+
+

निर्वाचनमा डा. शेखर : कांग्रेसकै कलह टाउको दुखाइ

मोरङमा गुटगत राजनीति निकै चर्को छ । ३० वैशाखको स्थानीय चुनावमा पनि कांग्रेसको गुटगत राजनीतिको प्रभाव देखिएको थियो । यसले प्रतिनिधि सभा निर्वाचनमा डा. शेखरलाई अप्ठ्यारो पार्न सक्ने देखिन्छ । यद्यपि पार्टीको प्रतिपक्षी नेता भएका कारण उनले आफ्नो समर्थन पनि बढाएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ २६ गते २०:१६

२६ भदौ, विराटनगर । २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले सिन्धुली रोजेका थिए । सिन्धुली रोज्नुको एउटा कारण गृहनगर दुम्जा थियो भने अर्को वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले चलाएको हिन्दी आन्दोलनमा मात्रिकाको समर्थन । दिलबहादुर श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार बनाएका कारण बीपी बिराटनगर जाने कि नजाने अलमलमा थिए ।

शायद चुनावी कमाण्डर गिरिजाप्रसाद कोइरालाले चुनाव जितिन्छ भन्ने संकेत गरे, बीपीले सिन्धुलीबाट नाम फिर्ता लिएर निर्वाचन क्षेत्र नं. ३२ मोरङमा चुनाव लडे । उनी ९ हजार ५७९ मतका साथ निर्वाचित पनि भए ।

त्यसयता कोइराला परिवारका सदस्यले कुनै पनि निर्वाचनमा मोरङको यो क्षेत्र छाडेका छैनन् । २०४८ देखि ०५६ सम्म शैलजा आचार्य लडिन् भने २०६४ को पहिलो संविधानसभादेखि डा. शेखर चुनावी प्रतिस्पर्धामा उभिने गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जागिरे जीवनको अन्त्य गरेर पूर्णकालीन राजनीतिमा आएका डा. शेखरले हालसम्म एक उपनिर्वाचनसहित चारवटा चुनाव लडे, जसमा दुई पटक सफल भए । पछिल्लो चुनाव २०७४ मा वाम गठबन्धनका लालबाबु पण्डितले उनलाई ६७५ मतान्तरले हराएका थिए । पछिल्लो ५ वर्षमा परिस्थिति फेरिएको छ । कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका उनी ४० प्रतिशत मत पाएर प्रतिपक्षी नेताका रुपमा उदाएका छन् ।

यद्यपि मोरङमा गुटगत राजनीति निकै चर्को छ । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता बनेका रमेशजंग रायमाझीले उनलाई क्षेत्रै छाड्न पनि आग्रह गरेका छन् । संस्थापन समूहबाट उनीसँगै प्रतिनिधिसभा सदस्य डिला संग्रौला पनि प्रत्यक्षतर्फ उम्मेदवारको आकांक्षी छन् ।

शेखरलाई टिकटमै रोक्न र अन्तरघात गरेर चुनाव हराउन सहज पनि छैन । साथै पार्टीको प्रतिपक्षी नेता भएका कारण उनले आफ्नो समर्थन पनि बढाएका छन् ।

३० वैशाखको स्थानीय चुनावमा पनि कांग्रेसको गुटगत राजनीतिको प्रभाव देखिएको थियो । सुन्दर–हरैंचा नगरपालिकाको मेयरमा पार्टीका उम्मेदवार शिव ढकाललाई हराउन डा. शेखर समूहका नगर सभापति भक्ति सिटौला लागेको आरोप छ । ‘पार्टी महाधिवेशनदेखि स्थानीय निर्वाचनसम्म उहाँको भूमिका ठिक भएन,’ संस्थापन पक्षका एक जिल्ला नेता भन्छन् ।

३० वैशाखको स्थानीय चुनावमा उनले गठबन्धनमा रहेका दलहरुलाई पनि चिढ्याएका छन् । उनी खुलेर गठबन्धनको विपक्षमा उभिए । उनी गठबन्धनबिरुद्ध सकृय नभएको भए नतिजा फरक आउने संस्थापन समूहको दाबी छ ।

अहिले गठबधनको खुलेर विरोध त गरेका छैनन्, तर गठबन्धन गर्दा कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तिमा १०० सिट पाउनुपर्ने बताउँदै आएका छन् । यसले माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेता कार्यकर्तालाई रुष्ट बनाउने सम्भावना उत्तिकै हुन्छ । ‘गठबन्धनभन्दा पनि कांग्रेसभित्रको समस्या बढी हो,’ डा. शेखर निकट एक नेता भन्छन् ।

शेखरलाई टिकटमै रोक्न र अन्तरघात गरेर चुनाव हराउन सहज पनि छैन । ‘शेखर दाइ पार्टीभित्र देखिएको अन्तरविरोधलाई लिएर चिन्तित हुनुहुन्छ,’ एक नेता भन्छन्, ‘तर उहाँलाई हराउन संस्थापन पक्षै नै लाग्न सहज छैन । किनकी तलमाथि भए सिधा अपजस देउवालाई लाग्छ ।’

साथै पार्टीको प्रतिपक्षी नेता भएका कारण उनले आफ्नो समर्थन पनि बढाएका छन् । कतिसम्म भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत त्यो क्षेत्र राप्रपालाई छाड्ने सम्भावना छ । एमालेबाट बहालवाला सांसद लालबाबु पण्डितसँगै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । तर राप्रपासँग चुनाव तालमेल गरेर अभिनेत्री रेखा थापा उम्मेदवार बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे पनि क्षेत्र नम्बर ६ मा पार्टीको अवस्था बलियो रहेको बताउँछन् । स्थानीय तह निर्वाचनको हारमा प्राविधिक कारण जिम्मेवार रहेको भन्दै उनले भनेका छन्,  ‘हामी ६ वटै  क्षेत्रमा बलियो छौं, क्षेत्र नम्बर ४, ५ र ६ मा अझ बलियो छौं ।’

चारवटा चुनावको हिसाबकिताब

डा. शेखर कोइराला २०६४ को संविधानसभा निर्वाचनमा मोरङको तत्कालिन क्षेत्र नम्बर ७ मा तत्कालिन मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग पाँच हजार १५५ मतले पराजित भएका थिए ।

सुनसरी ३ बाट पनि निर्वाचित गच्छदारले मोरङ ७ छाडेपछि २०६५ चैत २८ गते भएको उपनिर्वाचनमा कांग्रेसबाट डा. कोइराला नै उम्मेदवार बनेर १२ हजार ७१ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिस्पर्धी तत्कालिन फोरमका चुमनारायण तबदारले ११ हजार ३९७ मत प्राप्त गरेका थिए ।

२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा डा. शेखर कोइराला तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष  गच्छदारलाई हराए । १२ हजार ९८२ मतका साथ कोइरालाल विजयी हुँदा गच्छदारले १० हजार ५६४ मत प्राप्त गरे । माओवादीका गोपाल क्षेत्रीले ५ हजार ४४४ मत प्राप्त गरे ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि मोरङको ९ निर्वाचन क्षेत्र ६ वटा कायम भयो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट उठेका डा. कोइराला एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भए । पण्डितले ३३ हजार ९४१ र निकटतम प्रतिद्वन्द्वी कोइरालाले ३३ हजार २६६ मत पाएका थिए ।

स्थानीय तह निर्वाचन–२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा क्षेत्र नम्बर ६ मा कांग्रेसको २७ हजार ८६ मत देखिन्छ । एमालेको २४ हजार ५५६, माओवादी केन्द्रको चार हजार ९९६, जसपाको तीन हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तीन हजार ११५ र एकीकृत समाजवादीको दुई हजार ३५५ मत छ । सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन पाउँदा डा. शेखर निकै अगाडि हुनुपर्ने हो, तर कांग्रेसको आन्तरिक राजनीतिले उनलाई त्यो सहजता दिएको छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?