेष्ठका अनुसार उच्च अदालतमा अर्को सुनुवाइको मिति तोकिन बाँकी छ ।
बुधबार नै सर्वोच्चमा यो फिल्मविरुद्ध नयाँ रिट दायर भएको छ । बसन्ती बादीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीलाई छलफलमा बोलाएको छ ।
प्रतिक्रिया 4