+
+

वीरगञ्जमा प्राकृतिक चिडियाखाना बनाउन मन्त्रिपरिषदले दियो स्वीकृति

सुरेश बिडारी सुरेश बिडारी
२०७९ भदौ २८ गते २०:५७
चिडियानाबारे अध्ययन गर्न पर्सामा आएको टोली ।

२९ भदौ, वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा प्राकृतिक चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज–३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना स्थापना गर्न लागिएको हो ।

हिजो (भदौ २७ गते) बसेको मन्त्री परिषद बैठकले मधेस प्रदेशमा प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर नै स्वीकृतिका लागि मन्त्री परिषदमा पेश गरिएको बताए ।

मन्त्रालयले साउन ४ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्की संयोजक रहेको ८ सदस्यीय स्थलगत अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले प्रस्तावित क्षेत्रमा सरोकारवालासँग छलफल, राजय सुझाव संकलन, सन्दर्भ सामग्रीहरुको अध्ययन तथा स्थलगत रुपमा तथ्यांक संकलन गरेको थियो ।

सबैया साझेदारी वन क्षेत्र भित्र पर्ने साथै पर्सा राष्ट्रिय निकुञ्जको सिमानादेखि ६ किलोमिटर र मध्यवर्ती क्षेत्रदेखि ३०० मिटरको दुरीमा प्रस्तावित क्षेत्र पर्छ । प्रस्तावित क्षेत्र समथर भू–भाग रहेको, सहज पहुँच भएको, पानीको स्रोत रहेको, विद्युतको पहुच पनि भएको बताउँदै कार्यदलले ३.१ हेक्टर जमिनमा विद्यमान अतिक्रमण हटाई सबैया साझेदारीसँग जोडिएको क्षेत्रमा तारबार लगाएर चिडियाखाना स्थापना गर्दा उपयुक्त हुने निष्कर्ष सहितको प्रतिवेदन कार्यदलले मन्त्रालयलाई पेश गरेको थियो ।

निकुञ्ज सिमानादेखि नजिक रहेको र वन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाको साथसाथै वन्यजन्तु उद्धार केन्द्र, वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तु अस्पतालका लागि आवश्यक पूर्वाधार, जुओनोटिक रोगहरुको संक्रमणको उचित रोकथाम, पर्यटन व्यवस्थापन तथा विपद नक्सांकन समेतलाई ध्यानमा राख्न आवश्यक रहेको कार्यदलको सुझाव छ ।

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वन तथा वतावरण मन्त्री भएदेखि नै प्राकृतिक चिडियाखाना स्थापनाका लागि चासो लिएका हुन् । वीरगञ्ज दक्षिणमा भारत बिहारको सीमावर्ती सहर रक्सौलसँग जोडिएको छ । वीरगञ्ज बजारबाट ४५ किलोमिटर दुरीमा प्राकृतिक चिडियाखाना स्थापना गर्न सके भारतीय पर्यटकलाई समेत भित्र्याउन सकिने वन मन्त्री यादव बताउँछन् ।

प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको छ । जसमा ३९.४ हेक्टरमा घाँस बुट्यान, ७.५ हेक्टरमा सघन वन र ३.१ हेक्टर अतिक्रमित क्षेत्र छ । अतिक्रमित क्षेत्रमा कच्ची र पक्की संरचना गरेर ४० वटाजति घर टहरा छ ।

उष्ण साल वन क्षेत्रमा साल, कर्मा, अस्ना छ भने घुमन्ते बाघ समेत देखिने यो वन क्षेत्रमा चित्तल, अरायो, दुम्सी, वन विरालो, पुडके बँदेल, चौका, सुगा, मैना, गरुड, सारस, पनि पाईन्छ । त्यस्तै घस्रने जनावरमा कोब्रा, अण्डा खाने र मुसा खाने सर्प पनि देखिने गरेको स्थानीय बताउँछन् । सिमरा विमानस्थलबाट प्रस्तावित क्षेत्र ४ किलोमिटरको दुरीमा पर्छ । पानीको निरन्तर आपूर्तीका लागि सदाबहार बग्ने पूर्वमा कियासुत र पश्चिममा भेडाहा नदी रहेको छ ।

१ अर्ब १ करोड ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान

प्रस्तावित चिडियाखाना निर्माणका लागि १ अर्ब १ करोड ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत परामर्श तथा सर्वेक्षण, क्षेत्र निर्धारणमा १५ लाख, अतिक्रमण व्यवस्थापनमा ६ करोड, गुरुयोजना तयार गर्ने लगायतका लागि ७५ लाख, पूर्वाधारका लागि डीपीआर तयार गर्न ५ करोड, ३.१५ किलोमिटर कम्पाउण्ड वाल र तारबार गर्न ५ करोड ६७ लाख, प्रशासनिक भवन, पूर्वाधार सुविधाहरुका लागि २० करोड, वन्यजन्तुका लागि इन्क्लोजर तथा पूर्वाधारहरु बनाउन ३५ करोड खर्च लाग्ने अनुमान छ ।

त्यसैगरि फोहोरमैला व्यवस्थापन लागि पूर्वाधार तथा सुविधाका लागि २ करोड, पशु स्वास्थ्य सेवा, प्रजनन र अनुसन्धान सुविधा स्थापना गर्न १५ करोड, सुरक्षाका लागि १ करोड, वन्यजन्तुको संकलन, प्रदर्शनी र व्यवस्थापनका लागि ५ करोड, आगन्तुकहरुको सुविधा विकास गर्न २ करोड ५० लाख, सञ्चालन जनशक्तिका लागि वार्षिक २ करोड ५० लाख र भैपरी आउने खर्च ५० लाख लाग्ने अनुमान अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?