+
+

बिहान विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, राति होटलबाट समातिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ११:०२
विमानस्थलको सीसी टीभी फुटेजमा देखिएका फरार अभियुक्त रिजवान आलम र उनीलाई पक्राउ गर्न अदालतले दिएको पक्राउ अनुमतिको पत्र ।

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार बिहान ठगी मुद्दाका एक आरोपी प्रहरीबाट फुत्किएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो ।

‘कर्मचारीले प्रहरीलाई खबर गर्नसाथ उनी फरार भइसकेका थिए,’ ज्ञवालीले अनलाइनखबरसँग भने ।

उनी विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरुसँगै काठमाडौं आएका थिए । उनलाई दोभासेका रुपमा काठमाडौं ल्याइएको स्रोतले जनाएको छ । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए ।

उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । उनी गएपछि दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठरुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो ।

‘तर प्रहरीलाई खबर गरेको सुइँको पाएका उनी केहिवेरमै फरार भइहाले’ एक अधिकृत भन्छन्, ‘पछि उनी डेलिगेट्ससँगै होटल मेरियटमा गएको भेटिएको छ ।’

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।

आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारेको थियो । काठमाडौं प्रहरीले २ वैशाखमा इन्टरपोललाई पत्राचार गरेर रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको थियो ।

आलमलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ ।

*शीर्षकमा बिहान हुनुपर्नेमा दिउँसो उल्लेख भएकामा क्षमायाचनासहित सच्चयाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?