+
+
Shares

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राम गोपाल वर्माले रणवीर कपूर अभिनीत ‘रामायण’ ले १० दिनमा विश्वभर १२०० करोड रुपैयाँभन्दा बढी कमाएको भन्दै निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको प्रशंसा गरेका छन्।

फिल्ममेकर राम गोपाल वर्माले फेरि एकपटक रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को प्रशंसा गरेका छन् । उनले आफ्नी आमाले समेत टिकट किनेर अरूलाई फिल्म देखाइरहेको बताएका छन् । यससँगै उनले फिल्मका निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको पनि प्रशंसा गरेका छन् ।

राम गोपाल वर्माले पछिल्लो समय रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को खुलेर प्रशंसा गर्ने गरेका छन् । प्रदर्शनमा आएको १० दिनमै फिल्मले विश्वभरबाट १२०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मको यो सफलताबीच वर्माले निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको समर्थन गरेका छन् ।

यति मात्र होइन, उनले फिल्मको दोस्रो भागको कमाइबारे पनि ठूलो अनुमान गरेका छन् । उनका अनुसार ‘रामायण २’ ले पहिलो भागको तुलनामा १० गुणा बढी कमाइ गर्न सक्छ ।

राम गोपाल वर्माले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै फिल्मको बजेट, कमाइ र निर्माणपछाडिको व्यावसायिक रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले फिल्मको अहिलेको कमाइलाई हेर्दा नमित मल्होत्राले पहिलो भागबाटै दुवै भागको निर्माण लागत उठाउन सक्ने बताएका छन् ।

आमाले अरूलाई टिकट किनेर फिल्म देखाइन्

राम गोपाल वर्माले आफ्नी आमासँग जोडिएको एउटा प्रसंग सुनाउँदै पोस्ट सुरु गरेका छन् । उनले लेखेका छन्, ‘मेरी आमाले मेरा उत्कृष्ट फिल्मका लागि समेत यस्तो गर्नुभएन । तर नमित मल्होत्राको रामायणका लागि उहाँले टिकट किनेर घरमा काम गर्ने मानिस, सुरक्षागार्ड र अपार्टमेन्टमा बस्ने अरू मानिसलाई फिल्म देखाइरहनुभएको छ ।’

उनका अनुसार फिल्मप्रति दर्शकको उत्साह निकै ठूलो छ । यही कारण फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ । उनी यसलाई भारतीय सिनेमाको सबैभन्दा ठूलो हिट बन्ने दिशामा अघि बढिरहेको फिल्म मान्छन् ।

४ हजार करोडको बजेटबारे के भने ?

फिल्मको बजेटलाई लिएर भइरहेको आलोचनाबारे पनि राम गोपाल वर्माले आफ्नो धारणा राखेका छन् । केहीले ‘रामायण’ का दुवै भाग निर्माण गर्न ४ हजार करोड भारु खर्च भएको दाबी गरिरहेका छन् । अर्थात् प्रत्येक भागको बजेट २ हजार करोड भारु रहेको बताइएको छ ।

तर वर्माका अनुसार पहिलो भाग निर्माण गर्न ८०० करोड भारुभन्दा कम खर्च भएको छ । उनले निर्माणसँग जोडिएका आपसी लाभका सम्झौता, अन्तर्राष्ट्रिय कर छुट र सरकारी अनुदानजस्ता सुविधाले फिल्मको वास्तविक लागत अझ घटाउने बताएका छन् ।

उनका अनुसार फिल्म हेर्ने अनुभवी फिल्ममेकरले यसको निर्माणमा ८०० करोड भारुभन्दा बढी खर्च नभएको अनुमान गर्न सक्छन् ।

उनले दुवै भागको बजेट समान हुन नसक्ने पनि बताएका छन् । उनका अनुसार ‘रामायण’ का दुवै भाग एउटै फिल्मका दुई हिस्सा हुन् । उनले फिल्मको मध्यभागअघिको दृश्य र त्यसपछिको दृश्य निर्माणमा हुने खर्च समान नहुने उदाहरण दिएका छन् । कतिपय फिल्ममा त क्लाइमेक्सका लागि मात्रै कुल बजेटको ५० प्रतिशतसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

‘रामायण’ को संसार निर्माणमा ठूलो लगानी

वर्माका अनुसार फिल्मको बजेटको ठूलो हिस्सा ‘रामायण’ को संसार निर्माण गर्न खर्च गरिएको छ । तर यो लगानी पहिलो भागका लागि मात्रै नभई दोस्रो भाग, गेमिङ र भविष्यमा बन्ने अन्य परियोजनामा समेत उपयोग हुनेछ ।

अर्थात् अहिले गरिएको खर्च भविष्यमा पनि आम्दानी दिन सक्ने सम्पत्तिका रूपमा रहने उनको तर्क छ ।

उनले बलिउडका धेरै फिल्ममेकर, व्यापार विश्लेषक र आफूलाई फिल्म क्षेत्रको जानकार बताउने मानिसले यो व्यावसायिक रणनीति बुझ्न नसक्ने बताएका छन् ।

वर्माका अनुसार फिल्मले अहिले गरिरहेको कमाइलाई हेर्दा नमित मल्होत्राले पहिलो भागबाटै पहिलो फिल्मको लागत मात्रै होइन, सम्भवतः दुवै भागको निर्माण खर्चसमेत उठाउन सक्छन् । त्यसपछि पहिलो भागबाट हुने गैर-थिएटर आम्दानी र दोस्रो भागबाट प्राप्त हुने सम्पूर्ण कमाइ अलग हुनेछ ।

नमित मल्होत्राबारे ठूलो भविष्यवाणी

राम गोपाल वर्माले व्यङ्ग्यात्मक शैलीमा यति ठूलो कमाइपछि नमित मल्होत्राले आफ्नै पुष्पक विमान बनाउन सक्ने र भारतका ठूला निर्माण कम्पनीले समेत अहिलेसम्म नगरेका परियोजनामा लगानी गर्न सक्ने बताएका छन् ।

उनले भविष्यमा नमितले हलिउडका ठूला स्टुडियोलाई समेत पछाडि पार्न सक्ने अनुमान गरेका छन् ।

वाल्मीकि र तुलसीदासको प्रसंग उल्लेख गर्दै वर्माले सन् १९१३ मे ३ मा प्रदर्शन भएको फिल्म ‘राजा हरिश्चन्द्र’ देखि अहिलेसम्मको इतिहासमा नमित सबैभन्दा ठूलो फिल्ममेकर बन्ने दिशामा रहेको बताएका छन् ।

आफ्नो दाबीप्रति कसैलाई शंका लागे तथ्यांकको हिसाब गरेर हेर्नसमेत उनले चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?