+
+

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते २०:०६
दार्चुलाको नौगाडको पहिरो ।

२५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् ।

पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।

बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए । उनका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् ।

दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।

शनिबार रातिसम्म बेपत्ताहरुको अवस्था पत्ता लगेको छैन । अब आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ ।

महाकाली नगरपालिकाको लास्कुखोलामा आएको बाढी ।

महालकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ भने एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ । बाढीपहिरोमा परेर २६३ पशुचौपाया मरेका छन् भने ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा डोजर हराएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिराले महाकाली नगरपालिकाका १, २, ३ र ३ नम्बर वडा र नौगाड गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडा प्रभावित भएका छन् । प्रभावित भएकाहरुलाई तत्काल स्थानीय विद्यालय तथा सार्वजनिक भवनहरुमा व्यवस्थापन गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा राखेर खानाको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । कतिपय मानिस भने आफन्तकोमा बास बसेको प्रहरीको भनाइ छ ।

तीन मन्त्री दार्चुलामा

बाढीपहिरो प्रभावितका लागि राहतका सामाग्री लिएर संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसहितका तीन जना मन्त्री दार्चुला पुगेका छन् ।

बडुसँगै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका हुन् ।

उनीहरु प्रभावितहरुका लागि खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहत सामग्री लिएर दार्चुला पुगेको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?