+
+
सर्वोच्चमा बालेनको लिखित जवाफ :

‘मेरो अभिव्यक्ति संकुचित गरिए महानगरवासीकै अधिकार कुण्ठित हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १८:५७

२२ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले विपक्षीको निवेदन खारेज भागी रहेको बताएका छन् ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरिमकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन गत १३ गते बालेनका नाममा आदेश दिएको थियो ।

बालेनले वारिस विकास खड्कामार्फत जवाफ पठाएको महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।

बालेनले  सर्वोच्चमा पेश गरेको लिखित जवाफ हेर्नुस्

१. “काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेजमार्फत “नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वाेच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं” भनी गरेको टिप्पणी ….अशोभनीय मात्र होइन, सम्मानित अदालतको अवहेलना समेत हुने गरी गरिएको भद्दा टिप्पणी उपर चित्त नबुझी सम्मानित अदालतको शरणमा आएका छौं । ….यस्तो प्रकारको नकारात्मक र भ्रामक अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नुपर्छ । ….कानून बमोजिम कारबाही गरी पाउँ” भन्ने निवेदकको मुख्य मागदावी रहेछ ।

२. विपक्षीको निवेदन खारेज भागी रहेको सम्बन्धमा स्पष्टीकरण सहितको जिकिर निम्नानुसार प्रस्तुत गर्दछु –

२.१. मेरो अभिव्यक्तिबाट सम्मानित सर्वाेच्च अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुगेको वा आदेश वा फैसलाको अवज्ञा भएको अवस्था नभएको हुँदा निवेदकको दावी निराधार रहेको कुरा प्रारम्भमै स्पष्ट गर्दछु । हाम्रो जस्तो लोकतान्त्रिक मूल्यपद्धति अपनाएको खुला समाजमा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) विपरीत नहुने गरी आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ भन्ने कुरामा विश्वास गर्दछु ।

२.२. संविधानको धारा १७(२) को खण्ड (क) ले प्रत्येक नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको प्रत्याभूति गरेको छ । त्यसको संरक्षक स्वयं न्यायालय पनि हो । उक्त मौलिक हकको अभ्यास गर्दा अदालतको अवहेलना हुन्छ भनी अर्थ गर्नु संविधानसम्मत हुँदैन । राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारबाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्यपद्धति विपरित हुन्छ ।

२.३. नेपालको न्यायालय नागरिकको व्यक्तिगत स्वतन्त्रताको हिमायती भएको कुरा यसले अनगिन्ती फैसलामा गरेका व्याख्या वा प्रतिपादन गरेका सिद्धान्तहरुबाट पुष्टि हुन्छ । कुनै नागरिकले न्यायिक काम कारबाहीको सम्बन्धमा आलोचनात्मक दृष्टिकोण प्रकट गर्दैमा न्यायालय आफ्नो न्यायिक कार्य सम्पादनबाट विचलित हुँदैन भनी सर्वाेच्च अदालत स्वयंले प्रतिपादन गरेको सिद्धान्तमा अभिव्यक्त भएको कुरा हो । बरु, न्यायालय विचलित हुन्छ कि भन्ने विपक्षी निवेदकको जस्तो मनोगत आशंका वा अपेक्षाबाट चाहिं न्यायालयप्रतिको जनआस्था कमजोर बन्न सक्छ । वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्दछ भन्ने आम विश्वास छ ।

२.४ जनप्रतिनिधि संस्थाको प्रमुखको जवाफदेहिताका आयामहरु कानूनी मात्र हुँदैनन् । मैले प्रतिनिधित्व गर्ने महानगरवासी वा आम नागरिकसँग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहिताका विभिन्न आयामको सन्तुलन मिलाउनुपर्ने हुन्छ । यदि बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार समेत कुण्ठित हुन जान्छ । यस कुरालाई विपक्षी निवेदकले नजरअन्दाज गर्नुभएको देखिन्छ ।

२.५. कानूनले काठमाडौं महानगरपालिकाको प्रमुखलाई केही हदसम्म न्यायिक भूमिका समेत प्रदान गरेको छ । मेरो पदीय जिम्मेवारीको हिसाबले समेत न्यायिक कार्य सम्पादनको संवेदनशीलताको विशेष रुपमा सम्मान गर्दछु । सम्मानित सर्वाेच्च अदालत प्रति मेरो पूर्ण सम्मान रहेको स्पष्ट गर्दछु ।

३. अतः माथि उल्लिखित तथ्यगत तथा कानूनी आधार कारणबाट विपक्षी निवेदकको औचित्यहीन दावी खारेजयोग्य रहेको हुँदा पूर्णरुपमा खारेज गरी पाऊँ भनी सादर अनुरोध गर्दछु ।

४. मेरो तर्फबाट नियुक्त हुने कानून व्यवसायीको बहस बुँदालाई यसै लिखित जवाफको अभिन्न अंग मानी पाऊँ ।

५. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?