+
+

गठबन्धनका अरु दललाई कांग्रेसले लात हान्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १८:३३

२५ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार देखिएको टिप्पणी गरेका छन् ।

बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तर्क्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए ।

‘गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएका छन्’, पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’

आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससंग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरुले सगौरव लात खानुपर्छ ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसंग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टी भएको बताए ।

वैवाहिक अंगीकृत नागरिकताको हकमा सात वर्षको प्रावधान राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकार गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताए । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने खतरा रहेको उनले औंल्याए ।

‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ, राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’, पौडेलले भने–, ‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्ध बिच्छेद गर्दै ७ जना विदेशीसंग विहे गर्नसक्छन्,यहां विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।’

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम पनि एमालेको विरोधले रोकिएको दावी गर्दै पौडेलले गठबन्धनका दलहरु विदेशीसामु आत्मसमर्पण गरेर सत्ता जोगाउन तल्लीन रहेको आरोप लगाए । नेता पौडेलले आगामी निर्वाचनमा एमालेले वहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?