+
+

काँध फेर्न पनि सक्ने प्रचण्डको संकेत

सत्ता गठबन्धनमा अप्ठ्यारो पार्ने गरी माओवादी केन्द्रले निर्णय गर्नु, अनि प्रचण्डले भरतपुर पुगेर कांग्रेस महासमिति बैठकको छलफलप्रति असन्तुष्टि पोख्नु र ओली चितवन जान तयार हुनु आफैंमा संयोग मात्रै मान्न कठिन हुन्छ ।

सइन्द्र राई सइन्द्र राई
२०८० फागुन १७ गते २२:१०

१७ फागुन, काठमाडौं । भरतपुर भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएका छन् ।

सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले राष्ट्रियसभा अध्यक्षको चुनावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता भइरहेको बताएका हुन् । ‘यो विषयमा विभिन्न स्तरमा छलफल चलेको छ, तर अहिलेसम्म कुनै पनि ठोस निर्णय भइसकेको छैन’ पत्रकारहरुलाई प्रचण्डको जवाफ थियो ।

माओवादीले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भोलिपल्टै प्रचण्डले एमालेसँग वार्ता भइरहेको अभिव्यक्ति दिएका हुन् ।

जबकी राष्ट्रियसभा अध्यक्ष बन्ने गरी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा आइसकेका छन् । प्रधानमन्त्री प्रचण्डकै सहमतिमा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनाव लडेका थिए । ‘सिटौलालाई दिने भनेर त चुनाव हुनु दुई महिनाअघि नै अध्यक्षले भन्नुभएको हो, तर कांग्रेसले नै त्यस्तो बातावरण बनाएन’, माओवादी केन्द्रका एक पदाधिकारी भन्छन् ।

विशेषगरी राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी उम्मेदवार हार्ने र कांग्रेसका उम्मेदवारले जित्ने भएपछि परिस्थिति असहज बन्दै गएको ती पदाधिकारीको तर्क छ । ‘एउटै गठबन्धनबाट उम्मेदवार बन्दा हामीले हार्यौ, सिटौलाले जित्नुभयो’, उनले भने, ‘यसले गठबन्धनभित्र प्रश्न उठ्यो ।’

माओवादीको स्थायी समिति अघि बसेको विधान महाधिवेशन र केन्द्रीय समिति बैठकमा पनि नेताहरुले राष्ट्रियसभा चुनावबारे समीक्षाको माग गरेका थिए । नभन्दै, बुधबार माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनभित्रै समस्या आउनसक्ने यस्तो निर्णय गरिरहँदा पार्टीभित्रका नेताहरुको दबाव भनिएको थियो । तर प्रचण्ड आफैले सिटौलालाई दिएको वचनपछि धेरै घटनाक्रम विकसित भइसकेको मात्रै बताएनन्, कांग्रेससँग सार्वजनिक असन्तुष्टि नै पोखे ।

‘.. भिन्न परिस्थिति थियो, त्यो परिस्थितिमा सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको भूमिका, संविधान निर्माण प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा यदि सिटौलाजी आउने हो भने सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो’, प्रचण्डले भनेका छन् ।

तर राष्ट्रियसभा चुनावको नतिजा, पार्टीभित्र नेताहरुको अभिमत र कांग्रेस महासमिति बैठकको निर्णयकै कारण अहिले अलग परिस्थिति सिर्जना भएको प्रचण्डले बताएका छन् ।

माओवादीका अरु नेताजस्तै प्रधानमन्त्री प्रचण्डले पनि कोशीमा कांग्रेसबाट धोका दिएको निष्कर्ष नै सुनाए । ‘कोशीमा माओवादीको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसकै कारण भयो । र कोशी प्रदेशका हाम्रा पार्टीका सबै नेता कार्यकर्ता, समर्थकहरु पनि असाध्यै बढी आक्रोसित स्थितिमा हुनुहुन्छ’, उनले भने ।

एमालेसँग सम्वाद गर्ने स्थितिमा पुग्नुको कारण प्रष्ट्याइरहँदा प्रचण्डले माओवादीकै भोट पाएर कांग्रेस एक नम्बर पार्टी बनेको समेत तर्क गरे । ‘गठबन्धन राम्रै गइरहेको थियो, राम्रै लाने कुरामा हामी प्रतिवद्ध थियौं, छौ पनि अझै पनि । तर पनि गठबन्धन गरिँदैन भनेर जुन पार्टीको भोटबाट जसको समर्थनबाट कांग्रेस एक नम्बर पार्टी भएको छ, त्यही पार्टीसँग गर्दैनौं हामी । रुखमा बाहेक भनेर अहिले बोल्नुपर्ने जरुरी के थियो ?’, प्रचण्डले आक्रोश पोखे ।

प्रधानमन्त्री प्रचण्ड यतिमै रोकिएनन् । धर्म निरपेक्षता र माओवादीको सशस्त्र विद्रोहबारे कांग्रेसभित्र भएको छलफलमा समेत असन्तुष्टि जनाए ।

‘जनयुद्धकै बारेमा पनि बेमौसमको बाजा, अहिले बोल्नै नपर्या बेला किन बोलेका भन्ने प्रश्न त उठेको छ’, प्रचण्डले भने । तर कांग्रेसले गरेको छलफल र तयार पारेको प्रतिवेदनमाथि संशोधनको कुनै आवाज नउठाएको र नउठाउने पनि उनले बताए ।

यद्यपि यतिकै कारणले गठबन्धनमा समस्या नआउने प्रचण्डको दाबी छ । ‘..त्यसले तात्विक रुपले ठूलै अन्तर परिहाल्छ भन्ने ठाउँमा चाहिँ हामी पुगेको स्थति होइन’, उनको प्रष्टोक्ति छ ।

तर विकसित घटनाक्रम, निर्णय र प्रधानमन्त्रीको अभिव्यक्ति शैली हेर्दा भने राष्ट्रियसभा अध्यक्षको उम्मेदवारकै विषयले वर्तमान गठबन्धन पूर्वसहमति बमोजिम अगाडि बढ्नेमा भने पर्याप्त शंका गर्न सकिने अवस्था देखिन्छ ।

बिहीबारकै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा पनि कांग्रेससँग देखिएको असन्तुष्टिमा कुरा अरु कुरा गर्न जाँगर नरहेकै संकेत थियो ।

‘संशोधन (कांग्रेसको निर्णय र दस्तावेज) गर्नुपर्छ भनेर आवाज उठाएका छैनौं, संशोधन गरिदिनुस् भनेर विन्ति हालेको चाहिँ होइन’, प्रधानमन्त्रीले भनेका छन् । जबकी एमालेसँग सम्वाद चलिरहेको कुरा भने प्रचण्डले खुलेर स्वीकारे ।

अर्कातिर एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री प्रचण्डसँग नजिक हुँदै गएको घटनाक्रमले देखाउँछ । शुक्रबार नारायणी किनारमा उद्घाटन हुने भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा ओली जान तयार हुनु त्यसैको पछिल्लो उदाहरण हो ।

जबकी शुक्रबार ओली सहभागी हुने पार्टी कार्यक्रमहरुको सूची पूर्वनिर्धारित थियो । तर प्रचण्ड पुत्री एवं भरतपुरका मेयर रेनु दाहालले फोन गरेपछि ओली, प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्रीहरुसँगै चितवन जान तयार भए ।

‘हाम्रो पार्टी अध्यक्ष मात्रै होइन, सबै पूर्वप्रधानमन्त्रीहरुलाई निम्तो दिइएको छ । त्यसैले उहाँ आउँदा अरु धेरै कुरा सोच्न आवश्यक छैन’, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन् । यद्यपि राष्ट्रियसभा अध्यक्षबारे गठबन्धनको निर्णय सहित अरु राजनीतिक घटनाक्रमलाई एमालेले नियालिरहेको उनी बताउँछन् ।

तर मेयर दाहालले फोन गर्ने र प्रचण्डसहित गठबन्धनका नेताहरुसँग एउटै मञ्च शेयर गर्न ओली तयार हुनु अहिलेकै परिस्थितिमा स्वभाविक दृष्य होइन ।

अझ एमाले स्रोतका अनुसार, शुक्रबार तय भएको कतिपय कार्यक्रम छोडेर ओली भरतपुर जान तयार भएका हुन् । ‘ललितपुरको एउटा कार्यक्रममा चाहिँ जाने कि भन्ने छ, त्यसपछि अध्यक्षज्यू चितवन जानु हुन्छ’, स्रोतले भन्यो ।

सत्ता गठबन्धनमा अप्ठ्यारो पार्ने गरी माओवादी केन्द्रले निर्णय गर्नु, अनि प्रचण्डले भरतपुर पुगेर कांग्रेस महासमिति बैठकमा भएको छलफलप्रति असन्तुष्टि राख्नु र ओली चितवन जान तयार हुनु आफैंमा संयोग मात्रै मान्न कठिन हुन्छ । त्यसमाथि प्रचण्डले एमालेसँग विभिन्न स्तरमै छलफल भइरहेको बताएका छन् ।

एमाले नेताहरु पनि राष्ट्रियसभा अध्यक्षलाई लिएर प्रधानमन्त्री प्रचण्ड सहित माओवादी नेताहरुसँग छलफल चलिरहेको स्वीकार्छन् । तर छलफलले सार्थकता पाउनेमा भने ढुक्क भने छैनन् ।

‘सहकार्य त हामीले अघिल्लो वर्ष पनि गरेकै हो । तर उहाँहरु आफै स्वविवेकले निर्णय गर्न सक्ने ठाउँमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने मुख्य कुरा हो’, एमाले नेता डा. राजन भट्टराईले भने ।

एमालेका अर्का एक नेता पनि माओवादीसँग राष्ट्रियसभा अध्यक्षसहित अरु सहकार्यका विषयमा समेत छलफल चलिरहेको बताउँछन् । उनले भने, ‘दुई अध्यक्षबीच कुराकानी भइरहेको छ, हामी माओवादीसँग सहकार्यको विषयमा नकारात्मक छैनौं ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?