+
+

हङकङलाई १५५ रनले हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ६:४२

१८ भदौ, काठमाडौं । पाकिस्तान युएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले हरायो ।

यसअघि भारतसँग पराजित भएको पाकिस्तान एक खेल जितेपछि समूह ए को उपविजेता बन्दै सुफर फोरमा पुगेको हो । यसअघि भारत दुवै खेल जितेर सुफर फोरमा पुगिसकेको छ । दुवै खेलमा पराजित हङकङ समूह चरणबाटै बाहिरिएको छ ।

पाकिस्तानी स्पीनरले उत्कृष्ट बलिङ गरेपछि १९४ रनको लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमै जम्मा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

कप्तान तथा ओपनर निजाकट खानले बनाएको ८ रननै हङकङका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो । १६ रनमा पहिलो विकेट गुमाएको हङकङ त्यसपछि सम्हालिन सकेन ।

पाकिस्तानका लागि स्पीनरद्वय शादब खान र मोहमद नजाव मिलेर ७ विकेट लिए ।

शादबले सर्वाधिक ४ र नवाजले ३ विकेट लिए । फास्ट बलर नासिम शाहले २ र शहनावाज दाहनीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले अविजित ७८ रन बनाए । उनले ५७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । फकर जमानले ५३ रन बनाए । खुशदिल शाहले १५ बल खेल्दै ५ छक्का मद्दतमा अविजित ३५ रन बनाए । उनले अन्तिम ओभरमा चार छक्का प्रहार गरेका थिए । हङकङका लागि दुवै विकेट एहशान खानले लिए ।

एसिया कपको सुपर फोरमा समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट अफगानिस्तान र श्रीलंका पुगेका छन् । सुपर फोरको पहिलो खेल शनिबार अफगानिस्तान र श्रीलंकाबीच हुनेछ ।

सुपर फोरमा चार टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?