+
+
भैरहवाको भुईंबाट–४  :

बिजुली बस थन्किए, ट्रक चढेर अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन् यात्रु

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २१ गते २०:०४

२१ भदौ, भैरहवा । शनिबार बिहान ४ बजे भैरहवाको गल्लामन्डी बजारबाट एउटा मिनी ट्रक लुम्बिनीतर्फ हुइँकियो । पछाडि डालामा २ वटा ब्यागेज राखेर ट्रक ड्राइभरसँगै बसेका छन्, चितवनका सरोज तामाङ र सन्तराम मगर ।

उनीहरुको गन्तव्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म थियो । कतार हिंडेका उनीहरु म्यानपावर कम्पनीले भैरहवाबाट उड्ने टिकट काटिदिएपछि शुक्रबार साँझ गल्लामन्डी आएर होटलमा बसेका थिए ।

बिहान साढे ३ बजे होटलबाट निस्किएका उनीहरुले विमानस्थल जाने कुनै सवारी साधन भेटेनन् । म्यानपावर कम्पनीका प्रतिनिधिले चारैबजे एयरपोर्ट पुग्न भनेका थिए, तर उनीहरुले ट्याक्सी पाए, न अटो ।

जहाज छुट्ला भन्ने पीरले भतभति हुँदै पैदलै दौडिरहेका बेला एउटा मिनी ट्रक देखा प¥यो । ‘देख्नासाथ हात उठायौं, गाडी रोकियो पनि । राम्रो मनका गुरुजी हुनुँहुदो रहेछ, म छोडिदिन्छु भनेर ल्याइदिनुभयो’, सन्तराम मगरले अनलाइनखबरसँग भने ।

हप्ताको तीन दिन– शनिबार, सोमबार र बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सको उडानबाट कुबेत जाने यात्रुहरुले भोग्ने साझा समस्या हो यो । बिहानी उडानका लागि यात्रुहरु अँध्यारोमै एयरपोर्ट दौडिनुपर्छ, तर आफ्नै सवारी साधन नभएकाहरुलाई त्यहाँ पुग्न ठूलो सास्ती छ ।

छोरा सलमानलाई एयरपोर्ट छोड्न आएका कपिलवस्तुका सब्बिर हुसेनले शनिबार बिहान फसादै परेको बताए । ‘एउटा अटोवालाको नम्बर लिइराखेको भए हुने रहेछ, मेरै बुद्धि पुगेन’, हिंडेरै विमानस्थल आइपुगेका उनले आफैंलाई दोष दिंदै भने, ‘पसिना छुटाउँदै दौडिन नसकेको भए जहाज नै छुट्ने रहेछ । धन्न हामी एयरपोर्टबाट पैदल आधा घण्टाको दुरीमा बसेका रहेछौं ।’

अटोमा विमानस्थल आएका शंकर पाण्डे भने बिहानको समयमा गाडी नपाइने समस्या थाहा पाएकाले चिनेको अटो चालकलाई बेलुकै बुक गरेर सुतेका थिए । ‘यत्रो एयरपोर्ट बनाएर बिहानको उडान गर्दा यात्रुलाई पर्ने समस्याबारे ध्यान नदिनु लाजमर्दो छ’, रुपन्देही घर भएका पाण्डेले भने, ‘हामी त दौडौंला या कुनै उपाय निकालौंला, विदेशीले यहाँ विमानको टिकट काटे भने कसरी एयरपोर्ट आइपुग्लान् ?’

घाम झलमल्ल नभएसम्म भैरहवामा सार्वजनिक गाडी चल्दैनन् । विमानस्थलले यात्रुलक्षित सटल बस या अरु व्यवस्था गरेको छैन । यसले गर्दा बिहानको समयमा खासगरेर भैरहवाबाट उड्ने यात्रुले ठूलो समस्या भोग्नु परिरहेको छ ।

भैरहवा उत्रने हवाई यात्रुले भने बाहिर अटो र ट्याक्सी पाउँछन्, तर उनीहरु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तै लुछाचुडीमा पर्छन् । यात्रुहरु ब्यागेज लिएर पार्किङ बेल्टमा आइपुग्नासाथ ट्याक्सी र अटो चालकहरुले घेराबन्दीमा पार्छन् । ट्याक्सी होस् या अटो, यात्रुले चर्को भाडा तिर्नुपर्छ । ‘कम्तिमा बुद्ध चोक हुँदै बसपार्कसम्म छोड्ने गरी बस चलाए हुने थियो’, कुवेतबाट आएका सर्बजित कुशवाहले भने, ‘अटोमा कार्टुन, सुटकेशहरु नअटाउने रहेछ, ट्याक्सीले अति नै धेरै भाडा लिने रहेछ ।’

बिजुली बस थन्किए

२ जेठ २०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा यात्रुले यस्तो समस्या भोगिरहँदा यात्रु सुविधाका लागि भनेर ल्याइएका पाँचवटा १९ सिटे बस र १४ वटा पाँच सिटे भ्यान भने २० महिनादेखि थन्किएका छन् ।

एसी जडित यी विद्युतीय गाडीहरु स्वचालित ढोका भएका र शारीरिक रुपमा अशक्तका लागि सजिला छन् । एशियाली विकास बैंकको ३५ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषले किनेका अन्तर्राष्ट्रिय मापदण्डका यी सवारी साधन विमानस्थलदेखि लम्बिनीसम्म चलाउने सोच थियो ।

कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईका अनुसार यी गाडी चलाउने योजना अझै बनिसकेको छैन । लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसन बने पनि विमानस्थलमा भने छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख गोकुल दाहाल चाहिँ विमानस्थलमा चार्जिङ स्टेसन राख्ने ठाउँ एक महिनाभित्र उपलब्ध गराउने बताउँछन् ।

तर, विमानस्थलबाट लुम्बिनी जाने–आउने गाडी चलाएर मात्र यात्रुको तत्कालको समस्या समाधान हुने देखिन्न । अहिले बसपार्क र होटलहरुबाट  बिहानै विमानस्थल पुग्न यात्रुलाई बढी समस्या छ ।

कोषको बिजुली गाडी चलेपनि त्यो मुलतः विदेशी पर्यटक केन्द्रित हुनेछ । स्वदेशी यात्रुलाई परिरहेको समस्या कसरी सुल्झिन्छ त ? यसको जवाफ कसैसँग छैन ।

‘खराब सन्देश दिंदैछौं’

विमानस्थल अगाडि ६ लेनको सडक छ । यस्तो भव्य सडकमा गुड्ने सार्वजनिक गाडीहरुको अवस्था भने नाजुक खालको छ । यो रुटमा चल्ने अधिकांश मिनी बस थोत्रा छन्, जसमा यात्रुलाई कोचाकोच गरेर चढाइन्छ । मर्मतसम्भार नगरिएका थोत्रा गाडीका सिटमा बसेर यात्रा गर्न यात्रु बाध्य छन् ।

यी बस कति बजेसम्ममा, कुन ठाउँ पुग्छन् भन्ने निश्चित हुँदैन । अबको भैरहवामा यो खालको सार्वजनिक यातायात कुनै पनि हिसाबमा अनुपयुक्त हुने व्यवसायीहरुको स्वीकारोक्ति छ । अन्तर्राष्ट्रिय विमानस्थलको लागि त झनै नहुने उनीहरु बताउँछन् ।

हालको हवाई यात्रु संख्या भने विमानस्थलमा राम्रो बस सेवा टिकाउन सहज हुने खालको नभएकाले यसमा सरकारले सोच्नुपर्ने पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

निजी क्षेत्रले विमानस्थलमा १५–१५ मिनेटमा बस पुग्ने र छुट्ने व्यवस्था मिलाउन यात्रु संख्या नपुग्ने भएकाले अहिलेलाई यसमा स्थानीय तह, प्रदेश सरकार वा संघ सरकारको ध्यान जानुपर्ने उनले बताए ।

‘यो त देशको इज्जतको पनि सवाल हो,’ घिमिरे भन्छन्, ‘यस्तो तालले विमानस्थल चलाएर हामीले अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनीबारे राम्रो सन्देश दिइरहेका छैनौं । यसमा सकेको गर्न व्यवसायी तयार छन् । त्यसको लागि सरकारले अनुदान दिंदा हुन्छ ।’

फोटो : आर्यन धिमाल

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?