+
+
नवौं राष्ट्रिय खेलकुद  :

मन्त्री मनाङेले भने : एक रुपैयाँ छैन, कम्ती टेन्सन छ !

तयारीका लागि बजेट नदिएको गुनासो

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ १५ गते २०:०९

१५ भदौ, पोखरा । गण्डकीमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले प्रशिक्षण तथा खेलाडी छनोट भइरहेको छ । असोज २८ कात्तिक ३ गतेसम्म गण्डकीका विभिन्न जिल्लामा हुने भनिएको प्रतियोगिताका लागि भने न पर्याप्त बजेट छ न त तयारी नै पुग्दो छ ।

जिल्ला खेलकुद विकास समितिका एक पदाधिकारीका अनुसार खेल मैदानकै अभाव छ भने खेलाडीको खानालगायतका लागि पनि बजेट अभाव छ । ‘बजेट नआइपुग्दै प्रशिक्षण सुरु ग¥यौं । खेलाडीको पनि बिजोग छ । प्राक्टिसमा आएका खेलाडी नै खेल हुन्छ कि हुँदैन भन्ने आशंका गरिराखेका छन्,’ ती पदाधिकारी भन्छन्, ‘न डाइट छ न मैदान, यसरी कसरी हुन्छ ?’

बुधबारसम्म गण्डकीमा कहाँ, कुन खेल हुने भन्नेबारे टुंगो लगाइसक्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको थियो । तर, सबै खेल संघले पोखरा नै तोकेकाले मैदानबारे पनि टुंगो लाग्न नसकेको खेलस्थल व्यवस्थापन समिति संयोजक राजेश गुरुङ सुनाउँछन् ।

‘बीचमा सबै उल्टोपाल्टो भयो । सबैले पोखरा नै रोजेर अलमलमा परियो । २५ खेल पोखरा र ९ खेल बाहिर खेलाउने भनेर सदस्य सचिवलाई आजै (बुधबार) पठाएको छु,’ उनले भने, ‘अब अन्तिम चरणमा छ ।’

यता गण्डकी प्रदेशको खेलकुद मन्त्रालयले नै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणामै असन्तुष्टि पोखेको छ । नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याएर पनि नपठाएको र पूर्वाधारको व्यवस्थापन नगरिकनै मिति घोषणा गरेको मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को आरोप छ ।

बुधबार मन्त्रालयमै भएको पत्रकार सम्मेलनमा मन्त्री मनाङेले गण्डकीलाई पर्याप्त बजेटको व्यवस्था नगरे खेल आयोजना गर्न नसक्नेसमेत बताएका छन् । उनले नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ माग गरेकोमा साढे ३ करोड रुपैयाँमात्रै दिएको बताए ।

‘मैले त पहिल्यैदेखि यो राष्ट्रिय खेलकुद हुँदैन भन्दै आएको छु । कसैले वास्तै गरेन । हामीले मागेको एक रुप्पे पनि आएन’, मन्त्री मनाङेले भने, ‘खेलाडीले डाइट त परको कुरा, कार्यक्रम गरेर खाजा खाने पैसासमेत छैन ।’

मन्त्री मनाङेले नवौं खेलकुदका लागि विनियोजन भएको ६० करोड रुपैयाँ पनि नआएको दाबी गरे । उनले आवश्यक बजेट बिना काम गर्दा भोलि मन्त्रालयलाई नै ठगी मुद्दा लाग्ने जिकिर गरे ।

‘पैसा नै नभएपछि खेल कसरी हुन्छ ? होटल, रेष्टुरेन्टले फ्रिमा राख्छ ? यसरी त ठगी मुद्दा लाग्छ, कि उनीहरुले मुद्दा हाल्दिन भनेर सबैले साइन गर्नुप¥यो,’ उनले भने, ‘खाएको पैसा, क्लोज क्याम्पको पैसा कसले तिरिदिन्छ ? ६० करोड रुपैयाँ खै ? त्यो पैसा प्रत्येक प्रदेशमा ५ करोड, ६ करोड पैसा जानुपर्दैन ? खै त्यो पैसा ?’

नवौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ छुट्याएको थियो । मन्त्री मनाङेले सोही रकमको हिसाब खोजेका हुन् ।

मनाङेले प्रदेशलाई बजेट नदिनुका साथै भौतिक पूर्वाधारसमेत व्यवस्था नगरिदिएको सुनाएका छन् । ‘कति बजेट मागेंमागें । मैले मेरो लागि मागेको हो र ? यहाँको संरचना त पूरा गर्देऊ, रातो किताबमा आएको बजेट देऊ भन्दा पनि सुनेनन्,’ उनले भने ।

आफ्नो योजनाअनुसार काम नभएपछि नवौं राष्ट्रिय खेलकुदमा आफू संलग्न नहुनेसमेत मन्त्री मनाङेले घोषणा गरेका छन् । उनले सबै जिम्मा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङलाई दिएको सुनाए ।

‘यो काम उहाँकै हो । मलाई मतलब छैन । मसँग एक रुप्पे केही पनि छैन । मन्त्री भएर आफ्नै भिजन निकाल्न सकिनँ, प्लानिङ केही भएन भने कसरी गेम गराउन सक्छु ?’ मन्त्री मनाङेले भने, ‘नवौंमा हामी केही पनि प्रिमियर छैन, बल्ल मन्त्रालय बनेको छ । ग्राउन्ड बनाउँदै हिंडिराखेको छु । कम्ती टेन्सन छ ?’

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पनि प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणका लागि ७ करोड ८५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको सुनाए । ‘अझै पनि डेढ करोड रुपैयाँ अपुग हुन्छ’, उनले भने, ‘अपुग रकम प्राप्त भएमा मात्रै हामीले काम गर्न सक्छौं ।’

६० करोड खोज्न समिति !

नवौं राष्ट्रिय खेलकुदका लागि विनियोजन भएको ६० करोड रुपैयाँ खोज्न मन्त्रालयले अनुगमन समिति गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् ।

समितिमा दीपक गोदार, ओम बस्नेत, लक्ष्मण कुँवर, प्रंका बर्मा, सिद्धान्त अधिकारी, मैनबहादुर गर्बुजा, सुजन आचार्य, धन बस्नेत र रामराज अधिकारी छन् ।

‘यो चाहिँ मैले राम्रो टिम बनाएको छु । यो टिमले ६० करोड रुपैयाँ कहाँ गयो, कहाँ कहाँ खर्च गयो भन्ने खोज्नेछ,’ मन्त्री मनाङेले भने, ‘उनीहरुले कसले खाएको पत्ता लगाउनेछन् ।’

६ खेलको मनाङमा क्लोज क्याम्प

राखेपले प्रत्येक प्रदेशले बढीमा ३३५ महिला र ३७४ खेलाडी संख्या तोकेको छ । तर, गण्डकी प्रदेशले भने ४०४ इभेन्टमा ४११ पुरुष र २९८ जना महिला खेलाडी संख्या तोकेको छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव खेलाडी संख्याबारे राखेपमै विवाद रहेको र आफूहरुलाई पछिल्लो पटक दिइएको ‘कोटा’ अनुसार नै खेलाडी छनोट हुने जानकारी दिए । ‘पहिलेको अर्कै कोटा थियो । तर, अहिले परिमार्जित नयाँ आएअनुसार संख्या ठीक छ । बढी भएको होइन’, उनले भने ।

नवौंका लागि गण्डकीबाट ६ खेललाई हाइ अल्टिच्युड प्रशिक्षणका लागि मनाङ लगिने भएको छ । भलिबल, बास्केटबल, कराते, आईटीएफ तेक्वान्दो, फल कन्ट्याक्ट कराते र तेक्वान्दो खेलका एक सय जना खेलाडीलाई मनाङ लगिने सदस्य सचिव गुरुङले जानकारी दिए ।

खेलाडीले मनाङमा असोज १ गतेदेखि १५ दिनसम्मका लागि उच्च भेगमा बन्द प्रशिक्षण लिनेछन् । ‘यी खेल भनेको गण्डकीले स्वर्ण पदक आश गरेका खेल हुन्, नेपालमा यो अभ्यासै भएको छैन । जोखिम र खर्चालु पनि उस्तै भएकाले सबैका खेलका लागि हाइअल्टिट््युड ट्रेनिङ सुट हुँदैन,’ गुरुङले भने, ‘अझै फाइनल हुनै बाँकी छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?