+
+

सिट बाँडफाँटमा अझै जुटेन सहमति, अब समानुपातिकतिर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते २०:५६

२८ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो ।

सिट बाँडफाँटमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् ।

माओवादी केन्द्रलाई कुनै हालतमा साथमा राख्नुपर्छ भन्नेमा सचेत उनी एकीकृत समाजवादीलाई धोका दिने पक्षमा छैनन् । ‘माधवजीले मेरै भर गरेर जोखिम उठाउनुभएको छ । हामीले टेक्ने ठाउँ नदिने हो भने माधवजी त नजानुहोला, तर अरु एमालेमै जान्छन् । त्यसले हामीलाई रणनीतिक रुपमा फाइदा पनि हुँदैन भन्ने सभापतिको बुझाइ छ’, कांग्रेसका एक नेता बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबावमा देखिएका कार्यदलका अर्का एक सदस्य बताउँछन् ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरुमा भने अरु दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशंका देखिन थालेको छ ।

यद्यपि सिट बाँडफाँटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ ।

बाँकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरुबीच छुट्टा–छुट्टै छलफल भएपनि सहमति नजुटेको नेताहरु बताउँछन् । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यतातिर छलफल गर्ने नेताहरु बताउँछन् । जसपाका प्रवक्ता मनिष सुमन भन्छन्, ‘अब केही दिन समानुपातिकतर्फ लाग्ने सहमति भएको छ । ३ गतेपछि मात्र गठबन्धनको बैठक बस्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?