+
+

नेपालको अर्जुन दृष्टि : साफ यू-१७ च्याम्पियनसिपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:२९
Photo Credit : Football Srilanka
पत्रकार सम्मेलनमा नेपाल ।

१९ भदौ,  काठमाडौं । सन् २०११ मा पहिलोपल्ट आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप नेपालले नै चार पटक आयोजना गरिसकेको छ ।

अहिलेसम्म ६ वटा च्याम्पियनसिप भएकोमा नेपालले ३ पटक फाइनल खेलेको छ । तर उपाधि जित्न सकेको छैन । तीनै पटक फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसबाहेक बंगलादेशले २ पटक र पाकिस्तानले १ पटक उपाधि उचालेका छन् ।

सुरुमा यू-१६ को नामबाट सुरु भए पनि पछिल्ला तीन संस्करण यू-१५ को नामबाट भएको थियो । यसपटकदेखि साफ यू-१७ च्याम्पियनसिपको नामबाट यस प्रतियोगिता आयोजना हुँदैछ ।

सोमबारदेखि श्रीलंकामा सातौं संस्करण आयोजना हुँदैछ र यस पटक नेपालको एउटै मात्र लक्ष्य छ- उपाधि जित्नु । प्रशान्त लक्समको कप्तानीमा कोलम्बोमा पुगेको टोलीले त्यहाँ केही दिन प्रशिक्षण पनि गर्‍यो ।

च्याम्पियनसिपको अघिल्लो दिन आज (आइतबार) भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान लक्समले पनि नेपालको लक्ष्य उपाधि नै रहेको बताए ।

‘हामीले डेढ महिनाअघि देखि तयारी सुरु गरेका थियौं । कडा मिहिनेत गरेका छौँ । टिममा केही एकेडेमीबाट र केही क्लबका खेलाडी छन् । हाम्रो लक्ष्य उपाधि नै हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘यसअघि उपविजेता भइसकेका छौं । यसपालि उपाधि जित्ने नै लक्ष्य छ । त्यही अनुसारको टिम पनि छ ।’

साफ यू-१७ च्याम्पियनसिपका लागि राष्ट्रिय टिम बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले देशभरबाट खुल्ला छनोट गरेको थियो । जसमा करिब एक हजार ७०० खेलाडी सहभागी थिए । त्यसैबाट अन्तिम टोली छनोट गरिएको हो ।

टोलीमा ए डिभिजनमा बढुवा भएका चर्च ब्वाइज क्लबका प्रशान्त लक्सम कप्तानमा छन् । यसबाहेक पनि बी डिभिजनमा खेलेका केही खेलाडी छन् । उनीहरुको अनुभवले पनि नेपाललाई मद्दत पुग्ने प्रशिक्षक श्रेष्ठले श्रीलंका उड्नुअघि भनेका थिए । कप्तान प्रशान्तले नेपाली टिमको बलियो पक्ष भनेको टिममा एकता रहेको बताए । ‘तयारी राम्रो छ । हाम्रो बलियो पक्ष भनेको एकता हो ।’

उमेर समूहमा नेपालको विगत राम्रो भए पनि पछिल्लो समय नेपालले त्यस्तो प्रदर्शन दोहोर्‍याउन सकेको छैन । केही समयअघि भारतमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल भारतसँग ८-० ले पराजित हार्दा फाइनल पुग्न असफल भएको थियो ।

पछिल्लो समय नेपालको सिनियरदेखि जुनियर सम्म नै भारत नेपालको मुख्य तगारो बन्दै आएको छ भने अन्य देशहरु जस्तै बंगलादेश र भुटानले पनि धेरै सुधार गरिसकेका छन् । जसले गर्दा नेपालको उपाधि लक्ष्य पूरा गर्न चुनौती पनि उत्तिकै छ ।

ट्रफीका साथमा सहभागी टिमका कप्तानहरू ।

प्रशिक्षक श्रेष्ठले जुनियर टिम भएकोले सबै टिमको स्तर उस्तै रहेको तर भारत र भुटानको एकेडेमी राम्रो रहेको बताए । ‘यो उ टिम भन्दा पनि यू-१७ सबैको जुनियर टिम हो । सबै टिमको स्तर एकै हो जस्तो लाग्छ,’ श्रेष्ठले भने, ‘भुटानको ग्रासरुट धेरै राम्रो छ । भारतको झन् सधैं राम्रो हुन्छ ।’ नेपालले समूह चरणमा त्यही भुटान र भारतसँग खेल्नेछ ।

समूहका दुई टिम सेमिफाइनल पुग्ने भएकोले पनि नेपालले कम्तीमा एक खेल जित्नैपर्नेछ । कप्तान प्रशान्त लक्समले दुवै प्रतिस्पर्धीको ग्रासरुट राम्रो रहेकोले हल्का रुपमा नलिने बताए । ‘भारतको ग्रासरुट बलियो छ । त्यसैले हामीले कठिन टिमको रुपमा हेरेका छौँ ।’

भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले यस साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ छनोटका लागि विगत ६ महिनादेखि तयारी गरिरहेको बताए । उनले साफ यू-१७ च्याम्पियनसिपले एएफसी यू-१७ छनोट खेल्न सहयोग पुग्ने बताए ।

च्याम्पियनसिपमा यस पटक दक्षिण एसियाका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र नेपाल रहेको समूह ‘बी’ मा साविक विजेता भारत र भुटान छन् । आयोजक श्रीलंकासहित बंगलादेश र माल्दिभ्स समूह ‘ए’ मा छन् । नेपालले आगामी बुधबार भुटानसँग पहिलो खेल खेल्नेछ ।

यस्तै शुक्रबार भारतसँग दोस्रो खेल खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ २९ गते हुनेछ ।

नेपाली टिम

गोलकिपर : कृसल मोक्तान, समिर चन्द, रुविन बोगटी

डिफेन्डर : अश्विन घोरासैनी, सिमन्ता थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर : प्रशान्त लक्सम, मिरक लिङ्देन, सरोज धामी, हरिसराज भट्ट, लछु थापा

फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?