१९ भदौ, काठमाडौं । राफेल लेआओले दुई गोल गरेपछि मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई ३-२ ले पराजित गरेको छ । गिसेपे मेज्जा स्टेडियममा इन्टरले पहिले अग्रता लिए पनि एसी मिलानले पुनरागमन गर्दै ३ अंक जोड्यो ।
खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर २८ औं मिनेटमा लेआओले गोल गर्दै एसी मिलानलाई खेलमा फर्काए । लेआओकै पासमा ओलिभर जिरुडले ५४ औं मिनेटमा गोल गरेपछि एसी मिलानले खेलमा पहिलो पटक अग्रता बनायो ।
६० औं मिनेटमा जिरुडको पासमा लेआओले व्यक्तिगत दोस्रो गोल गर्दै एसी मिलानलाई ३-१ को अग्रता दिलाए । एडेन जेकोले ६७ औं मिनेटमा गोल गरेपछि इन्टरले गोल अन्तर कम पार्दै खेलमा पुनरागमन गर्ने संकेत गरेको थियो तर थप गोल फर्काउन सकेन र एसी मिलान विजयी भयो ।
अमेरिका इन्भेष्टमेन्ट कम्पनी रेडबर्ड क्यापिटलले एसी मिलान खरिद गरेपछिको यो पहिलो खेल थियो । जितपछि ५ खेलबाट ११ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा छ ।
नापोली समान अंक भए पनि गोल अन्तरमा एसी मिलान पछि परेको हो । नापोलीले लाजियोलाई २-१ ले हराएर शीर्ष स्थानमा उक्लेको छ । नापोलीका लागि मिन जाई किम र खिचा केभारात्खेलियाले एक-एक गोल गरे । लाजियोका लागि माटिया जाक्काग्नीले एक गोल फर्काए ।
प्रतिक्रिया 4