+
+

साफ महिला च्याम्पियनसिप इतिहास : कुन देशको अवस्था कस्तो ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ २० गते ७:२३

२० भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण यही भदौ २१ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । च्याम्पियनसिपमा दक्षिण एसियाका सातै वटा राष्ट्रले सहभागिता जनाउने छन् । असोज ३ गतेसम्म च्याम्पियनसिप चल्नेछ ।

नेपालमा लगातार दोस्रो पटक साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि सन् २०१९ मार्चमा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो । नेपाल भन्दा अघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले एक-एक संस्करण आयोजना गरेका थिए ।

साफ महिला च्याम्पियनसिपको मुख्य विशेषता भनेको भारत अहिलेसम्म भएको पाँच वटै संस्करणको च्याम्पियन हो । भारतले अहिलेसम्म एक खेल पनि हारेको छैन । नेपाल चाहिँ चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनलमै पराजित भएको छ । नेपाल पाँचै पटक भारतसँग नै पराजित भएको छ ।

त्यसैले नेपालका लागि भारत सधैँ तगारोको रुपमा रहँदै आएको छ । नेपालले साफमा भारतलाई हराउन सकेको छैन । यसअघि नेपालमै भएको पाँचौ संस्करणको फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो ।

चौथो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिँदा प्रशिक्षक रहेका कुमार थापा नै यस पटक प्रशिक्षकका रुपमा छन् । उनले अन्तिम २३ जनाको टोली पनि छनोट गरिसकेका छन् । नेपालले भदौ २१ गते भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।

नेपालको लक्ष्य पहिलो पटक साफमा भारतलाई हराउने अनि पहिलो पटक उपाधि जित्ने रहेको छ ।

साफ महिला च्याम्पियनसिपमा दक्षिण एसियाका सात वटै राष्ट्रले खेल्दै आएका छन् । सन् २०१० देखि २०१६ सम्म अफगानिस्तानले पनि प्रतिस्पर्धा गरेको थियो ।

भारतले अहिलेसम्म ५ संस्करणमा २३ खेल खेल्दा २२ खेल जितेको छ । एक खेल बराबरी खेलेको थियो । यस्तै १३८ गोल गर्दा जम्मा ६ गोल मात्र बेहोरेको छ । नेपालले पनि २३ खेल नै खेलेको छ । जसमा १८ खेल जितेको भने ५ खेलमा पराजित भएको छ । नेपालले १०२ गोल गर्दा १७ गोल व्यहोरेको छ ।

भुटानले अहिलेसम्म पाँच संस्करणमा १४ खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन भने १३ खेल हारेको छ र एक खेल बराबरी गरेको छ । भुटानले जम्मा ३ गोल गर्दा ७७ गोल खाएको छ ।

पहिलो संस्करण (२०१०) : बंगलादेश

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु भयो । डिसेम्बर १२ देखि २४ सम्म बंगलादेशको कक्स बजार स्टेडियममा भएको च्याम्पियनसिपमा ८ राष्ट्रले सहभागिता जनाएका थिए ।

समूह ‘ए’मा भारत बंगलादेश, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स थिए । समूह ‘ए’ बाट भारत तीनवटै खेल जित्नै समूह विजेता र बंगलादेश दुई खेल जितेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

समूह ‘बी’ बाट नेपाल तीन खेल जित्दै समूह विजेता र पाकिस्तान दुई खेल जित्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेका थिए ।

सेमिफाइनलमा भारतले पाकिस्तानलाई ८-० र नेपालले बंगलादेशलाई ३-० ले हराएर फाइनल प्रवेश गरे । रोमाञ्चक कुरा के थियो भने नेपाल र भारतले फाइनल पुग्दा सम्म कुनै गोल खाएका थिएनन् ।

समूह चरणदेखि सेमिफाइनलसम्म भारतले ३९ र नेपालले ३४ गोल गरेको थियो ।

फाइनलमा भारतले नेपाललाई १-० ले हराएर पहिलो संस्करणको उपाधि जित्यो । नेपालले जम्मा त्यही एक गोल व्यहोर्दा उपविजेतामा चित्त बुझाउनु पर्‍यो । भारतलाई च्याम्पियन बनाउन सस्मिता मल्लिकले ६५औं मिनेटमा गोल गरेकी थिइन् ।

पहिलो संस्करणमा भारतकी बाला देवी र सस्मिता मल्लिकले सर्वाधिक ११ गोल गरे । यस्तै बाला देवी उत्कृष्ट खेलाडी बनिन् ।

दोस्रो संस्करण (२०१२) : श्रीलंका

श्रीलंकाको कोलोम्बोस्थित सिआर एण्ड एफसी ग्राउण्डमा सेप्टेम्बर ७ देखि १६ सम्म भएको दोस्रो संस्करणमा पनि आठवटै राष्ट्रले सहभागिता जनाएका थिए । जसमा भारत, श्रीलंका, बंगलादेश र भुटान समूह ‘ए’ मा थिए भने नेपाल अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स समूह ‘बी’ मा थिए ।

समूह ‘ए’ बाट भारत तीनवटै खेल जितेर समूह विजेता र श्रीलंका दुई खेल जितेर समह्यू उपविजेता बन्दै सेमिफाइनल पुग्‍यो ।

यस्तै समूह बी बाट नेपाल ३ वटै खेल जितेर समूह विजेता तथा अफगानिस्तान एक जित र एक बराबरीसहित समह उपविजेता बनेर सेमिफाइनल पुग्‍यो ।

यस संस्करणमा श्रीलंका र अफगानिस्तान पहिलो पटक सेमिफाइनल पुगे ।

भारतले समूह चरणमा १९ गोल गर्दा कुनै गोल खाएन । नेपालले २० गोल गर्दा एक गोल खायो र अफगानिस्तानले नेपालको पोष्टमा गोल गरेको थियो ।

सेमिफाइनलमा भारतले अफगानिस्तानलाई ११-० ले हराउँदा नेपालले श्रीलंकालाई ३-० ले हरायो ।

दोस्रो पटक नेपाल र भारत फाइनलमा भेट भयो । फाइनल खेलको तेस्रो मिनेटमै दिपा अधिकारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर भारतकी सुप्रिया राउट्रेले आठौं मिनेटमै बराबरी गोल फर्काइन् । पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा भारतले दुई गोल फर्कायो । बेमबेम देवीले ६६औं र कमला देवीले ८३औं मिनेटमा गोल गर्दै भारतलाई लगातार दोस्रो पटक च्याम्पियन बनाए ।

च्याम्पियनसिपमा नेपालकी जुमना गुरुङ ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् । भारतकी युमनाम कमला देवी उत्कृष्ट खेलाडी घोषित भइन् ।

भारतले च्याम्पियनसिपमा कूल ३३ गोल गर्दा १ गोल खायो । नेपालले कुल २४ गोल गर्दा ४ गोल व्यहोर्‍यो ।

तेस्रो संस्करण (२०१४) : पाकिस्तान

साफ महिला च्याम्पियनसिपको तेस्रो संस्करण नोभेम्बर ११ देखि २१ सम्म पाकिस्तानको इस्लामावादस्थित जिन्नाह स्पोर्ट्स स्टेडियममा आयोजना भएको थियो । जहाँ भारत लगातार तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमाथि ह्याट्रिक गर्‍यो । नेपाल भने लगातार तेस्रो पटक उपविजेता बन्यो ।

समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान थियो भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, पाकिस्तान र भुटान थिए ।

भारत समूह ‘ए’ मा तीनवटै खेल जित्दै समूह विजेता र बंगलादेश दुई खेल जित्दै समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो ।

यस्तै समूह ‘बी’ बाट नेपाल तीन खेल जित्दै समूह विजेता र श्रीलंका दुई खेल जित्दै उपविजेता बनेर सेमिफाइनल पुग्यो ।

सेमिफाइनलमा भारतले श्रीलंकालाई ५-० ले र नेपालले बंगलादेशलाई १-० ले हराउँदै फाइनल पुग्यो ।

फाइनलसम्म पुग्दा नेपालले १४ गोल गर्दा कुनै गोल खाएको थिएन । भारतले भने कूल ३० गोल गर्दा १ गोल खाएको थियो ।

फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिने अपेक्षा थियो । तर अपेक्षा विपरीत भारतले नेपाललाई ६-० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जित्दा नेपाल तेस्रो पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

भारतकी बाला देवीले सर्वाधिक १६ गोल गरिन् भने बंगलादेशकी सबिना खातुन उत्कृष्ट खेलाडी बनिन् ।

सावित्रा भण्डारी ‘साम्बा’

यही संस्करणबाट नेपाली गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’को उदय भयो । उनले भुटान विरुद्धको पहिलो खेल खेल्दै डेब्युमै गोल समेत गरेकी थिइन् । हाल साम्बा नेपालको सर्वाधिक गोलकर्ताको साथै दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर बनेकी छन् । उनले भारतको महिला लिग समेत खेलिसकेकी छन् ।

चौथो संस्करण (२०१६) : भारत

तीन पटकको विजेता भारतमा चौथो संस्करण आयोजना भयो । २०१६ डिसेम्बर २६ देखि २०१७ जनवरी ४ सम्म सिलिगुरीमा भएको च्याम्पियनसिपमा पहिलो पटक ७ टिमले सहभागिता जनाए । पाकिस्तानले यस पटक सहभागिता जनाएन । बाँकी ७ टिमले भने लगातार चौथो पटक प्रतियोगितामा सहभागिता जनायो ।

यसमा भारत लगातार चौथो पटक च्याम्पियन बन्दा नेपाल पहिलो पटक फाइनल पुग्न सकेन । नेपाल सेमिफाइनलमै भारतसँग पराजित भयो भने बंगलादेश पहिलो पटक फाइनल पुग्यो । अनी यसै संस्करणमा बंगलादेशले भारतलाई बराबरीमा समेत रोक्न सफल भयो ।

नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान समूह ‘ए’ मा तथा भारत, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा थिए । नेपाल तीन खेल जित्दै समूह विजेता र माल्दिभ्स दुई खेल जित्दै समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्‍यो ।

समूह ‘बी’ बाट बंगलादेश र भारतले समान ४ अंक जोडेपनि बंगलादेश गोलअन्तरको आधारमा समूह विजेता र भारत समूह उपविजेता बन्यो ।

बंगलादेश समूह विजेता बन्दा नेपालले सेमिफाइनलमै भारतसँग खेल्नुपर्ने भयो । नेपालको लागि अवसर र चुनौती दुवै थियो । भारतलाई सेमिफाइनलमा हराउन सके च्याम्पियन बन्ने सम्भावना धेरै थियो तर

सेमिफाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भयो । भारतका लागि कमलादेवी, इन्दुमथि काथिसेरन र सस्मिता मल्लिकले गोल गरिन् भने नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

अर्को सेमिफाइनलमा बंगलादेशले माल्दिभ्सलाई ६-० ले हराउँदै भारतसँग उपाधि भेट पक्का गरेको थियो । तर फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले हराएर लगातार चौथो पटक उपाधि जित्यो ।

च्याम्पियनसिपमा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक १२ गोल गरिन् । भारतकी इन्दुमति उत्कृष्ट खेलाडी घोषित भइन् ।

पाँचौ संस्करण (२०१९) : नेपाल

साफ महिला च्याम्पियनसिप सुरु भएको झण्डै ९ वर्षपछि पहिलो पटक नेपालमा २०१९ मा आयोजना भयो । पाँचौ संस्करण नेपालको विराटनगर मार्च १२ देखि २२ सम्म आयोजना भयो । यस पटक पनि पाकिस्तान सहभागी भएन भने अफगानिस्तानले साफ छाडिसकेको थियो । त्यसैले यस पटक ६ टिम मात्र सहभागी भए ।

आयोजक नेपालसहित बंगलादेश र भुटान समूह ‘ए’ मा तथा साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा थिए । नेपाल दुबै खेल जित्दै समूह ‘ए’ को विजेता र बंगलादेश एक खेल जित्दै समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुग्दा भुटान दुबै खेलमा पराजित भयो ।

यस्तै समूह ‘बी’ मा भारत दुवै खेल जित्दै समूह विजेता र श्रीलंका एक खेल जित्दै समूह उपविजेता बनेर सेमिफाइनल पुग्दा माल्दिभ्स दुवै खेलमा पराजित भयो ।

समूह चरणमा नेपालले ६ र भारतले ११ गोल गर्दा कुनै गोल खाएन ।

सेमिफाइनलमा नेपालले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

घरेलु मैदान र दर्शकको भरपुर साथ पाएपनि नेपालले भारतलाई हराउन सकेन । फाइनल अघि दुवै टोलीले कुनै गोल खाएका थिएनन् र खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो । तर नतिजा ३-१ ले भारतको पक्षमा रह्यो । डालिमा छिब्बरले २६औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ३३औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

तर दोस्रो हाफमा भारतले दुई गोल थप्यो । डाङ्गमाई ग्रेसले ६३औं र अन्जु तामाङले ७८औं मिनेटमा गोल गरे ।

च्याम्पियनसिपमा कुल १८ गोल गरेको भारतले फाइनलमा मात्रे एक गोल खाएको थियो । नेपालले भने ११ गोल गर्दा ३ गोल खाएको थियो र सबै गोल फाइनलमा खाएको थियो ।

च्याम्पियनसिपमा भारतकी इन्दुमथि काथिरेसन र नेपालकी सावित्राले समान ४ गोल गरे । भारतकी डाङ्माई ग्रेस उत्कृष्ट खेलाडी घोषित भइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?