७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ ।
नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको हो ।
यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी सार्वजनिक जग्गा खाली गर्न ताकेता गर्दा बेवास्ता गरिएको नगरपालिकाले जनाएको छ । त्यसैले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफैं संरचना तथा सामग्री हटाई सार्वजनिक जग्गा खाली गर्न सम्बन्धित व्यक्तिलाई भनिएको छ ।
तोकिएको समयभित्र संरचना तथा सामग्री नहटाए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले आफैं हटाउने सूचनामा उल्लेख छ ।
कल्याणपुरदेखि फुलबरिया गाउँसम्मको उक्त सडक खण्ड कालोपत्र गर्ने काम सडक डिभिजन कार्यालय लहानले गरेको हो । सडकको क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचनाका कारण सडक विस्तार, आवागमन तथा सार्वजनिक जग्गाको उपयोगमा समस्या हुन सक्ने भएकाले नगरपालिकाले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया 4