२१ फागुन, काठमाडौं । नेकपा एमालेसहितको नयाँ समीकरणमा छुटेको नेकपा एकीकृत समाजवादीलाई समेट्ने पहलकदमी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै सुरु गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नयाँ समीकरणमा रहेका दलका प्रमुखहरुसँग दिनभर बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर नै पुगेका थिए ।
एकीकृत समाजवादीलाई पनि नयाँ समीकरणमा लैजान पहल गर्ने जानकारी प्रधानमन्त्री प्रचण्डले भने सोमबार बिहान आफ्नो पार्टी बैठकमा समेत दिएका थिए । त्यसअघि अध्यक्ष नेपाल र महासचिव घनश्याम भूसाललाई टेलिफोन गरेर पनि सँगै जाने वातावरण बनाउने प्रचण्डले बताएका थिए ।
एकीकृत समाजवादीले सोमबार दिउँसो ३ बजे राखेको पार्टी सचिवालय बैठकमा अध्यक्ष नेपाल र महासचिव भूसालले प्रधानमन्त्री प्रचण्डसँग भएको कुराकानी सुनाएका थिए । त्यसपछि तत्काल कुनै निष्कर्षमा नपुगेको एकीकृत समाजवादीले नयाँ समीकरण निर्माणको उद्देश्य, प्रक्रिया र संरचनाबारे समाजवादी मोर्चामा औपचारिक रुपमै ब्रिफिङ लिएर मात्रै निर्णय गर्ने बताएको छ ।
‘प्रधानमन्त्रीले लिएका निर्णय, उद्देश्य प्रक्रिया र संरचनाबारे सबै विषय आएपछि तिनको गुण र दोषका आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरु स्पष्ट पार्नेछ’, एकीकृत समाजवादीको निर्णय छ । पार्टी उपमहासचिव गंगालाल तुलाधर, नयाँ समीकरणबारे माओवादी नेतृत्वसँग लगातार कुराकानी भइरहेको बताउँछन् ।
‘त्यो हठात (नयाँ समीकरणको निर्णय) भएको होइन, केही कुरा हामी सित नभएको भन्ने होइन । टेलिफोनबाट सम्पर्क गर्ने, भेट्ने भइरहेकै छ, तर यत्तिले भएन’, उपमहासचिव तुलाधर भन्छन्, ‘औपचारिक रुपमै हामीलाई ब्रिफिङ हुनुपर्छ, समाजवादी मोर्चाको एउटा घटकको नाताले त्यो ब्रिफिङ चाहिन्छ ।’
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वामपन्थी एकताको आधार बन्छ भने त्यसका लागि आफूहरुको पार्टी सँधै खुला रहेको बताउँछन् ।
‘नेपालको समाजवादी क्रान्ति र रुपान्तरण गर्नुछ । हामी यसमा दृढतापूर्वक लागेका छौं’, उनी थप्छन्, ‘यसक्रममा अन्य वामपन्थी साथीहरु साझा कार्यक्रमहरुमा, साझा नीतिहरुमा, साझा सवालमा एकता गरेर जान सकिने स्थिति बन्यो भने हामी त्यो एकताका लागि जहिले पनि खुला छौं ।’
माओवादी केन्द्रसहित समाजवादी मोर्चा अहिले पनि छ । ४ असार २०८० मा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित’ समाजवादी मोर्चा घोषणा गरेका थिए । हाल यो मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रबिक्रम चन्द छन् ।
माओवादी केन्द्रका नेताहरुका अनुसार, यही समाजवादी मोर्चामा एमाले समेत सामेल भएर अगाडि बढ्ने विकल्पमा पनि छलफल हुनेछ । पार्टी महासचिव देव गुरुङका अनुसार वामपन्थी ध्रुवीकरणको लागि आधार तयार पार्ने कोशिश भएको छ, यसको मोडालिटीका विभिन्न विकल्पमा छलफल हुनै बाँकी छन् ।
उनी भन्छन्, ‘कार्यनीतिगत विषयमा छलफल हुन्छ, सैद्धान्तिक र वैचारिक विषयमा छलफल हुन्छन् । सबैमा समान धारणा तय गर्दै जाँदा समानता कायम हुन पुग्ने दलहरुका बीचमा आवश्यकताको आधारमा मोर्चाबन्दी र एकता हुँदैन जाला । अहिलेलाई यत्ति भन्न सकिन्छ ।’
माओवादी उपाध्यक्ष सापकोटा दीर्घकालीन लक्ष्य बृहत वाम एकता भएतापनि यसका लागि लाग्ने समय यकिन गर्न हतार हुने बताउँछन् । तत्कालीन नेकपा जोगाउन नसक्नुको दृष्टान्तलाई ख्याल गरेर आगामी कदम चालिने उनको भनाइ छ ।
दिगो एकताका लागि जति समय चाहिन्छ त्यति समय लिनुपर्ने उनको विश्लेष्ण छ, ‘वामपन्थीहरुको बीचमा मोर्चाबन्दी र धुबीकरण गर्दै अगाडि बढ्ने कार्यको सुरुवात भएको छ । यसलाई लक्ष्यमा पुर्याउन सबै वामपन्थी शक्तिहरु एक हुनुपर्छ ।’
नेताहरुका अनुसार समाजवादी मोर्चा हुँदै कम्युनिस्ट एकतासम्म पुग्ने रोडम्यापकै आधारमा नयाँ समीकरणमा एकीकृत समाजवादी जोड्ने प्रयास हुनेछ । यद्यपि आज बनेको नयाँ समीकरणमा विश्वास जोगाइराख्न एकीकृत समाजवादी भन्दा एमालेसँग नजिक रहनुपर्ने बाध्यतामा माओवादी देखिन्छ ।
एक नेता भने एमाले र एकीकृत समाजवादीसँग २०८४ को चुनावसम्म माओवादीको मोर्चाबन्दी मात्रै रहने सम्भावना बढी देख्छन् । ‘०८४ को चुनाव पछाडिको परिस्थिति कस्तो बन्छ त्यस आधारमा अहिले सुरु भएर अगाडि बढेको मोर्चाबन्दी र वाम ध्रुवीकरणले एकताको रुप लिन्छ वा लिँदैन भन्ने निचोडमा पुगिन्छ’, ती नेता भन्छन् ।
शहीद प्रतिष्ठान नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रममा समेत प्रचण्डले आगामी कार्यदिशाबारे संकेत गरेका छन् । ‘…खिइँदै, सुक्दै, एक्लो हुँदै अनि फेरि ठूला ठूला कुरा गरिराख्ने यो हुँदैन कमरेड, यो बेकारको यस्तो वुद्धिले हुँदैन । यो नहुने वुद्धितिर नलागौं’ प्रचण्डले भने, ‘ठूला कुरा गर्नु भन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं । त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।’
यसअघि अध्यक्ष प्रचण्डले बालुवाटारको पार्टी पदाधिकारी बैठकमा पनि एमालेसँग गरिएको नयाँ समीकरण उद्देश्य समाजवादी मोर्चा हुँदै बृहत वाम धु्रबीकरण नै भएको ब्रिफिङ गरेका थिए ।
‘कम्युनिस्ट पार्टीहरुले दुःख पाउनुको कारण ठोस् परिस्थितिको ठोस विश्लेषण गर्न नसक्नु रहेको निष्कर्षका साथ आफूले बृहत वाम एकताका लागि गठबन्धन फेरेर ‘निरन्तरतामा क्रम भंग गरेको’ प्रधानमन्त्रीको ब्रिफिङ थियो’, उपाध्यक्ष सापकोटा भन्छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4