+
+

आत्मा मरेको नेपाल क्रिकेट टिम

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ १६ गते १९:२८
केन्यामा रहेको नेपाली टिम ।

१६ भदौ, काठमाडौं । क्रिकेटलाई सम्भावनाको खेल पनि भनिन्छ । यसको अर्थ क्रिकेट त्यस्तो खेल हो जहाँ असम्भव केहि छैन । सन् २०१८ मा नेपालले क्यानडालाई पराजित गरी एकदिवसीय मान्यता पाउँदाको क्षण यसको उत्कृष्ट उदाहरण थियो । यस्ता धेरै खेलहरुमा अविश्वसनीय प्रदर्शन गरेरै नेपाल क्रिकेटले यहाँसम्मको यात्रा तय गरेको हो ।

सन् २०१३ को नोभेम्बरमा केन्यामाथि १८३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालको प्रदर्शन आश्चर्यजनक थियो । शरद भेषावकरले अन्तिम ओभरमा ३ छक्कासहित २० रन जोडेर सम्भव बनाएको त्यो जितले नेपाल ऐतिहासिक टी–२० विश्वकपमा छानियो ।

नेपालले टी–२० मा त्यस समयसम्मको सर्वाधिक लक्ष्य पूरा गरेको थियो । कप्तान पारस खड्का र सुवास खकुरेलको अर्धशतक योगदानमा नेपालले २ बल अगावै ६ विकेटको जित हातपारेको थियो । जसले केन्याका राकेप पटेलको शतक छायामा पारेको थियो ।

०००

२०१३ अप्रिलमा बर्मुडामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री मा नेपालले सुरुवाती दुई खेलमा पराजित हुँदा धेरैले दोस्रो डिभिजनमा उक्लनेमा शंका गर्न थालेका थिए । तर, बाँकी चार खेल जितेर नेपाल डिभिजन थ्रीको च्याम्पियन बन्नु अर्को आश्चर्यजनक उपलब्धि थियो ।

६ टिम सहभागी प्रतियोगितामा नेपालले अमेरिका र युगाण्डासँग हार व्यहोरेको हो । फाइनलमा पुग्न आफूले बाँकी खेल जितेर मात्र हुँदैनथ्यो । अन्य टिमको नतिजा पनि नेपालको अनुकुलतामा हुनुपर्ने थियो । त्यस्तै भयो । नेपालले फाइनलमा युगाण्डालाई हराएर डिभिजन टू मा पुगेको हो ।

०००

सन् २०१८ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले एकपछि अर्को सनसनी प्रदर्शन गरेको थियो । ६ टिम सहभागी प्रतियोगिताको लिग चरणमा नेपालले जितेका चारमध्ये तीन खेलको नतिजा अन्तिम ओभरमा निस्किएको थियो । केन्या र क्यानडालाई हराउँदा त अन्तिम बलमा नतिजा छिनोफानो भएको हो ।

क्यानडाविरुद्धको खेल त अविश्वसनीय थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपाल १४४–९ को कठिन स्थितिमा रहँदा दशौं विकेटका लागि करण केसी र सन्दीप लामिछानेले ५१ रनको साझेदारी गर्दै खेल जिताए । यो जितले नेपाललाई शीर्ष दुईमा पुर्‍यायो र विश्वकप छनोटमा स्थान सुरक्षित गरायो । विश्वकप छनोटमा क्यानडालाई नै हराएर नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

एसोसिएट राष्ट्रबीचको प्रतिस्पर्धामा विपक्षी टोलीहरु नेपालसँग नजिक पर्न चाहँदैनथे । धेरैपल्ट असम्भव ठानिएका ‘टास्क’मा नेपाल खरो उत्रिएको छ । पछिल्ला १० वर्षको नेपाली क्रिकेटको नतिजाले त्यस्तै बताउँछ । जहाँ नेपाल टिम डिभिजन पाँचदेखि एक हुँदै टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्म पुगेको थियो ।

कोरोना महामारीका कारण करिव दुई वर्ष आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढा रहेको नेपाली टिममा पुस्तान्तरणको प्रक्रिया सुरु भएसँगै टिमको आफ्नै छविमा कमी आउन थालेको महशुस भएको छ । नेपाललाई ऐतिहासिक सफलता दिलाउने टिमका सदस्यहरु कप्तान पारस, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराईलगायतका स्टारहरु अहिले टिममा छैनन् ।

गत मंसिरमा खेलाडी वर्गीकरणमा प्रश्न गर्दा नेपाल क्रिकेट संघ क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीलाई कारबाही गरेपछि नेपाल टिममा धेरै उतारचढाव भएका छन् । आईसीसी वरीयतामा आफूभन्दा १७ स्थान तल रहेको केन्याविरुद्ध १०२ रनको लक्ष्य पूरा गर्न नसक्नुलाई नेपाली खेलाडीको क्षमतामा होइन शैलीमा प्रश्न गर्न थालिएको छ ।

केन्यासँगको टी-२० आई उपाधि जितेको नेपाली टिम ।

सन् २०२४ को टी–२० विश्वकपमा सिधा छनोटका लागि नेपाललाई आईसीसी वरीयता महत्वपूर्ण छ तर, केन्यासँगको दुई हारले नेपालको वरीयता नैरोवी जानुअघि भन्दा तल झरेको छ । शृंखला ३–२ ले जिते पनि नेपालको वरीयता सुधारको लक्ष्य असफल भएको छ ।

योमात्र होइन पछिल्लो एक वर्षदेखि नेपाल क्रिकेटका प्रायः सबै सूचकहरु नकारात्मक बनिरहेका छन् । क्यान–खेलाडी विवाद र कारबाहीको प्रक्रियायता टिममा गुटबन्दीको ठूलो आरोप लागेको छ ।

टी–२० विश्वकप २०२२ को छनोटमा युएईसँग निर्णायक हार ब्यहोर्नु, आईसीसी विश्वकप क्रिकेट लिग टूको खराव स्थिति र पटक पटक प्रमुख प्रशिक्षक परिवर्तनले नेपाल टिम पक्कै सहज स्थितिमा छैन । अघिल्लो महिना नियुक्ति पाएका भारतका पूर्व स्टार अलराउण्डर मनोज प्रभाकर पछिल्लो चार वर्षमा नेपाल क्रिकेटको मुख्य प्रशिक्षक हुने चौथा व्यक्ति हुन् ।

फरक फरक परिस्थितिबाट राष्ट्रिय टिममा आएका खेलाडीहरुको एउटै लक्ष्य हुन्छ/हुनुपर्छ कि नेपाललाई जिताउने । सबैको सधैं एउटै लय हुँदैन । एक अर्काको भरोसा र सहयोगमा टिमले प्रदर्शन गर्छ । नेपालको पछिल्ला केहि इनिङ हेर्ने हो भने टिमको जिम्मेवारी लिएर खेलेको उदाहरण कमै भेटिन्छन् । यतिबेला नेपाल क्रिकेट टिम आत्माबिना खेलिरहेको छ । त्यस्तो आत्मा जसले टिमको उद्धार गर्न सकोस । टिमलाई एकतावद्ध पार्न र सकारात्मक लयमा फर्काउन सकोस ।

केन्याको निमन्त्रणामा पहिलोपल्ट अफ्रिकामा शृंखला खेलेको नेपालले ३–२ ले जितेको छ । यो शृंखला नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरका लागि खेलाडी चिन्ने र टिमको परीक्षण गर्ने अवसर थियो । टी–२० शृंखलामा नेपालको ब्याटिङबाट सायद उनी खुसी हुने छैनन् । शृंखला जिते पनि नेपालको प्रदर्शन र खेलाडीको गैरजिम्मेवारी विर्सनलायक रह्यो । नेपालले तीन खेलको एकदिवसीय शृंखला खेल्न बाँकी छ ।

म्यान अफ दि म्याचको अवार्ड लिँदै ज्ञानेन्द्र ।

कप्तान सन्दीप लामिछाने एकै खेलमा ५ विकेट लिनु व्यक्तिगत रुपमा उनका लागि पनि उपलब्धि भयो । टिमले जित्न नसकेको खेलमा खेलाडीको प्रदर्शन सधैं गौण रहन्छ । अन्तिम खेलमा ज्ञानेन्द्र मल्लले नेपालको लागि एक मात्र अर्धशतक प्रहार गरे ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गर्नु, युवा विकेटकिपर अर्जुन साउदको राष्ट्रिय टिममा आगमन हुनुलाई पनि राम्रो पक्ष मान्न सकिन्छ । यू–१९ टिमका सदस्य अर्जुनले राष्ट्रिय टिम डेब्यूमै ओपनर र विकेटकिपिङ दुवै भूमिमा राम्रो सम्भावना देखाएका छन् ।

ज्ञानेन्द्रको पुनरागमन र अर्जुनको डेब्यु

केन्या भ्रमणमा मुख्यत नेपालका दुई खेलाडीको चर्चा बढी भयो । उनीहरु टिममा परेदेखि नै चर्चामा थिए र केन्यामा पनि त्यो चर्चा केही हदसम्म कायम राखे । उनीहरु हुन् पुर्व कप्तान ज्ञानेन्द्र मल्ल र युवा विकेटकिपर अर्जुन साउद ।

ज्ञानेन्द्रले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गर्दै आफ्नो अनुभवलाई टिमसँग बाँडे । मैदानमा पनि उनको ब्याटबाट रन बन्यो । विशेषगरी केन्याविरुद्ध अन्तिम खेलमा उनले अर्धशतक प्रहार गरे । उनले तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय पहिलो अर्धशतक प्रहार गरेका हुन् । यस्तै तेस्रो खेलमा ज्ञानेन्द्रले सर्वाधिक ४६ रन बनाएका थिए ।

उनले पहिलो खेलमा २३ रन बनाए । दोस्रो खेलमा १ र चौथो खेलमा ६ रनमा आउट भए ।

टी–२० मा ज्ञानेन्द्रले वान डाउन अर्थात तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । एकदिवसीयमा उनले आसिफ शेखसँग ओपनिङ गर्ने सम्भावना समेत छ ।

ज्ञानेन्द्र तेस्रो खेलमा म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।

यस्तै १९ वर्षीय विकेटकिपर ब्याटर अर्जुन साउदले पहिलो पटक राष्ट्रिय टिममा समावेश हुँदै केन्या गएका थिए । टिममा नम्बर वान विकेटकिपर आसिफ शेख रहेको अवस्थामा अर्जुन रिभर्ज विकेटकिपर र मध्यक्रमका लागि पनि विकल्पका रुपमा थिए ।

तर सुरुवाती दुई खेल बेञ्चमा बसेर हेरेका अर्जुनले तेस्रो खेलमा उनै आसिफलाई प्रतिस्थापन गर्दै नेपालको सिनियर टिमबाट डेब्यु गरे ।

अर्जुनलाई क्याप प्रदान गर्दै कप्तान सन्दीप ।

कुशल भुर्तेल छिममा नपर्नु र आसिफलाई पनि आरम दिँदा अर्जुनको भाग्य खुल्यो । उनले पवन सर्राफसँग ओपनिङ गरे । पहिलो खेलमै ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरेर ३५ रन बनाए । उनले नेपाललाई त्यस खेलमा आक्रामक सुरुवात दिलाएका थिए ।

खेलपछि कप्तान सन्दीप र ज्ञानेन्द्रले समेत अर्जुनको तारिफ गरेका थिए । अर्जुनले पनि डेब्यु खेल भन्दा पनि खेलिरहेको जस्तो तरिकाले खेले ।

नेपालको चौथो तथा आफ्नो दोस्रो खेलमा भने अर्जुन ६ रनमा आउट भए । तर उनले विकेटपछाडि राम्रो प्रदर्शन गरे । एकै खेलमा दुई स्टम्पिङ र एक क्याच गरे ।

अर्जुनले पाँचौ टी–२० मा २९ रन बनाए ।

जितेका तीन खेलको प्रदर्शन

नेपालले पहिलो र तेस्रो खेल जितेको थियो । खेल जित्दा कमजोरीहरु छोपिने भएकोले पनि जितकै बढी चर्चा भयो । तर नेपालको ओपनिङ र ब्याटिङ भने अझै समस्याकै रुपमा देखियो ।

पहिलो खेलमा नेपालले १३१ रनको लक्ष्य पूरा गर्न १९.२ ओभर खेल्नुपर्‍यो र ५ विकेट गुमाएको थियो ।

यस खेलमा नेपालको पहिलो विकेटको साझेदारी जम्मा ४ थियो । ओपनर पवन सर्रफ १ रनमा आउट हुँदा आसिफले १९ रन बनाएका थिए ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा आरिफ शेखले १५ बलमा अविजित २५ रन बनाएका थिए । बलिङमा सोमपाल कामीले ३ र सन्दीप लामिछानेले २ विकेट लिएका थिए । भिसा समस्याका कारण ढिलो केन्या पुगेका सोमपालले त्यसको भोलीपल्ट मैदान उत्रँदै म्यान अफ दि म्याच प्रदर्शन गरे ।

तेस्रो खेलमा नेपालले आफ्नो टी–२० आईमै सर्वाधिक १५७ रनको लक्ष्य पूरा गर्दै जित निकाल्यो । यस खेलमा दुवै टोलीले राम्रो ब्याटिङ गरेका थिए । राकेप पटेल र इर्फान करिमले अर्धशतक बनाउद शतकीय साझेदारी गरे पनि केन्याले १५६ रन बनाएको थियो ।

यस खेलमा नेपालले पनि १९.३ बल खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍योे । डेब्युटान्ट अर्जुन साउदले पहिलो विकेटका लागि पवन सर्राफसँग ३।२ ओभरमै ३५ रनको साझेदारी गरेका थिए । पवनले २० र अर्जुनले ३५ रन बनाए । यस्तै ज्ञानेन्द्रले सर्वाधिक ४६ रन जोडे । यसबाहेक रोहित पौडेलले २९ र आदिल बलमले १६ रन जोडे । तर राम्रो ब्याटिङ गरिरहेका ब्याटरले खेललाई फिनिसिङ गर्न सकेनन् र खराब ससट खेलेर आउट भए ।

यस खेलमा कप्तान सन्दीपले विकेट लिन सकेनन् । उनी टी-२०आईमा लगातार २६ खेलपछि विकेटविहिन बन्दा ४ ओभरमा ४२ रन खर्चन पुगे ।

कमजोर ब्याटिङले हार

नेपालको जितेको खेलमा पनि कमजोरी धेरै थियो । पराजित भएको खेलमा झन् सबै कमजोरी छताछुल्ल नै भयो । बलिङमा राम्रै प्रदर्शन गरेको नेपालको ब्याटिङ फ्लप भयो । सामान्य लक्ष्य समेत पूरा गर्न सकेन भने जित नजिक पुग्दा पनि खेललाई फिनिस गर्न सकेन ।

पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा १३३ रनको लक्ष्य पछ्याउँदा एक ओभर अघि नै ११४ रनमा अलआउट भयो । विशेषगरी ब्याटरले जिम्मेवारीपूर्वक नखेल्दा नेपाल पराजित भयो ।

यस खेलमा ओपनर पवन र आसिफले पहिलो विकेटका लागि जम्मा १० रनको साझेदारी गरे ।

नेपालका लागि आरिफ शेखले यस खेलमा सर्वाधिक २५ रन बनाएका थिए । रोहित र आदिलले समान २० रन बनाउँदा पवनले १९ रन जोडे । नेपालले पूरा ओभर समेत ब्याटिङ गर्न सकेन ।

केन्यालाई १३२ रनमा रोक्दा बलिङमा कप्तान सन्दीप र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिएका थिए ।

चौथो खेलमा त नेपालको ब्याटिङ झुरै देखियो । कप्तान सन्दीपले ५ विकेट लिँदा नेपालले केन्यालाई १०१ रनमै अलआउट गरेको थियो । सजिलै जितिने जस्तो देखिए पनि नेपालले २० ओभर खेल्दा पनि जम्मा ९४ रन मात्र बनाउन सक्यो र ७ रनले पराजित भयो ।

ट्रफी लिंदै कप्तान सन्दीप ।

यस खेलमा रोहितले एक्लैले ४७ रन बनाउँदा बाँकी दश जनाको स्कोर जोड्दा उति नै हुन्थ्यो । रोहितले एक छेउ सम्हाल्दा अर्को छेउमा कसैले साथ दिन सकेनन् । रोहित बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

१०२ रन बनाउँदा नेपालले खेल जित्दै शृंखला नै जित्ने थियो । तर ब्याटरले जिम्मेवारी पूरा गर्न सकेनन् ।

नेपालले हारेको दुवै खेलमा कप्तान सन्दीपले खेलपछि सजिलै जित्न सकिने स्कोर भए पनि जित्न नसकेको प्रतिक्रिया दिएका थिए । यसले पनि खेलाडीले जिम्मेवारी पूरा गर्न नसकेको प्रमाणित गर्छ ।

चौथो खेलमा त नेपालको ओपनिङ नै फ्लप भयो । लगातार चौथो खेलमा अवसर पाएका पवन सर्राफ शुन्यमै आउट भए । अर्जुन साउद ६ रनमै पभेलियन फर्किए । नेपाली खेलाडीहरु क्रिजमा पुगेको केही बेरपछि नै आउट हुँदै पर्कँदै गरेका थिए ।

केन्याका बलरहरुले यस खेलमा राम्रो बलिङ गरे । पार्ट टाइमर राकेप पटेलले ३ विकेट लिएका थिए । कप्तान शेम एनगोचे र भिराज पटेलले २–२ विकेट लिएर नेपालको ब्याटिङलाई ध्वस्त पारेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?