+
+

यती एयरलाइन्सले थप्यो नयाँ विमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १७:३०

२० भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

एमएसएन नम्बर ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमान भन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।

विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने निती लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । ‘विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रंगरोगन गरे पश्चात् विमानले दशैं अगाडि नै उडान गर्नेछ, यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं’ उनले भने ।

यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यमा सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए । विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ  ।

यती एयरलाइन्सका अनुसार एटीआर ७२-५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । यो विमानले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु-किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्ने र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्ने एयरलाइन्सको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?